|

सुर्खेत : २०७७ फागुन २८ गते उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५२ च्यांग्रा हिउँचितुवाको आक्रमणमा परी मरे। खोरमै हिउँचितुवा पसेपछि सबै च्यांग्रा मारिए।  

२०७८ माघ २३ गते राति साल्दाङकै लुरी गाउँमा अर्का किसान प्रेमा गुरुङका ९८ वटा भेडाच्यांग्रा हिउँचितुवाको आहारा बनेको थियो। 

यी त केही उदाहरण भए। यहाँका बासिन्दाले पालेका भेडाच्यांग्रा हिउँचितुवाको शिकार बन्ने गरेका छन्। करिब २५ हजार भन्दा बढी भेडा च्यांग्रा रहेको उपल्लो डोल्पामा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट आएका हिउँचितुवाले दु:ख दिने गरेको पाइएको छ।

सन् २०१७ देखि २०२२ सम्म मात्र २ हजार भन्दा बढी भेडाच्यांग्रा खोरमै आएर हिउँचितुवाले शिकार बनाएको निकुञ्जकै तथ्यांकमा उल्लेख छ। 

आधा समय हिउँले ढाक्ने उपल्लो डोल्पामा पशुपालन मुख्य आम्दानीको स्रोत रहेको छ। प्रति घरमा ५० र अधिकतम ५००सयसम्म भेडाच्यांग्रा पालन गरेर आर्थिक रूपमा सवल बन्न यहाँका स्थानीयवासीले धेरै मेहनत गरिरहेका डब्लूडब्लूएफ नेपालका अनुसन्धान तथा फिल्ड कार्यक्रम अधिकृत चन्द्रजंग हमालले बताए। उनका अनुसार हिउँचितुवाको आहाराध्ये ४२ प्रतिशत घरपालुवा पशुचौपाया नै रहेको हो।

निकुञ्जको भित्र गाउँ भएका कारण पनि यहाँका पशुचौपाया हिउँचितुवाको शिकार हुने गरेका छन्।  वन्यजन्तुको शिकार गर्न नसकेपछि हिउँचितुवाले घरपालुवा जनावरलाई आहार बनाउँदै आएको अधिकृत हमालले जानकारी दिए। निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले स्थानीयवासीसँग मिलेर पशुचौपाया जोगाउन योजना बनाइरहेको बताए। 

मारिएका च्यांग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ (तेस्रो संशोधन २०७५) अनुसार निकुञ्जद्वारा राहत दिने गरेको छ। तर साना र असुरक्षित घोर भएकै कारण हिउँचितुवा सजिलै प्रवेश गरेर एक घण्टामै लाखौँको क्षति पुर्‍याउने गरेका छन्। खोर निर्माणका लागि सरकारले नै विशेष प्राथमिकतामा राखेर सम्बोधन गरे मात्र यहाँका नागरिकलाई राहत पुग्ने हमालको भनाइ छ। 

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने छोल्फुमा सामुदायिक सुधारिएको खोर प्रयोग गरिरहेका पशुपालक किसानका अनुसार वन्यजन्तुबाट हुनसक्ने जोखिम न्यूनीकरणमा सहयोग पुगेको बताउँछन्। स्थानीय तेन्जिङ ग्लजेन लामाले सुधारिएको खोर बनाएपछि हिउँचितुवा ३\४ पटक खोरको छानामा आएर आक्रमण गरेको र असफल भएको बताए।

पहिले परम्परागत खुल्ला खोरमा राख्दा पशु चौपायालाई हिउँचितुवाले आक्रमण गर्नसक्ने डरले राति राम्रोसँग सुत्न पनि नपाउने यहाँका बासिन्दा अहिले सुधारिएको गोठका कारण ढुक्क भएर सुत्न पाएको उनले बताए। निकुञ्ज भित्र रहेका सबै गाउँहमा पशु बिमा गरेर यहाँका किसानलाई राहत उपलब्ध गराउन सके हानि कम गर्न सकिने उनको भनाइ छ। अहिले पनि केही किसानले बिमा गरेका कारण पशुमा भएको क्षतिवापतत राहत बुझदै आएका छन्।

बिमा कार्यक्रममा किसानले तिरेको प्रिमियम रकम र पशु बिमा समितिमा भएको अक्षयकोषको ब्याजबाट समितिले वन्यजन्तु पीडित परिवारलाई राहत दिने व्यवस्था गर्दै आएको छ।  समुदायबाट सञ्चालित पशु बिमा कार्यक्रमलाई नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका–२०६९ सँग एकीकृत गरी सञ्चालन गर्न सके वन्यजन्तुबाट पीडित परिवारले दिगो रूपमा राहत हुने अधिकृत हमालले बताए। 

अधिकृत हमालका अनुसार पशु मूल्यको थोरै प्रतिशत प्रिमियम (बिमांक रकम) तिरी किसानले प्रिमियम रकमको धेरै गुणा राहत लिन सक्छन्। उपसमितिले पशु बिमा प्रिमियम र अक्षयकोषको ब्याजबाट हुने आम्दानी हेरी राहत दर वृद्धि गर्न पनि सक्छ। यो कार्यक्रम पशु बिमा उपसमितिले समुदायसँग छलफल गरी निर्माण गरेका निर्देशिकाबाट चल्छन्। उपसमितिले उक्त निर्देशिका समयसापेक्ष परिमार्जन गर्दै समुदाय सुहाउँदो बनाउन सक्छन्। माथिल्लो डोल्पाका संरक्षण अभियन्ता स्वर्गीय ठिल्ले लोन्डुप लामाले निकुञ्जमा हुने द्वन्द्वका विषयमा तत्कालीन प्रधानमन्त्री केपी ओली समक्ष जानकारी गराएका थिए। 

उपल्लो डोल्पामा माओवादी अध्यक्ष प्रचण्ड सहित अर्थमन्त्री जर्नादन शर्मा भ्रमणमा जाँदा स्थानीयवासीले पशुपालन व्यवसायलाई दिगो बनाउन पहल गरिदिन गरेको आग्रहअनुसार यो आर्थिक वर्षमा लागू हुने गरी पशुपालनलाइ व्यवसाहिक रुपमा लिन बजेटको व्यवस्था गरिएको छ। हिमाली शहरको अवधारणका साथै उपल्लो डोल्पामा पशुपालन व्यवसायलाई विकास गर्न बजेट विनियोजन गरी काम सुरु गर्न लागिएको छ। निकुञ्जभित्र गाउँ भएका कारण यहाँ धेरै क्षति हुँदै आएको छ। 

हिउँचितुवाका लागि आहार पर्याप्त

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवाको संख्या बढेको पाइएको छ। २००९ मा उच्च प्राविधिबाट गरिएको सर्वेक्षण अनुसार ११० देखि १३० को हाराहारीमा हिउँचितुवा रहेको थियो। २०१९ मा गरिएको सर्वेक्षणको नतिजा सार्वजानिक गरिएको छैन। सर्वेक्षण गरिएको ‘डाटा’ सार्वजानिक नगरिए पनि कम्तीमा १०० को संख्यामा बढेको हुन सक्ने आँकलन गरिएको छ। 

यस्तै हिउँचितुवाको मुख्य आहारको रूपमा रहेको नाउर संख्या समेत २०२१ को गणना अनुसार ४ हजार ५०० भन्दा बढी रहेको निकुञ्जले जनाएको छ। एक हिउँचितुवाले वर्षमा ४० वटा जति नाउरको सिकार गर्छ। यो हिसाबले निकुञ्जमा भएका नाउरको संख्या मापन गर्दा हिउँचितुवाको आहार पर्याप्त भएको पाइएको छ। प्रत्येक वर्ष नाउरको गणना गरिएको संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए। हिउँचितुवाले उमेरको आधारमा नाउरको संख्या शिकार गर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.