|

चितवन : वर्षा सकिएसँगै नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ। बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन्।

यो वर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दशैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए। उहाँले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सख्या उल्लेख्य हुने गरेको अध्यक्ष मल्लले जानकारी दिए। ​

२०७६सालमा एउटा बाट सुरु भएको मोटरबोट  अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन्। मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखी मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी  र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ।

एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन्। यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ। छोटो दूरीमा प्रतिव्यक्ति रु २५० र  लामो दूरीमा प्रतिव्यक्ति ५०० रुपैयाँ तोकिएको छ। त्यहाँबाट उठेको रकमको  २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए। उहाँले दैनिक चारसयदेखि ५०० जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताए। बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेको पाइन्छ।

नदी किनारमा घुम्न आउने अधिकाँस आन्तरिक पर्यटकहरु यहाँ जलबिहार गर्न रुचाउँछन्। यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृंखलालगायतको दृश्यावलोकन गर्न पाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.