|

हेटौंडा : राष्ट्रिय राजनीतिमा सधैँ चर्चामा रहने चितवन यो निर्वाचनमा पनि चर्चामा नै छ। यो निर्वाचनमा पनि चितवनमा अर्थशास्त्रीदेखी पूर्वपत्रकारसम्म उम्मेदवार बनेका छन्। 

पूर्वपत्रकार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवनबाट उम्मेदवार बनेका छन्। काठमाडौं–२ वा ३ बाट उठ्ने चर्चा चले पनि अन्तिम समयमा लामिछाने चितवन–२ बाट  प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन्। काठमाडौंमा उठ्ने तयारी गरेका लामिछाने एक्कासी चितवनबाट किन उम्मेदवार बने भन्ने प्रश्नको जवाफ मतदाताले अझै पाएका छैनन्। 

उम्मेदवारी दिनुअघि उनले मतदाताको ‘सेन्टिमेन्ट’ बुझ्ने र सर्वेक्षण गर्ने लगायत काम गरेका थिए। लामिछानेले उठ्ने तयारी गरेपछि माओवादी अध्याक्ष पुष्पकमल दाहाल चितवन–३ छाडेर गोरखा गएको चर्चा छ। तर लामिछाने चिवतन–३ पनि छोडेर २ बाट उम्मेदवार बने। 

नेपाली कांग्रेसको असन्तुष्ट समूहसँग औपचारिक सहमति भएपछि उनले यो क्षेत्रबाट उम्मेदवारी दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन जिल्ला संयोजक धर्वेन्द्र सापकोटा बताउँछन्। उनको नेकपा एमाले, विद्रोही कांग्रेससँग मिलेर प्रचण्डलाई हराउने योजना बनेको थियो। तर, पछि दाहालले उक्त निर्वाचन क्षेत्र नै छोडेपछि ​कांग्रेसको असन्तुष्ट पक्षसँगको सम्झौताअनुसार लामिछानेले पनि क्षेत्र फेरेको उनको दाबी छ। 

चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार नउठाउने, २ नम्बरमा कांग्रेसको असन्तुष्ट समूहले नउठाउने र दुवै क्षेत्रमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको उनले बताए। ३ मा कांग्रेसका असन्तुष्ट जगन्नाथ पौडेललाई सघाउने र पौडेल धारका कांग्रेस कार्यकर्ताले २ मा रवि लामिछानेलाई सघाउने उनको दाबी छ। पौडेल गत स्थानीय तहको चुनावमा पनि प्रचण्डपुत्री रेनु दाहालविरुद्व महानगर प्रमुखको उम्मेदवार बनेका थिए। 

पार्टीको ह्वीप उल्लंघन गरेर उम्मेदवारी दिएपछि पौडेललाई कांग्रेसले गत स्थानीय तहको निर्वाचनमा नै कारबाही गरिसकेको छ। तर,अझै पौडेल कांग्रेसको असन्तुष्ट पक्षहरुको नेतृत्व गरिरहेको छन्। यसैको नेतृत्व गर्दै उनले चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका छन्। 

चितवनका कांग्रेस कार्यकर्ताहरूमा उमेश श्रेष्ठप्रति लगाव कम रहेको, एमालेभित्र कृष्णभक्त पोखरेलको प्रभाव पहिलेजस्तो नरहेकाले २ नम्बर क्षेत्रबाट जित्न सहज ठानेर लामिछानेले उम्मेदवारी दिएका थिए। 

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन–२ बाट कांग्रेसको १५ देखि २० हजारसम्म भोट तान्ने दाबी गरेको छ। यो क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका १० वटा वडाबाट स्थानीय चुनावमा जगन्नाथ पौडेलले ६ हजार ४ सय ७५ भोट ल्याएका थिए। सहमतिअनुसार यो भोट आफूतिर आउने उनीहरूको लामिछानेको विश्वास छ। 

महानगरबाहेक कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट पनि तत्कालीन भुइँकटहर समूहको केही भोट पाउने लामिछानेको आशा छ। यसबाहेक उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको नरूचाएका कांग्रेस कार्यकर्तालाई आफूतिर तान्ने उनले रणनीति बनाएका छन्। सापकोटाले एमालेभित्रका युवाको भोट पनि आफूतिर आउने लामिछानेको विश्वास छ। एमालेबाट ३० प्रतिशतसम्म भोट तान्न सक्ने आँकलन गरिएको सापकोटाले बताए। 

तर, चुनाव जित्न लामिछानेले सोचेजति सहज छैन। गएको स्थानीय तह निर्वाचनमा एमालेबाट उठेका उक्त क्षेत्रका वडाध्यक्ष उम्मेदवारले ३५ हजार ५४३ मत पाएका थिए। गठबन्धनभित्रका कांग्रेस, माओवादी र एकीकृत समाजवादीबाट उठेका वडाध्यक्ष उम्मेदवारले ३५ हजार ३९४ भोट पाएका थिए। कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेले प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो।

वडाध्यक्ष उम्मेदवारहरूले पाएको मत हिसाब गर्दा गठबन्धनमा रहेका सबै दलकाले पाएभन्दा एमालेका वडाध्यक्षहरूले पाएको भोट एक सय ४९ ले बढी छ। कांग्रेसको असन्तुष्ट पक्षको मतबाट चुनाव जित्ने दाउ गरेका लामिछानेले एमालेको मत पनि तान्नुपर्ने देखिन्छ। कांग्रेसको असन्तुष्ट पक्षसँगै एमालेको मत पनि ल्याउन सके लामिछानेले जित हात पार्न सक्छन्। 

यो क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता छन्। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लामिछाने, नेपाली कांग्रेसबाट उमेश श्रेष्ठ, नेकपा एमालेबाट कृष्णभक्त पोखरेल, राप्रपाबाट रविन अधिकारी उम्मेदवार छन्। लामिछानेले त्यहाँ जीत हात पार्न यसअघिका विजेता पोखरेलसँगै श्रेष्ठ र अधिकारीको चुनौती पन्छाउनुपर्छ।

लामिछानेले चितवनका जनताले आफूलाई गरेको सहयोगको गुन तिर्न उम्मेदवार बनेको बताउँदै आएका छन्। चितवनको स्थायी बासिन्दा बन्ने भन्दै लामिछाने परिवारसहित बसाइँ पनि सरिसकेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.