|

मंसिर ४ गते हुन लागेको आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ पार्टीकी सहमहामन्त्री पनि हुन्। हालसम्म लगातार तीनवटा निर्वाचन हारेकी डिना योपल्ट जित्ने दाउसहित मकवानपुर–१ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छिन्। 

२०४८,२०५१ र २०७४ सालको निर्वाचनमा नेकपा एमालेका तत्कालीन उम्मेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन्। २०७० सालमा डिना समानुपातिकबाट संविधानसभा सदस्य बनिन्। त्यसअघि उनी जलस्रोत राज्यमन्त्री थिइन्। 

अहिलेसम्मका सबै निर्वाचनमा पराजित डिनालाई योपटक गठबन्धनको आडभरोसा छ। नेपालको संविधान निर्माण र संविधानमा महिलाको समावेशी सहभागिताका लागि महत्त्वपूर्ण भूमिका खेलेका कारण पनि आफूलाई जनताले मत दिएर अनुमोदन गर्ने उनी बताउँछिन्। आमनिर्वाचनको सेरोफेरोमा केन्द्रित रही उनै डिनासँग थाहाखबरकर्मी श्रीजना नेपालले गरेको कुराकानी–

निर्वाचनको तयारी कसरी गरिरहनु भएको छ?

निर्वाचनको तयारी सधैँ नै भइरहेको थियो। अहिले आएर मात्रै तयारी गरेको होइन। २०७४ सालमा हारेदेखि नै २०७९ सालको निर्वाचनका लागि तयारीमा जुटिराखेकी छु। म निरन्तर जनताको माझमा काम गर्दै आएकी छु। अहिले निर्वाचनका लागि मात्रै छुट्टै गरेकी होइन। 

तपाईँ समानुपातिकको नाम काटेर प्रत्यक्षतर्फको उम्मेदवार बनेको भन्नुहुन्छ। सहजै सांसद हुनसक्ने बाटो छाडेर चुनावी मैदानमा किन आउनु भएको? 

पार्टीको पदाधिकारी पनि भएकाले समानुपातिकतर्फ अगाडि नै मेरो नाम परेको थियो। चाहेको भए समानुपातिबाट सांसद बन्ने निश्चित नै थियो तर म जनतासँग काम गरेकी मान्छे। जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित भएर जान्छु भनेर आएकी हुँ। जनताबाटै अनुमोदित भएर जनताकै लागि काम गर्न म चुनावी मैदानमा होमिएकी हुँ। त्यसैले जनताले माया गरेर जिताउनु हुन्छ भन्नेमा म ढुक्क छु। 

निर्वाचनमा सहभागी भइरहँदा विगतका हारलाई कसरी मूल्यांकन गर्नु हुन्छ? 

पटक–पटक निर्वाचन हारे पनि जनताले हौसला भने दिइरहनु भएको छ। मैले जनताबाट अत्यन्त सम्मानजनक मत पाएकाले त्यो हौसला अहिलेसम्म पनि रहिरहेको छ। मैले जनताको साथ, सहयोग र सद्भाव सधैँ पाइरहेको हुनाले मैले निरन्तर काम गर्न पनि सकिरहेकी छु। मतको हिसाबले म केही पछि परेँ होला तर यहाँका जनताको मप्रतिको सद्भाव र सहयोग ठूलो छ।

कांग्रेसले ४ जना महिलालाई मात्रै प्रत्यक्ष्यतर्फ उम्मेदवार बनायो। समानताको सवालमा तपाईँहरूले आवाज उठाउनु भएन कि पार्टीले सुनेन? 

प्रत्यक्षतर्फ महिला उम्मेदवारको संख्या बढाउन हामीले प्रयास गरेका हौँ तर गठबन्धनले गर्दा त्यो सम्भव भएन। जहाँ महिला इच्छुक हुनुहुन्थ्यो, भागबण्डाका क्रममा त्यहाँ अर्कै पार्टीकोमा गयो। जहाँ हाम्रो भाग परेको थियो, त्यहाँ इच्छुक महिला हुनु हुन्थेन। तैपनि कांग्रेसले महिलालाई अवसर नदिएको भन्न मिल्दैन। 

तपाईँको अनुभवमा अझै पनि महिला भएकै कारण टिकट नै नपाउने वा हार्नुपर्ने अवस्था छ? 

विगतमा थियो तर अहिले विस्तारै परिवर्तन हुने क्रममा छ। मानसिक रूपमा मानिस परिवर्तन भएको मैले महसुस गरेकी छु। गत आमनिर्वाचन र स्थानीय तहको निर्वाचन हेर्दा पनि त्यो देख्न सकिन्छ। विगतको निर्वाचनमा गठबन्धनसँग मैले पाएको मतलाई हेर्ने हो भने मैले चुनाव जितेको नै हो। त्यसैले महिलालाई भोट नहाल्ने भन्ने मनस्थिति मतदाताको छैन। 

तर तपाईँले भन्नु भएको जस्तो नेतृत्वमा महिलालाई हेर्ने र नेपालको संविधानले दिएको अधिकार कार्यान्वयन गर्नमा हिच्किचाहट भएको चाहिँ नेतृत्व तहमा मैले महसुस गरेकी छु। त्यसै कारण मैले आफ्नो पार्टीको नेतृत्व र विभिन्न राजनीतिक पार्टीका राष्ट्रिय तहमा बसेका पदाधिकारी, केन्द्रीय सदस्य र साथीहरूसँग धेरै छलफल गरेर यसलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर बहस गरिरहेका छौँ।

संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा हामी सचेत छौँ। अहिलेको मूल ‘एजेण्डा’ भनेको संविधानले दिएको समानुपातिक सहभागिताको सुनिश्चितता हो। यसैको लागि पनि मैले आफ्नो ठाउँमा प्रत्यक्ष रूपमा निर्वाचनमा भाग लिने निर्णय गरेकी हुँ। 

मकवानपुरका लागि के कस्तो एजेण्डा बोक्नु भएको छ? 

पुराना एजेण्डा पनि धेरै छन्। मैले धेरै लामो समयदेखि जनसंख्या र विकासको क्षेत्रमा काम गरेँ। राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगत्‌सम्म मैले यो क्षेत्रमा काम गरेकी छु। अहिले देशभर नै विकासका नाममा ठूला–ठूला बाटो बनाउने काम मात्रै भएको छ। बाटो विकासको एउटा मेरुदण्ड त हो तर जनताको आवश्यकता अरू के–के हुन्? स्वास्थ्यको पहुँच कतिको छ? शिक्षाको पहुँच कस्तो छ? भन्ने विषय ख्याल गर्न नसकेको अवस्था छ। 

आज पनि मकवानपुर साच्चिँकै बत्तीमुनिको अँध्यारो भनेजस्तै केन्द्रीय राजधानी नजिकै भएर पनि मुनिको अँध्यारो अवस्थामा नै छ। मकवानपुर बागमती प्रदेशको पनि राजधानी भइसक्यो तर यस्ता गम्भीर र सान्दर्भिक कुरामा अहिलेसम्मका जनप्रतिनिधिले काम गर्न नसकेको अवस्था छ। तीन तहमा जसरी हामीले सिंहदरबारको अधिकार गाउँघरमा भनिरहेका छौँ, त्यहाँका जनता लाभान्वित भए कि भएनन् भन्ने कुरा सोचेर उनीहरूको जीवनपद्धति परिष्कार गरेर लाभ दिलाउने काम अझै सशक्त रूपमा लैजानु पर्छ भन्ने मलाई लाग्छ। अहिलेको जनताको माग पनि यही नै हो। 

हामीले चाहेको शिक्षा भएन‚ स्वास्थ्योपचार प्रभावकारी भएन‚ रोजगार भएन‚ भन्ने उहाँहरूको कुरा छ। अझै पनि सानोतिनो बिरामी हुँदा पनि काठमाडौं धाउनुपर्दा गाउँमा हाम्रो पहुँच के भयो त? हाम्रो गाउँको स्वास्थ्य सेवालाई कसले हेर्ने भन्ने आवाज पनि आइरहेको छ। त्यसैले यी कुरालाई कसरी व्यवस्थापन गर्न सकिन्छ, भोलि संसद्‌मा जाँदै गर्दा यो विषयवस्तु कानुनतः अझै परिवर्तन गर्नु छ, संशोधन गर्नु छ भने त्यसमा आवाज बुलन्द गर्ने काममा म स्वतः भइहाल्छु। तीनै तहको सरकारलाई सजग र सतर्क बनाउँदै गर्दा जनताको पहुँचलाई त्यो ठाउँमा पुर्‍याउने काममा प्रभावकारी भूमिका खेल्ने मेरो अठोट छ।  

जनताले तपाईँलाई किन मत दिने? 

संविधान निर्माणमा मेरो महत्त्वपूर्ण भूमिका छ। समावेशी राजनीतिलाई मूल ठाउँमा राखेर मुख्य एजेण्डाको रूपमा हामीले धेरै आवाज उठायौँ। आजको संविधानमा जति पनि अधिकार प्रत्यायोजित भएको छ, त्यो समावेशी राजनीतिलाई हामीले अगाडि बढाएका हौँ। त्यहीअनुसार समाजको विकास र परिवर्तन हुनुपर्छ भन्ने मेरो एजेण्डा हो। सम्पूर्ण जातजातिको अधिकारका लागि पनि म लडेकी छु।

विशेषगरी महिलाका लागि आजसम्म महिला हिंसाका कारण, आवश्यक शिक्षाको अभावको कारण, स्वास्थ्यमा पहुँच नभएको लगायत कारण जसरी पीडित भएर बस्नु भएको थियो। यी कुरालाई मद्देनजर गरी आवाज उठाउँदै आएको हुनाले म चुनावी मैदानमा उभिएकी छु। मलाई विश्वास छ- मैले उठाएका एजेण्डा कार्यान्वयन गर्ने पक्षमा पनि मैले काम गर्न सक्छु। त्यसैले मलाई मत दिनु भनेको संविधान, नीति र नियमले दिएको विषयलाई कार्यान्वयन गर्नु हो। 

तपाईँ गत निर्वाचनमा मकवानपुर–२ बाट उम्मेदवार हुनुहुन्थ्यो। यो निर्वाचनमा किन क्षेत्र परिवर्तन गर्नु भयो ? 

२०७४ सालको चुनावमा म क्षेत्र नम्बर २ बाट उठेकी हुँ। त्यसअघि मकवानपुरमा ३ वटा क्षेत्र थिए। त्यति वेला हेटौंडा बजार नै मेरो मूल ठाउँ हो। त्यसकारणले हिजोको दिनमा राप्रपा र नेपाली कांग्रेसको गठबन्धन हुँदा १ नम्बरबाट कमल थापा उठ्दै गर्दा म अर्को क्षेत्रबाट उठेकी हुँ। त्यो वेला पनि केही गाउँपालिका मेरा लागि नयाँ नै थिए तर मैले चुनाव हार्छु भन्ने थाहा हुँदाहुँदै पनि जनतामाझ विचार लिएर गएँ। अहिले अब फेरि गठबन्धन छ। गठबन्धनको कुरा भइरहँदा हामीलाई भागबण्डामा क्षेत्र नम्बर १ परेको हुनाले म यो क्षेत्रबाट उठेँ तर समग्र मकवानपुर जिल्ला नै मेरो क्षेत्र हो। कुनै एउटा भूगोल मात्रै मेरो क्षेत्र होइन। मैले जिल्लालाई नै आफ्नो निर्वाचन क्षेत्र मानेकी छु। 

नेपालको राजनीति हेर्दा एकपटक चुनाव हारेपछि महिलाहरू फेरि निरन्तर मैदानमा होमिने कमै देखिन्छन्। तपाईँ भने बारम्बार हारेर पनि मैदान छोडेर जानुभएन। यो कसरी सम्भव भयो? 

मेरो कर्म क्षेत्र नै यही भएको हुनाले मैले निरन्तरता दिइरहेँ। हिजो संविधानसभामा हुँदा त्यता काम हुन्थ्यो र म त्यता जान्थेँ। विगत पाँच वर्षदेखि मेरो काम पनि भएन। म विभिन्न सामाजिक संघसंस्था र सहकारीमार्फत जनतासँग प्रत्यक्ष रूपमा जोडिएकी छु। चुनाव हारेपछि पनि निरन्तर पाँच वर्ष मैले आफ्नै जिल्लामा रहेर जनतासँगै बसेर काम गरिरहेकी छु। 

आगामी निर्वाचनमा कतिको चुनौती देख्नुहुन्छ ?

राजनीतिमा सधैँ चुनौती हुन्छ। चुनौती सामना गर्दै अगाडि बढ्ने हो। चुनौतीसँगै अवसर पनि छन्। अघिल्लो निर्वाचनमा एमाले–माओवादीसँगै थिए। अहिले हामी गठबन्धनमा छौँ। फरक विचारधारा भए पनि हामी लोकतन्त्रलाई बलियो बनाउन अहिले एकै ठाउँमा उभिएका छौँ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.