|

जलेश्वर : मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि शुरु भएको छ।

यो पर्व आज पञ्चमीदेखि शुरु भई १० दिनसम्म चल्छ भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ।

दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्ने गर्दछन्। आज बिहानै दिदीबहिनीहरूले समूहमा गीत गाउँदै गाउँको खेत तथा भीरमा गएर दाजुभाइको हातबाट खनिएको माटो ल्याएर गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाएका छन्।

सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर रङ्गीचङ्गी बनाइन्छ। रङ्गिसकेको सामा चकेवा रातका वेला रातो रङ्गको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चौक, चौराहा, दोबाटो, चौबाटो, स्कूल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म नाचगान गर्दै चेलीबेटीले सामा चकेवा खेल खेल्छन्।

समूहगत रूपमा चेलीबेटी तथा छोरीबुहारीहरू ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’लगायत गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबै दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन्। एघारौँ दिनमा बिहानै दिदीबहिनीले पुनः सामा चकेवा बनाएर रङ्गरोगन गरी बेलुका दही चिउरा खुवाउँछन् र त्यसबटै दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामा चकेवा फुटाउन लगाएर बाजागाजासहित नाचगान गर्दै गाउँको नजिक जोतिएको खेतमा लगेर विसर्जन गर्छन्।

मिथिलाञ्चलकी हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमा गएर मनाउने इच्छा गर्ने भएकाले टाढाटाढाका दिदीबहिनी पनि माइत जाने आउँछन्। अन्य पर्वजस्तै भाइबहिनीको प्रेमको प्रतीक मानिएको यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी हुनेहरूका लागि निकै महत्त्वपूर्ण मानिन्छ। यो पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग मनाउने गर्छन्।

सामा चकेवा खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरूप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय बन्दै आएकाले हर्षोल्लासका साथ मनाइन्छ। मिथिलाञ्चलमा छठको सन्ध्याकालीन अर्घ्य  दिनुभन्दा एक दिनपूर्व (आज) देखि सामा चकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.