|

काठमाडाैं : लामो समयदेखि मुलुकको समसामयिक भोगाइलाई सम्बोधन गर्ने नारा बोकेर सांगीतिक यात्रा गर्दै आएको नेपथ्यले नयाँ नारा र अठोटका साथ एक महिना लामो देशव्यापी यात्रामा प्रस्तुत गर्ने भएको छ। 

मंसिर १६ गतेदेखि पुस १६ गतेसम्म नेपालको पूर्वदेखि पश्चिमसम्म पुग्ने तयारीमा रहेको यो ब्याण्डले नयाँ अठोटका रुपमा ‘मानवता प्रवर्द्धन अभियान’ मा सहभागी हुन लागेकाे हाे।

यसभन्दा पहिले विद्यालयमा हतियारधारीहरूको हस्तक्षेप हटाउन ‘शान्तिको लागि शिक्षा’ र द्वन्द्वको चक्रबाट मुलुकलाई मुक्त गर्ने कामनाका साथ ‘सुन्दर शान्त नेपाल’ जस्ता अभियान नेपथ्यकै सक्रियता एवं सहभागितामा अघि बढेका थिए।

यस्ता अभियानमा नेपथ्यले गीत सुनाउनुका साथै आफूले उठाएका मुद्दाका नारालाई अर्थ्याउने प्रयास पनि गर्दै आएकाे थियाे।

यसरी आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामहरूलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो।

यो प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था मानवसेवा आश्रमग हातेमालो गरेको छ।

घर‚ परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध मुनाफारहित संस्था मानव सेवा आश्रम एक दशकयता सक्रिय छ। यसले ३ वर्षभित्र सिंगो मुलुकलाई सहयोगापेक्षी सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ।

‘मानवताको लागि संगीत’ को पहिलो प्रस्तुति विराटनगरमा हुनेछ। मंसिर १६ गते (डिसेम्बर २ तारिख) शुक्रबारका दिन त्यहाँस्थित हाटखोला मैदानमा नेपथ्य गुञ्जिनेछ।

त्यसपछि ब्याण्ड वीरगन्ज प्रस्थान गर्नेछ। मंसिर १९ गते (डिसेम्बर ५ तारिख) वीरगन्जको आदर्शनगर रंगशालामा ब्याण्ड प्रस्तुत हुनेछ।

त्यसैगरि मंसिर २२ गतेका दिन (डिसेम्बर ८ तारिख) हेटौंडाको भूटनदेवी स्कुल मैदानमा लोक रक गीतहरू सुनाइनेछन्।

हेटौंडा मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको स्थान पनि हो। त्यहाँबाट विस्तार भएको यो संस्थाले मुलुकभर ७७ वटै जिल्लामा हाल आफ्नो सेवा परिचालन गरिरहेको छ।

‘सांगीतिक क्षेत्रमा लागेका संस्थाहरूमध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक बल अत्यन्त उच्च देखिएकै कारण हामी सहकार्यका लागि हौसिएका हौं‚’ मानव सेवा आश्रमका संस्थापक एवं अध्यक्ष रामजी अधिकारी भन्छन्, ‘यो सहकार्यले हाम्रो अभियानमा मुलुकभर विशेषतः तन्नेरी पुस्तालाई जोड्न महत्वपूर्ण योगदान मिल्ने अपेक्षा गरेका छौं।’

हेटौंडापछि २५ मंसिरका दिन (डिसेम्बर ११ तारिख) नारायणघाटको क्याम्पाचौरमा ब्याण्ड उपस्थित हुनेछ।

मंसिरको अन्तिम शो भने नेपालगन्जमा २९ गतेका दिन (डिसेम्बर १५ तारिख) आयोजना गरिनेछ। त्यसपछि पुसको ३ गते (डिसेम्बर १८ तारिख) ब्याण्डले धनगढीको रंगशालामा आफूलाई प्रस्तुत गर्नेछ।

त्यसपछि थोरै मास्तिर उक्लेर ब्याण्डले वीरेन्द्रनगर सुर्खेतको खुलामञ्चमा पुस ६ गतेका दिन (डिसेम्बर २१ तारिख) कर्णाली प्रदेशका श्रोतालाई आफ्ना नयाँ तथा पुराना गीतहरू सुनाउनेछ।

त्यसलगत्तै फर्किएर बुटवल आइपुग्ने टोलीले त्यहाँस्थित रामनगर खेलमैदानमा तयार पारिने मञ्चमा आफूलाई पुस ९ गते (डिसेम्बर २४ तारिख) प्रस्तुत गर्नेछ।

त्यसपछि नेपथ्य यात्राले ब्याण्डलाई उसको ‘होम ग्राउण्ड’मा प्रवेश गराउनेछ। पुस १२ गते (डिसेम्बर २७ तारिख) मंगलबार ब्याण्डले पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आफूलाई उभ्याउने भएको छ। यसरी मुलुकका सम्पूर्ण प्रदेशहरू घुमिसकेपछि अन्तिममा ब्याण्ड संघीय राजधानी काठमाडौं आइपुग्नेछ।

काठमाडौंमा भने पुस १६ गते (डिसेम्बर ३१ तारिख) शनिबार भृकुटीमण्डपमा ब्याण्ड प्रस्तुत हुनेछ। नेपथ्यले यसभन्दा अघिल्लोपटक पनि काठमाडौंका श्रोता दर्शकसामु आफूलाई भृकुटीमण्डपमै उभ्याएको थियो।

ब्याण्डले यी प्रदर्शनमार्फत् बेसहारा बन्न पुगेका नेपालीको आवाज बनिदिने मात्र नभई उनीहरूको सहयोगार्थ अर्थ संकलनमा समेत हातेमालो गर्नेछ।

‘हामीले गीत संगीत मात्र नभई सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएका छौं,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘कुनै पनि नेपालीले कष्टपूर्ण अवस्था झेल्नु नपरोस् भनेर अब मानवताको सन्देश लिएर हामीलाई मनपराउँदै आउनुभएका श्रोता दर्शकमाझ पुग्नलागेका छौं।’

द्वन्द्वकालमा सांगीतिक कार्यक्रम लिएर देशव्यापी यात्रा गर्दा ठाउँ ठाउँमा मानसिक सन्तुलन गुमाएकाहरू अलपत्र परेको दृश्यले अमृतलाई नरमाइलो लाग्थ्यो। अब भने त्यस्ता नेपालीको उद्धारमा खटिएको संस्थासँग हातेमालो गर्न पाउँदा मनमा सन्तोष लागेको उनी बताउँछन्। यो अभियानसँगै अब नेपथ्यका गीतहरू ‘मानवताको लागि संगीत’ बन्न पुगेको अमृतको धारणा छ।

नेपथ्यको यो भ्रमणलाई ‘नेपालय’ले व्यवस्थापन गर्न लागेको छ। मुलुकभरका कन्सर्टहरूको आयोजक मानवसेवा आश्रमका स्थानीय तवरमा सक्रिय केन्द्रहरूले ती–ती स्थानमा यसलाई सघाउनेछन्। 

‘हामीले सबैतिर उच्चस्तरको प्रविधिसहित खुला आकाशमुनि शो आयोजना गर्नलागेका छौं,’ नेपालयका प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘एकातिर यसले सर्वत्र एकरुपता झल्काउनेछ भने कतिपय स्थानमा यस किसिमको पहिलो मञ्चका रुपमा पनि स्थानीय श्रोता दर्शकले कन्सर्टको आनन्द लिन पाउनेछन्।’

यसका टिकट मानवसेवा आश्रमकै सम्बन्धित केन्द्रहरूबाट उपलब्ध गराइनेछ भने अनलाइनबाट टिकट काट्न चाहनेहरूले थुप्रै डटकम मार्फत् ( ttps://thuprai.com/event/series/nepathya-music-humanity-nepal-tour-2022/ ) टिकट लिन सक्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.