|

काठमाडौं : यतिवेला हलमा दुई नेपाली फिल्म सफलताका साथ प्रदर्शन भइरहेका छन्। तिहार र छठको अवसर पारेर प्रदर्शन भएका फिल्म ‘के घर के डेरा’ र ‘महापुरुष’ले गतिलो व्यावसायिक प्रदर्शन गरेका हुन्। 

२ नेपालीसहित ६ वटा फिल्म हलमा भए पनि दर्शकको बढी चाप नेपाली फिल्ममा नै छ। कात्तिक ४ मा प्रदर्शनमा आएको दिपेन्द्र के खनालद्वारा निर्देशित ‘के घर के डेरा’ यतिवेला दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ।

पहिलो हप्ता ३ करोडभन्दा माथि कमाइ गरेको फिल्मको बक्स अफिस कलेक्सन आइतबारसम्ममा ५ करोड नजिक पुगेको छ। 

काठमाडौंमा डेरामा बस्नेहरूको कथा रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। ‘के घर के डेरा’ दयाहाङ अभिनित यो वर्ष प्रदर्शनमा आएको तेस्रो फिल्म हो। यसअघिका ‘कबड्डी ४’ र ‘२ नम्बरी’ पनि व्यावसायिक रुपमा सफल साबित भएका थिए। 

प्रदीप भट्टराईद्वारा लिखित तथा निर्देशित फिल्म ‘महापुरुष’ले पहिलो ३ दिनमै साढे ३ करोडको बक्स अफिस कलेक्सन गर्न सफल भएको छ।

एकल पुरुषको प्रेम सम्बन्धमा आधारित रहेर बनाइएको फिल्मले शुक्रबारदेखि नै हलमा आक्रामक कमाइ गरिरहेको छ। पहिलो दिन १ करोडभन्दा माथिको कमाइ गरेको फिल्मले दोस्रो दिन साढे १ करोड र तेस्रो दिन पनि १ करोड आसपासको कमाइ गरेको थियो। 

फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईली, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। फिल्मले पहिलो हप्तामा ५ करोडको आँकडा सजिलै पार गर्ने अनुमान गरिएको छ। 

यीबाहेक कन्नड फिल्म ‘कान्तारा’मा पनि दर्शकको उपस्थिति उल्लेख्य छ। एक महिनाअघि प्रदर्शनमा आएको फिल्मले विश्वभरिबाट २ सय ८५ करोड (भारु) भन्दा माथिको कमाइ गरिसकेको छ। सुपरहिरो हलिउड फिल्म ‘ब्ल्याक एडम’ले भने हलमा अपेक्षित रुपमा दर्शक तान्न सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.