|

माधव बेल्वासे

चन्द्रौटा : माओवादी आन्दोलनपछि २०६४ साल,२०७० साल २०७४ साल र २०७९ साल गरी पछिल्लो समय ४ पटक निर्वाचन भइसकेको छ। यो अवधिमा २०७२ सालमा संविधान निर्माण पश्चात् सङ्घीयता लागू भएकाले प्रदेश र स्थानीय तहको पनि निर्वाचन भइसकेको छ।

कपिलवस्तुका जनताले निर्वाचनमा नयाँ अनुहार भने देख्न पाएका छैनन्। २०७४ सालमा निर्वाचित स्थानीय तहका प्रमुखहरू अधिकांश अहिलेको निर्वाचनमा पनि दोहोरिएका छन्।

निर्वाचन मिति तय भएपछि अधिकांश नेता गाउँ फर्किने र आफ्नो विरासत जोगाउन भ्याई नभ्याई हुने गरेको छ। दल परिवर्तन गरेर भए पनि भए पनि संसद् छिर्ने कपिलवस्तुका वृजेशकुमार गुप्ता, अभिषेकप्रताप शाह र जुनसुकै दलबाट भए पनि निर्वाचन लड्ने मङ्गल गुप्ता लगायतका नेता अहिले पनि निर्वाचन जित्ने दाउमा छन्।

कपिलवस्तु क्षेत्र नं १ बाट अहिले नेकपा माओवादीले चक्रपाणि खनाल (बलदेव)लाई उम्मेदवार बनाएको छ। २०७४ सालमा वाम गठबन्धनबाट विजयी खनाल योपटको काँग्रेसको साथ लिएर निर्वाचनमा होमिएका छन्।

गत निर्वाचनमा खनालले २९ हजार ७९९ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका दीपकुमार उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए। अहिले खनालका चुनावी कमान्डर अतहर कमाल रहेका छन्। एमालेले २०७० सालमा निर्वाचित भएका बलराम अधिकारीलाई उम्मेदवार बनाएको छ। गत निर्वाचनमा अधिकारी र खनाल एकै ठाउँमा रहेका थिए।

गठबन्धन र एमालेले नयाँ अनुहार दिन नसक्दा यहाँका मतदाताले फेरि पुरानै नेतालाई रोज्नुपर्ने बाध्यता छ। क्षेत्र नं १ मा दुवैजना पहिलेकै सांसद हुन् फेरि पनि उनीहरूमध्ये एकजनाले निर्वाचन जित्नेछन्।

कपिलवस्तु क्षेत्र नं २ मा गठबन्धनका उम्मेदवार सुरेन्द्रराज आचार्य र एमालेका वृजेश गुप्ताबीच प्रतिस्पर्धा छ। दुवै नेता पटक पटक सांसद र मन्त्री समेत भइसकेका छन्। दुईपटक काँग्रेसका जिल्ला सभापति भएका आचार्य गत निर्वाचनमा गुप्तासँग पराजित भएका थिए। गुप्ता भने चारपटक सांसद भइसकेका छन्।

२०५६ सालमा राप्रपाबाट निर्वाचनमा होमिएका गुप्ता तमलोपा, स्वतन्त्र हुँदै एमालेमा प्रवेश गरेर अहिले निर्वाचनमा होमिएका छन्। दुवैजना पुराना अनुहार रहेकाले यहाँका मतदाता उत्साहित छैनन्।

कपिलवस्तु ३ मा पनि पुरानै अनुहार मैदानमा छन्। गठबन्धनबाट काँग्रेसका अभिषेकप्रताप शाह चौथोपटक संसद् छिर्ने प्रयासमा छन्। २०७० मा सङ्घीय समाजवादी, २०७४ मा नेपाली काँग्रेस र अहिले पुनः गठबन्धनबाट उम्मेदवार बनेका छन्। २० हजार १ मत ल्याएर निर्वाचन जितेका शाहले योपटक १२ हजार थपेर ३२ हजार पुर्‍याउने दाबी गर्दै आएका छन्। उनले सामाजिक सञ्जालमार्फत कृष्णनगर नगरक्षेत्रबाट १२ हजार, शिवराज नगरक्षेत्रबाट १० हजार, विजयनगर गापाबाट ८ हजार र महाराजगञ्ज नगर क्षेत्रबाट २ हजार मत पाउने बताएका छन्।

एमालेबाट मङ्गलप्रसाद गुप्ता उम्मेदवार बनेका छन्। गुप्ता हरेक निर्वाचनमा पार्टी परिवर्तन गर्दै उम्मेदवार बन्दै गरेका छन्। २०७४ सालमा जसपाबाट उम्मेदवार बनेका गुप्ता अहिले एमालेबाट उम्मेदवार बनेका छन्। ७७ वर्षीय गुप्ताको हरेक निर्वाचनमा उम्मेदवार बने पनि जित हासिल गरेका भने छैनन्।

जनता प्रगतिशील पार्टीका महासचिव ईश्वरदयाल मिश्र पनि यसै क्षेत्रका उम्मेदवार छन्। गत निर्वाचनमा स्वतन्त्र समूहबाट सूर्य चिह्न लिएर उठेका मिश्र योपटक भने आफ्नै पार्टीबाट उम्मेदवार बनेका छन्।

कपिलवस्तुमा ठूला दलहरूले उम्मेदवार दोहोर्‍याउँदा नयाँ अनुहार आउने सम्भावना निकै कम छ। नयाँ अनुहारको रूपमा कपिलवस्तु १ बाट लौरो अभियानका देवेन्द्रकुमार शर्मा, कपिलवस्तु ३ बाट मौलिक जरोकिलो पाटीका यमन उपाध्यायले उम्मेदवारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.