|
तस्वीर: सुरेन्द्र थापा

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘लाखे’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ। बुधबार राजधानीमा भएको प्रिमियर शोमा उपस्थित दर्शकले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका हुन्। 

सम्राट बस्नेतको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म एक्सन क्राइम सस्पेन्स जनरामा बनेको छ। फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, वर्षा राउत, आर्यन अधिकारी, अर्पण थापा, प्रशान्त ताम्राकार, सुशील सिटौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

प्रिमियरमा उपस्थित फिल्म क्षेत्रका विशिष्ट व्यक्तिहरूले ‘लाखे’ले नेपाली एक्सन फिल्मलाई अन्तरराष्ट्रिय स्तरमा लगेको प्रतिक्रिया दिएका थिए। 

निर्माता संघका अध्यक्ष नवल खड्काले ‘लाखे’ आफैँमा शक्तिशाली नाम रहेको र फिल्म पनि उत्कृष्ट रहेको बताए। निर्देशक र कलाकारको काम पनि तारिफयोग्य रहेको उनले बताए। 

उनले भने, ‘लाखे भन्ने बित्तिकै ऐतिहासिक हिसाबले पौराणिक हिसाबले र विगतमा समाजमा भइरहेको विकृति, नकनरात्मक र सकारात्मक पक्षबीच द्वन्द्व हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहिरहन्छ भन्ने कुरालाई सुगठित तरिकाले उठाइएको छ।’

फिल्मका अभिनेता प्रशान्त ताम्राकारले ‘लाखे’का लागि आफूहरू सबैले मेहनत गरेको र फिल्म तयार भएर आउँदा अपेक्षा गरेको भन्दा राम्रो भएर आएको बताए।

अर्का अभिनेता अनुपविक्रम शाहीले नेपाली फिल्मलाई विदेशी फिल्मसँग तुलना नगरी हेर्ने हो भने नेपाली फिल्ममा आएको सकारात्मक परिवर्तन देख्न सकिने जिकिर गर्दै सबैले नेपाली फिल्मलाई माया गरे नेपाली फिल्मले छिटै फड्को मार्न सक्ने कुरा पनि जनाए।

सिजन अर्यालको कथा एवम् आकाश बराल र अनुप न्यौपानेको पटकथा रहेको फिल्ममा लामो समयदेखि एउटा बैंकको इमानदार कर्मचारी भएर काम गरेको पात्र समीर महर्जनको कथा रहेको छ। जो बिना कसुर जेल सजाय भोग्न बाध्य हुन्छ।

फिल्ममा ‘लाखे’मार्फत नेवार संस्कृतिलाई फिल्ममा जोडिएको छ। नेवार समुदायको लाखे जस्तै खतरामा पर्नसक्ने अन्य समुदायका  संस्कृतिहरूको कथा फिल्मले फरक शैलीबाट भनेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.