कतिपयलाई रोजगारदाता कम्पनीद्वारा कुटपीट

|
जुम्लाको तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकी।

जुम्ला : राम्रो पारिश्रमिक दिने कम्पनीमा रोजगारी पाउने आसमा साउदी अरेबिया गएका एक सयभन्दा बढी नेपाली कामदार अलपत्र परेका छन्।

जुम्लासँगै गोरखा‚ काठमाडौं‚ पोखरा‚ दाङ र ओखलढुंगालगायत ठाउँका समेत गरी सय जनाभन्दा बढी अलपत्र परेको जुम्लाको तातोपानी गाउँपालिका-८ का अशोक बुढाथोकीले साउदीबाट टेलिफोनमार्फत जानकारी दिए।

उनका अनुसार काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफईया गएका  विभिन्न जिल्लाका १ सयभन्दा बढी नेपाली अलपत्र परेका हुन्।

अलपत्र पर्नेमध्ये ६ जना जुम्लाका रहेको बुढाथोकीले बताए। उनीसँगै चन्दननाथ नगरपालिकाका-२ भण्डारी वडाका लोकबहादुर भण्डारी पनि अलपत्र परेका छन्।

अलपत्र परेकाहरूका अनुसार जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले कुकको काममा लगाइदिने भन्दै जनही २ लाख ६० हजार रूपैयाँ लिएर गत फागुन ११ गते साउदी पठाएका थिए।

तर साउदीमा पुगेपछि मात्र आफूहरूलाई जेबी ओभरसिजले झुक्याएको थाहा पाएको र कुखुरा फर्ममा काम लगाइदिएको उनीहरूले बताए।

उनीहरू विभिन्न जिल्लाका ४६ जना नेपालीसँगै साउदीको लदवा पोल्ट्री फर्ममा ६ महिना काम गरेको बुढाथोकीले टेलिफोनबाट जानकारी दिए। 

त्यसपछि साउदीमा काम गर्ने अवधि सकिएको भन्दै सबै जनालाई उक्त फर्मबाट अर्को कम्पनीमा पठाएको उनले बताए। नयाँ कम्पनीमा उनीहरूले ढुंगा‚ गिट्टी बोक्ने जस्तो कठिन काम गर्नु परेको थियो।

२२ नम्बर गल्लीमा रहेको उक्त कम्पनी साउदीको कानूनअनुसार अवैध रहेको र त्यहाँ आफूहरूलाई ३ महिना पारिश्रमिक नै नदिई काम गराएको बुढाथोकीले बताए।

उनले भने, ‘त्यो कम्पनीमा ३ महिनासम्म काम गरेको पारिश्रमिक माग्दा बन्दुक छातीमा राखेर कुटपीट गर्‍यो।’

कुटपीटपछि ३ जनालाई प्रहरीको भ्यानमा हालेर हिरासतमा लैजान लाग्दा सबै ४६ जनै नेपाली कामदार एकजुट भएर हिरासतमा लिने भए सबैलाई सँगै लैजानुपर्छ छोड्ने भए सबैलाई छोड्नु पर्छ भनेर भनेपछि सबैलाइै कुटपीट गरी लखेटेको उनीहरूले बताएका छन्।

उनीहरू सबै रफइया भन्ने ठाउँमा रहेका एकजना नेपालीको आश्रयमा बसिरहेको बुढाथोकीले बताए। उनका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ। उक्त कम्पनी कानुनसम्मत साउदीमा दर्ता नरहेको र अवैध रहेको जानकारी पाएको उनले बताए।

‘म बस्ने ठाउँमा कुनै अस्पताल छैन‚ कुटपीटबाट छातीमा समस्या भएको छ। त्यो ठाउँबाट ३ सय किलोमिटर टाढा बसेका छौँ। जुम्लाकै लोकबहादुर भण्डारीको दाँत कुटपीटपछि भाँचिएको छ‚’ उनले भने, ‘आफूसँग रकम नहुँदा घरबाट २० हजार खोजेर पठाइदिन भनेको छु।’ 

यहाँबाट रकम पठाएपछि नेपाली दूतावास गएर आवश्यक कागजात बनाउने टेलिफोनमा उनले भने।

‘मेरो पतिलाई साउदी पठाउने राकममा स्थानीय ठेगाना बताउने रमेश पाण्डे र मेनपावरको मान्छे प्रकाश बम हुन्‚’ बुढाथोकीकी पत्नी चन्द्रकला पुनले भनिन्, ‘अहिले दुवै जना फोन उठाउँदैनन्।’

उनीहरूलाई म्यानपावरले चलाखी गरेर कुखुरा फर्ममा काम गरेको ६ महिनाको पारिश्रमिक दिएको तर अर्को दर्ता नभएको र कामदारलाई नामसमेत नबताउने कम्पनीमा पठाएर ठगेको श्रीमती पुनले दुखेसो पोखिन्।

‘एउटा काममा भनेर पठायो, त्यहाँ पुगेपछि अर्कै काम लगायो,’ उनले भनिन्, ‘पासपोर्टसमेत खोसेर कुटपीट गरी कामबाट निकालिदियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.