|

बैतडी : तिहार सकिएसँगै बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा जात्राको रौनक छाएको छ। तिहारपछिका १५ दिन यहाँका शक्तिपीठमा जात्रा लाग्ने गर्छ। कार्तिक शुक्ल पक्षमा बैतडी, दार्चुला, डडेल्धुरा लगायतका सुदूर पहाडका शक्तिपीठ तथा मन्दिरमा जात्रा लाग्ने गरेको छ।

यहाँका विभिन्न जिल्लाका शक्तिपीठ तथा मन्दिरमा कार्तिक शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विभिन्न जात्रा लाग्ने गरेको पण्डित जयानन्द भट्टले बताए। उनका अनुसार शरद ऋतु देवीदेवताको पूजा उपासना गर्ने उत्तम ऋतु मानिने भएकोले कार्तिक शुक्ल पक्षमा देवीदेवताको पूजन गर्ने चलन रही आएको छ।

दशैंको वेला जात्रा लागेका मन्दिरहरूमा समेत कार्तिक शुक्ल पक्षमा पनि पूजाआजा गर्ने चलन रहेको छ। असोजको दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठमा सामूहिक पूजाआजा गर्ने चलन रहेको  भट्टको भनाई छ।

असोजको दुर्गा पक्षमा मात्र नभएर कार्तिक शुक्ल पक्षमा समेत विभिन्न देवीदेवताका मन्दिर र शक्तिपीठहरुमा सामूहिक पूजाआजा गर्ने चलन रहेको छ।

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गर्छ। राँगाको बलीसहित पूजाआजा हुने त्रिपुरासुन्दरी मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी पनि आउने गरेका स्थानीय जयसिंह धामीले बताए।

प्रसिद्ध रौलाकेदार धाममा पनि कार्तिक शुक्ल अष्टमी, शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा कार्तिक शुक्ल सप्तमी र अष्टमी, पाटन नगरपालिका-२ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा कार्तिक शुक्ल अष्टमी र सुर्नया गाउँपालिका वडा नं ४ स्थित सनेशरीमाण्डौंमा कार्तिक शुक्ल षष्ठीका दिन जात्रा लाग्ने गरेको छ। 

यसका साथै प्रसिद्ध मेलौली भगवती मन्दिर र सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन र महारुद्र मन्दिर, त्रिवेणीधाम (राताशीला) मा पनि जात्रा लाग्छ।

राष्ट्रकै सातौं धाम मानिएको दार्चुलामा रहेको मालिकार्जुन धाम, लटिनाथ लगायतका मन्दिरमा जात्रा लाग्ने गर्छ। मालिकार्जुन धाममा कार्तिक शुक्ल चतुर्दशीका दिन जात्रा लाग्ने गर्छ।

दार्चुलाको लटिनाथ बन्तोली मन्दिरमा कार्तिक शुक्ल द्वितीया अर्थात भाइटीकाकै राति जात्रा सम्पन्न भएको स्थानीयले बताएका छन्।

डडेल्धुराको उग्रतारा र भागेश्वर लगायतका मन्दिरमा कार्तिक शुक्ल पक्षमै मेला लाग्ने गर्छ। उग्रतारा लगायतका मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्ने गर्छ।

डोटीमा सुदूरपश्चिम प्रदेशकै प्रख्यात शक्तिपीठ ठूलाकेदार, मसानी, शैलेश्वरी, दिपायल जाँत, मष्टो, ब्वाराकी जाँत, ऐतिहासिक अछामको गाज्रास्थित डौठेगडा जात्रा लाग्छ।

विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्रामा बसाइँसराई गरेर गएकाहरू पनि पुर्ख्यौली थलो फर्कने गरेका छन्। साथै सीमावर्ती भारतीय पनि आउने गर्छन्। जात्राले गर्दा सुदूर पहाडका गाउँगाउँमा चहलपहल बढेको छ।

यी जात्रामा बसाइँसराई गरेर गएकाहरूमा पनि थातथलोमा फर्किने भएकाले पारिवारिक र सामाजिक मिलनका पर्व भन्न सकिने स्थानीय हेमराज गिरीले बताए। जात्राका वेला पारिवारिक भेटघाट हुने र धार्मिक हिसाबले पनि जात्रा महत्वपूर्ण हुने गरेका छन्।

जात्राका समयमा भारतीय दर्शनार्थी पनि आउने भएकाले पर्यटकीय हिसाबले पनि यी जात्रा महत्वपूर्ण हुने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.