|

म्याग्दी : चारैतिर लमतन्न सुतेका सेता हिमाल। छर्लङ्ग खुलेको मौसम। मुस्ताङको मनमोहक भूगोलले यहाँ पुग्ने पर्यटकलाई मोहनी नै लगाउँछ।

हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक दृश्यले यहाँ पुग्ने आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिच्ने गर्छ। मुस्ताङको भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ।

धौलागिरी र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकोले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङमा रहेका प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो।

पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ। यहाँ सबैभन्दा बढी सार्क मुलुक र तेस्रो मुलुकबाट पर्यटक आउने गर्छन्। पछिल्लो समय आन्तरिक पर्यटकको समेत मुस्ताङमा भीड लाग्ने गरेको छ।

खासगरी मुस्ताङको मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको छ। सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ,लोमान्थाङ लगायत ठाउँले पनि धेरैलाई लोभ्याउँछ। पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा पनि फाइदा पुगेको छ।

कतिपय विदेशी पर्यटक पहाडैपहाडको बीचमा भीरैभीर साइक्लिङ गर्न रुचाउने भएकाले त्यहाँ पुगेर साइक्लिङमा रमाउने गरेका छन्।

पोखरा-बाग्लुङ राजमार्गलाई मालढुंगामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ। कालीगण्डकी तर्दै पहाड चढेर बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडा र ती डाँडामाथिबाट बग्ने झरनाको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ।

मुस्ताङको सदरमुकाम जोमसोम हो। यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ। अन्नपूर्ण हिम शृंखलाको उत्तरमा पर्ने भएको हुनाले यहाँ एकदमै न्यून मात्रामा पानी पर्छ ।

यसको करिब–करिब बीच भाग भएर काली गण्डकी बग्छ। बस्ती जति धेरैजसो यही नदीको किनारमा अवस्थित छन्। हरेक वैशाख र साउनमा यो जिल्लामा चौंरीको आलो रगत खाने मेला पनि लाग्छ, जसमा नजिकका जिल्लाका मानिसको भीड हुन्छ।

पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ। त्यहाँबाट यातायातका साधनमार्फत करिब १ घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ। पोखराबाट बस चढेर मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङ घुम्न सहज हुँदै गएको छ।

धवलागिरि,निलगिरि लगायत हिमालका काखमा रहेको मुस्ताङमा सडक कालोपत्रे गरिएपछि यहाँ पुग्न निकै सहज भएको छ। पिच सडकले यात्रुलाई सुविधा भएको स्थानीयले बताएका छन्।

जोमसोमदेखि कागबेनीसम्मको सडकको रौनक फेरिएको छ। नयाँ नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदीनालामा पुल बनिरहेको स्थानीय छेप्तेन गुरुङले जानकारी दिए।

कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, तालहरू, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बाहरू, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत धेरै चिजहरू हेर्नका लागि पर्यटक आउने गरेका छन्।

पछिल्लो समय होटल तथा लजको संख्या वृद्धि हुने क्रम बढेको छ। स्थानीय तहले पनि आ-आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङमा भौतिक विकास हुँदै गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.