|

हेटौंडा : कात्तिकको चिसोमा चुनावको माहोलले देश रनक्कै तातेको छ। मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिएसँगै गाउँघर यति वेला चुनावी सरगर्मीले तातेका छन्।

अघिल्लो चुनावभन्दा अहिले दलीय तालमेल फेरिनु, पार्टीहरू विभाजन हुनु र दल अदलबदलले पहिला सहकर्मी/सहयात्री बनेका नेताहरूबीच नै प्रतिस्पर्धा हुनुको साथै स्वतन्त्र उम्मेदवारको संख्या बढ्नुले निर्वाचन रोचक बनाएको छ।

अघिल्लो निर्वाचनमा मुख्य प्रतिस्पर्धी बनेका दल र नेताहरू अहिले सबैभन्दा नजिकका सहयोगी बन्न पुगेका छन्। नेपालको राष्ट्रिय स्तरका कलाकारदेखि चिकित्सकसमेत चुनावमा होमिएका छन्। यसैकारणले गर्दा यो निर्वाचन रोचक बनेको छ।

धादिङको निर्वाचन क्षेत्र १ पनि सबैको चासोमा परेको छ। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको निर्वाचन क्षेत्र भएकोले मात्र नभएर पूर्व सहकर्मीबीचको प्रतिष्पर्धा र कमेडियन हिमेश पन्तको उम्मेदवारीले गर्दा पनि चासोमा परेको हो।

धादिङ–१ मा मंसिर ४ को निर्वाचनमा मुख्यमन्त्री पाण्डेसँग उनको पूर्वसहकर्मी भूमि त्रिपाठी मुख्य प्रतिष्पर्धी बनेका छन् भने कमेडियन पन्त पनि उनलाई चुनौती दिँदै चुनावी मैदानमा उत्रिएका छन्।

केही समय अघिसम्म विभिन्न हास्यव्यंग्य कार्यक्रममा देखिने गरेका नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको विजेता पन्त हाल धादिङको कुनाकाप्चा पुगिरहेका छन्।

टेलिभिजनको पर्दामा रहेर दर्शकलाई हँसाउनमै रमाइरहेका उनी एक्कासी राजनीतिमा किन आए? भन्ने चासो धेरैजसो मतदातामा छ। पन्त रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन्।

लामो समयदेखि वामपन्थीहरूको वर्चस्व रहेको चुनावी क्षेत्रमा एक्कासी उम्मेदवार बन्न पुगेका पन्तलाई जित हात पार्न सहज छैन। सानैदेखि राजनीति आफ्नो चासोमा रहेको भन्दै उपयुक्त समयको पर्खाईमा आफू बसिरहेको पन्त बताउँछन्।

‘मलाई राजनीतिमा सानैदेखि चासो थियो तर म उपयुक्त समयको पर्खाइमा थिएँ। त्यो उपयुक्त समय अहिले हो जस्तो लाग्यो अनि उम्मेदवारी दिएँ‚’ थाहाखबरसँग पन्तले भने।

‘उम्मेदवारी दर्ता गरेयता आफू धादिङको घरघरमा पुगिरहेको उनी सुनाउँछन्। पटक–पटक चुनाव जितेर पनि नेताहरूले जनताको लागि केही काम नगरेको देखेर राजनीतिमा प्रवेश गरेको उनले बताए।

पन्त आफू चुनाव जित्नेमा विश्वस्त रहेको बताउँछन्। बागमती प्रदेशको मुख्यमन्त्री पाण्डे र एमालेका उम्मेदवार त्रिपाठीसँगको प्रतिष्पर्धा चुनौतीपूर्ण भए पनि आफूले जित्ने उनको दाबी थियो।

जनता अहिले सचेत भइसकेकाले नयाँ अनुहारका  युवालाई जिताउने विश्वास उनले व्यक्त गरे। पन्तले चुनाव जित्ने दावी गरेर मैदानमा होमिए पनि उनले सोचे जति सहज भने छैन।

चुनावी प्रतिष्पर्धामा उनको अघि उभिएका छन् नेकपा एमालेबाट चोइटिएर गठन भएको नेकपा एकीकृत समाजवादीका नेता तथा बागमतीका मुख्यमन्त्री पाण्डे र उनका पूर्वसहकर्मी एमालेका त्रिपाठीलाई पराजित गरी जितको झण्डा फहराउन उनले ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ।

धादिङका पुराना नेता पाण्डे र एमालेका त्रिपाठी पहिलो पटक आमनेसामने भएका छन्। उनीहरू पछिल्लो एक दशकदेखि एमालेको फरक गुटमा थिए।

जिल्लामा पाण्डेविरोधी मोर्चाको नेतृत्व खेम लोहनीले गर्दा त्रिपाठी पाण्डेका साथमा थिए तर केपी शर्मा ओलीको राजनीतिमा उदय भएसँगै त्रिपाठी पाण्डेविरोधी कित्तामा पुगे। यस पटक प्रतिनिधिसभा निर्वाचनमा धादिङ–१ मा पाण्डे र त्रिपाठी आमनेसामने भएका छन्।

०७४ को निर्वाचनमा पाण्डे मुख्यमन्त्री बनाइने आश्वासन पाएर प्रदेशसभामा र त्रिपाठी वाम गठबन्धनबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। तर पछि पाण्डेलाई मुख्यमन्त्री नबनाउन त्रिपाठी नेतृत्वको समूहले लबिइङ गरेको चर्चा छ।

पाण्डे पार्टी विभाजनपछि मात्र बागमती प्रदेशको मुख्यमन्त्री हुन सके। उनी एमालेका तर्फबाट ०४८, ०५१, ०५६ र ०७० को संसदीय निर्वाचनमा पनि विजयी भएका थिए। पाण्डे अहिले एकीकृत समाजवादीको उपाध्यक्ष छन्।

स्थानीय निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा एमालेको ३७ हजार ७७८, माओवादीको २४ हजार ९२५, कांग्रेसको १९ हजार ४२३, एकीकृत समाजवादीको ८ हजार ८३६ र राप्रपाको १ हजार २२२ मत छ।

यो मतलाई आधार बनाउने हो भने सत्तारुढ गठबन्धनसँग स्पष्ट रुपमा बहुमत रहेको छ। त्यसैले धादिङ–१ मा मुख्यमन्त्री पाण्डेले प्रतिनिधिसभामा जित निकाल्नको लागि मुख्यतयाः माओवादी र कांग्रेसको मतको आडभरोसा छ।

त्रिपाठीले पनि आफ्नो जित कायमै राख्न कांग्रेस र माओवादीलाई फकाउनुपर्ने देखिन्छ। यता, पन्त उक्त निर्वाचन क्षेत्रबाट विगतमा निर्वाचित भएर पाण्डे र त्रिपाठीले पूरा गर्न नसकेको कामलाई देखाउँदै मत तान्ने दाउमा रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.