|

दैलेख : आमनिर्वाचन आउन २२ दिन बाँकी छ। निर्वाचन आफ्नो पक्षमा पार्न राजनीतिक दलले गाउँ अभियानलाई तीव्रता दिएका छन्। निर्वाचनको सरगर्मी बढेसँगै यतिखेर दैलेखमा विभिन्न विश्लेषण हुन थालेका छन्।

दैलेखमा आफ्नो पकड जमाउँदै आएको एमालेका रवीन्द्रराज शर्मासँग योपटक दैलेख–१ मा रहेर तीन दशक एउटै पार्टीमा रही सहकार्य गरेका समाजवादीका अम्मरबहादुर थापा गठबन्धनबाट चुनावमा भिड्दै छन्।

पार्टी विभाजनपछि कमजोर बनेको एमालेका शर्मा र सांगठनिक हिसाबले पछि रहेको समाजवादीका थापा दुवैजना कम्युनिष्टका उम्मेदवार काँग्रेस मतदाताको भरमा चुनाव जित्ने दाउमा छन्।

एकपटक संविधानसभा सदस्यसँगै प्रदेशसभा सदस्य हुँदै ६ महिने मन्त्रीसम्म बनेका समाजवादीका थापा र एक कार्यकाल प्रतिनिधिसभा सदस्य बनेका एमालेका शर्मामध्ये कसलाई प्रतिनिधिसभामा पठाउने निर्णायक मत काँग्रेस मतदाताको हातमा रहेको विश्लेषण हुने गरेको छ।

पाँच दलका साझा उम्मेदवार रहेकाले आफूले जित्ने समाजवादीका थापाले जिकिर गर्दै आएका छन्। विगतदेखि सामाजिक रूपमा राम्रो प्रभाव र यहाँ एमालेको जनाधार बलियो रहेकाले योपटक पनि आफू निर्वाचित हुने एमालेका शर्माको दाबी छ।

११ स्थानीय तह रहेको दैलेखमा वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा दलले पाएको मत विश्लेषण गर्ने हो भने दैलेख–१ मा रहेका ६ वटा स्थानीय तहमा समाजवादी पार्टीको मतभार करिब ५ हजार ५ सयको हाराहारी छ।

स्थानीय तहको मत परिमाणअनुसार दैलेख–१ मा पाँचदलीय गठबन्धनभन्दा कमजोर देखिएको एमाले स्थानीय तहमा गठबन्धनभन्दा करिब ९ हजार मतले पछि छ। प्रतिनिधिसभामा दैलेख–१ मा निर्वाचित हुन एमालेले काँग्रेसका करिब ५ हजार भोट हात पार्नुपर्ने देखिन्छ।

गठबन्धनका साझा उम्मेदवार थापालाई पनि दैलेख–१ मा निर्वाचन जित्न सहज भने नरहेको अनुमान गरिन्छ। २०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस (राप्रपा) गठबन्धन रहेको उक्त क्षेत्रमा (राप्रपा)का दीपककुमार शाही एमालेका रवीन्द्रराज शर्मासँग पराजित भएका थिए।

६ स्थानीय तहमा दलगत अवस्था 
६ वटा स्थानीय तह रहेको दैलेख–१ मा स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले २१ हजार २५७ मत पायो भने एमालेले १९ हजार ८९५ मत ल्यायो। माओवादी केन्द्रले ६ हजार २१३ र महाबु गाउँपालिकामा एक्लै स्थानीय निर्वाचनमा होमिएको समाजवादीले २ हजार २६८ मत पायो।

नौमूले गाउँपालिकामा माओवादी र समाजवादीको गठबन्धन रहेकामा उपप्रमुखमा समाजवादीले २ हजार ८३४ मत पायो। काँग्रेस र समाजवादी गठबन्धन रहेको नारायण नगरपालिकामा समाजवादीले उपप्रमुखमा ३ हजार ८३८ मत ल्याएको देखिन्छ।

दैलेख–२ प्रदेशसभा (ख) 
दैलेख–२ अन्तर्गत प्रदेशसभा (ख) एमालेका विनोदकुमार शाह र माओवादीका योगेन्द्रबहादुर शाहीलाई प्रदेशसभामा निर्वाचित हुन काँग्रेस निर्णायक हुने देखिन्छ। ३ वटा स्थानीय तह रहेको दैलेख–२ (ख) मा २ स्थानीय तह काँग्रेस र १ स्थानीय तहमा एमालेले जित हात पारेका छन्।

स्थानीय निर्वाचनको मतपरिणाम अनुसार उक्त प्रदेशसभामा गठबन्धनभन्दा एमाले करिब २ हजार ७४ मतले पछि छ।

चामुण्डा विन्द्रासैनी नगरपालिकामा गठबन्धनको ४ हजार ४०५ मत छ भने एमालेको ३ हजार ९९२ मत छ। ठाँटिकाँध गाउँपालिकामा गठबन्धनको ४ हजार १८८ मत छ भने एमालेको २ हजार २७९ मत छ। आठबीस नगरपालिकामा एमालेको ५ हजार ३८५ मत छ भने गठबन्धन दल काँग्रेसको ५ हजार १३७ मत छ।

दैलेखका अन्य क्षेत्रमा भन्दा क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा (ख) मा स्थानीय निर्वाचनका वेला नेपाल मजदुर किसान पार्टीले २ हजार २०३ मत पाएको देखिन्छ। मजदुरले चामुण्डा विन्द्रासैनी नगरपालिकामा १ हजार ४६२, ठाँटिकाँध गाउँपालिकामा ३२६ र आठबीस नगरपालिकामा ४१५ मत पाएको छ।

तीन स्थानीय तहमा दलगत अवस्था 
स्थानीय तहको मत परिमाणअनुसार तीन स्थानीय तह रहेको दैलेख–२ अन्तर्गत प्रदेशसभा (ख)मा एमालेको ११ हजार ७९३ मत रहेको छ। नेपाली काँग्रेसको ११ हजार ७७८ मत रहेको छ। माओवादी केन्द्रको १ हजार ८१७ र समाजवादीको १३५ मत छ।

चामुण्डा विन्द्रासैनी नगरपालिकामा एमालेको ३ हजार ९९२, काँग्रेसको ४ हजार ७०, समाजवादीको १३५ मत छ। ठाँटिकाँध गाउँपालिकामा एमालेको २ हजार ४१६, काँग्रेसको २ हजार ५७१ मत छ भने माओवादीको १ हजार ६१७ मत छ। आठबीस नगरपालिकामा एमालेको ५ हजार ३८५ र नेपाली काँग्रेसको ५ हजार १३७ मत छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.