|

रुपन्देही : गृहमन्त्री बालकृष्ण खाँणले आगामी निर्वाचनले देशको राजनीति र विकासमा नयाँ मार्ग पहिल्याउने विश्वास व्यक्त गरेका छन्। 

बुधवार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री खाँणले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वच्छतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। उनले भयरहीत वातावरणमा आफूले रोजेको मतदातालाई भोट हाल्न पनि आग्रह गरे। 

गृहमन्त्री खाँणले नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु र सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार रहेको भन्दै वार्ताको प्रक्रियाबाट विभिन्न राजनीतिक दलहरुले अघि सारेका मुद्दालाई सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाए। उनले जनतालाई सबल गराउने, जनताको समस्याहरुलाई सम्बोधन गर्ने, नेपाली जनतालाई समृद्ध र उन्नतीको दिशामा अग्रसर गराउने दायित्व सबै नेपालीहरुको साझा दायित्व भएको पनि बताए। 

गृहमन्त्री खाँणले जनताको दायित्व पूरा गर्ने कुरामा राष्ट्रिय राजनीतिको मुल धारमा समाहीत नभएका दलहरु पनि एक ठाउँमा उभिनुपर्ने बताए। उनले राजनीतिको मुल धारमा समाहित नभएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका दलहरुका कतिपय माग सम्बोधन गर्न राजनीतिक र प्रशासनिक रुपमा संशोधन कार्यको थालनी भइसकेको भन्दै मागहरु छिटो पूरा गर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताए। 

‘एकैदिनमा, एकै भरणमा देशभर नै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। यो निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र स्वच्छतापूर्वक सम्पन्न गर्नका लागि नेपाल सरकार प्रतिवद्ध रहेको छ। नेपाल सरकारको यो प्रतिवद्धतालाई नेपालका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, सुरक्षा निकाय, निर्वाचन आयोग, निार्वचनमा खटिनुभएका मान्य न्यायाधीशज्यूहरु, राष्ट्रसेवक साथीहरु, सबैको सझा प्रयत्नबाट यो निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनेछ। यो निर्वाचनले नेपालको राजनीतिमा, नेपालको विकासमा नयाँ मार्ग पहिल्याउने छ । यो निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने क्रममा सरकारले प्रतिवद्धता लिएको छ । सरकार दृढ छ र यो निर्वाचनमा समस्त नेपाली दिदिबहिनी दाजुभाईहरु सहभागी भइ आफूले रोजेको, छानेको, विश्वास गरेको उम्मेदवारहरुलाई मतदान गर्नुहोस्। दलका नेता, कार्यकर्ता र समर्थकहरुलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन चाहन्छु। अहिले पनि जुन दलले यो निर्वाचनमा भाग लिइसक्नुभएको छ । उहाँहरुलाई पनि म नेपाल सरकारको तर्फबाट म आग्रह गर्न चाहन्छु, आह्वान गर्न चाहन्छु, नेपालमा रहेका सबै राजनीतिक शक्तिहरु, सबै राजनीतिक दलसँग नेपाल सरकार संवाद, छलफल र वार्ता गर्न तयार छ,' उनले भने, 'वार्ताको प्रक्रियाबाट यहाँहरुले अघि सार्नुभएका कतिपय मुद्दालाई सरकारले सम्बोधन पनि गर्नेछ। जनप्रतिनिधिहरुले संविधान सभाको माध्यमबाट मुलुकको संविधान बनाइसकेका छौँ। जनतालाई सबल गराउने, जनताको समस्याहरुलाई सम्बोधन गर्ने, नेपाली जनतालाई समृद्ध र उन्नतीको दिशामा अग्रसर गराउने दायित्व सबै नेपालीहरुको साझा दायित्व हो। यो दायित्व पूरा गर्ने कुरामा राष्ट्रिय राजनीतिको मुल धारमा समाहीत नहुनुभएका दलहरुलाई पनि म आग्रह गर्न चाहन्छु। उहाँहरुका कतिपय माग सम्बोधन गर्ने क्रममा राजनीतिक र प्रशासनिक रुपमा संशोधन गर्ने कुराहरु हामीले प्रारम्भ गरिसकेका छौँ। ती कुरालाई हामीले छिटो भन्दा छिटो पूरा गर्नेछौँ।’

गृहमन्त्री खाँणले निर्वाचन संविधानको सुन्दर पक्ष भएको उल्लेख गर्दै संविधानले नै नेपाली जनतामा सर्वोच्चता स्थापित गरेको बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.