|

विराटनगर: विराटनगर महानगरपालिका वडा नम्बर ६ मा नगरवासीको सक्रियतामा सेल्फी पुल निर्माण भएको छ। पुल निर्माण भएसँगै सो वडाको बिएफएम टोल र झरना चौक जोडिएका छन्। त्यहाँ अवस्थित नहरमा पुल नभएका कारण मानिसहरूलाई आउजाउमा निकै समस्या हुने गरेको थियो। निर्माण सम्पन्न भएसँगै साँझबिहान आउजाउ गर्न सजिलो भएको मञ्जित कामतले बताए। 

बाँसको पुलबाट यात्रा गर्दा साह्रै जोखिम मोल्नु पर्ने हुन्थ्यो, फलामको पुल निर्माण भएपछि त्यो जोखिम हट्यो,’ विराटनगर— ६ का कामतले भने।  बाँसको पुल हुँदा निक्कै जोखिम मोलेर  यात्रा गर्नुपर्ने अवस्था रहेको बताउने उनी अब फलामको पुल निर्माण भएसँगै  मोटरसाइकल र सिटी रिक्सामा बसेरै वारपार गर्न सकिनेमा आफूहरू ढुक्क रहेको बताउँछन्। चाहिएकै ठाउँमा पुल बनेकोले कारखाना टोलका मानिसहरूलाई समेत हाट बजार जान सजिलो भएको स्थानीयहरूको भनाई छ।

प्रदेश नम्बर १ सरकारको तर्फबाट विनियोजन भएको रकम विराटनगर महानगरपालिकाले फ्रिज गरिदिएपछि पुल निर्माणको काम बीचैमा अलपत्र बनेको थियो। तर,  आफैं लगानी गरी स्थानीयबासीले फलामको ट्रस्ट हालेर पुल निर्माण गरेको स्थानीय जयनाथ कामतले बताए।

सरकारको तर्फबाट नै रकम छुट्याएर बनाएको पुल रोकिएपछि वडाबासी मिलेर पुल निर्माण गरेको बताउँदै उनले भने, ‘अहिले पुल बनेपछि हामी जस्ता धेरै मानिसलाई राहत भएको छ।’

कंक्रिट ढलान र फलामको बार लगाएर निर्माण गरिएको पुलमा नेपालका दश वटा राष्ट्रिय झण्डा फहराउने तयारी गरिएको उनले बताए।

के भन्छन् वडाध्यक्ष ?
निर्माण कार्यमा समन्वय गरेका विराटनगर महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष अक्षय सहनीले प्रदेश विकास कोषबाट विनियोजन भएको रकमबाट पुलको प्रारम्भिक कार्य शुरू गरेको भए पनि महानगरबाट काम अघि बढाउन विलम्ब भएपछि उपभोक्ता आफैंले लगानी गरेर पुल तयार गरेको बताए। 

 पुलका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिदिएका थिए भए पनि  स्थानीय तहमार्फत हुनुपर्ने काम पुरा गर्न ढिलाई भएपछि छुट्याएको बजेट फिर्ता गएको उनले सुनाए।

स्थानीयको माग अनुरूप आफूले प्रदेश सरकारको तर्फबाट पुल निर्माणमा बजेट विनियोजन गरिदिएको तर महानगरबाट विलम्ब भएपछि स्थानीयकै पहल र लगानीमा पुल निर्माण भएको बताए।

पुल निर्माण गर्न स्थानीयले रंग र सिमेन्टसमेत सहयोग गरेको बताउँदै उनले सरकारी स्तरबाट सम्पन्न गर्न थालिएको काम अधुरो हुन लागेको र आफूहरूको समस्या समाधान नहुने देखेपछि सबै जनता लागेर पुलको काम पूरा गरेको बताए।

यता आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विकासमा जनसहभागिता हुँदैन भन्ने दृष्टान्तलाई वडा नम्बर ६ का बासिन्दाले गलत सावित गरिदिएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.