एक सिटका लागि ११ जना प्रतिस्पर्धामा

|

बैतडी : प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिएसँगै बैतडीका उम्मेदवारहरूले प्रचारप्रचारलाई तीव्रता दिएका छन्। 

निर्वाचन नजिकिदै गर्दा विभिन्न आँकलन भइरहेका छन्। प्रतिनिधिसभाका लागि एकमात्र क्षेत्र रहेको बैतडीमा सत्ता गठबन्धन दल र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। 

गठबन्धन दलबाट नेकपा माओवादी केन्द्र पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई साझा उम्मेदवार बनाइएको छ। एमालेबाट उक्त पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा रहेका छन्।  यी दुवैबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

कुँवर २०७४ सालको निर्वाचनमा भने वाम गठबन्धन भएपछि भण्डारीका सारथीका रूपमा रहेका थियो। २०६४ र २०७० मा भने एक अर्काविरुद्ध उम्मेदवार बनेका थिए। अहिले पनि दुवैजना एक आपसमा भिडिरहेकाले रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

०७० र ०७४ मा गरेर दुईपटक विजयी भण्डारी तेस्रोपटक जित हासिल गरेर ह्याट्रिक गर्ने दाउमा छन्। २०६४ सालमा कुँवरले भण्डारीलाई पराजित गर्दै विजयी भए पनि २०७० सालमा ब्यहोरेको हारको बदला लिने दाउमा कुँवर रहेका छन्।  गठबन्धन दलको पनि साथ रहेकाले कुँवरले सहजै जित निकाल्न सक्ने आँकलन गरिएको छ। 

पूर्व अर्थराज्यमन्त्री भण्डारी भने यो पटकको चुनावलाई आफ्नो पक्षमा पर्दै ह्याट्रिक गर्ने रणनीतिमा छन्। एमाले संगठनका हिसाबले माओवादी केन्द्रभन्दा बलियो भएकाले भण्डारी चुनाव जित्ने भन्दै ढुक्क छन्। माओवादी केन्द्र संगठनमा कमजोर देखिए पनि सत्ता गठबन्धनको साथ रहेकाले निर्वाचनको मत परिणाम आफ्नो पक्षमा आउने उनको विश्वास छ। 

२०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेका भण्डारी नेपाली कांग्रेसका नरबहादुर चन्दलाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् भने २०७० सालको निर्वाचनमा दुई क्षेत्र रहेका वेला भण्डारीले कांग्रेसका लोकराज अवस्थीलाई हराए।

गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्दा बैतडीमा गठबन्धन दलको मत ५१ हजार ८२१ रहेको छ। एमालेको भने ३५ हजार ४८ मात्रै छ। यो मतसंख्यालाई आधार मान्ने हो भने कुँवरले सहजै जित्नेछन् तर गठबन्धन दलको असन्तुष्टिको फाइदा उठाउँदै आफूले बाजी मार्ने भण्डारीको रणनीति देखिएको छ।

स्थानीय निर्वाचनमा यहाँ एमालेको ३५ हजार ४८, कांग्रेसको ३३ हजार ६८३, माओवादीको १४ हजार ९९८, नेकपा एकीकृत समाजवादीको ३ हजार १४० र राप्रपाको २ हजार ४ मत छ।

यो मतसंख्या हेर्दा कांग्रेसले गठबन्धनका तर्फबाट उम्मेदवार पाउने अनुमान गरिए पनि माओवादी केन्द्रको उम्मेदवार भएकाले असन्तुष्टि रहेको देखिन्छ।

गठबन्धनभित्रको असन्तुष्टि र १० वर्षसम्म गरेको काम नै आफ्नो जित्ने आधार रहेको भण्डारीले बताए। उनले भने, 'हामी हाम्रो पौरखमा चुनावमा लड्दै छौं, १० वर्षको  काम जनताले देखेका छन्। समृद्ध बैतडीको संकल्प लिएर चुनावमा होमिएका छौं। गठबन्धनभित्रको असन्तुष्टि पनि जित्ने आधार हो।’

यता सत्ता गठबन्धनका साझा उम्मेदवार कुँवर भने गठबन्धन एकढिक्का भएर चुनाव होमिएकाले कुनै असन्तुष्टि नरहेको दाबी गरे। उनले भने, 'टिकटका लागि गठबन्धनमा सामेल सबै दलका नेताहरू लागेको भए पनि अहिले कुनै असन्तुष्टि छैन, सबै एकजुट भएर निर्वाचनमा होमिएका छौं।’

अहिले गठबन्धन चुनावका लागि मात्र नभएको, प्रणाली र संविधानको रक्षाका लागि भएकाले गठबन्धन दलका नेता कार्यकर्ताहरूले मलाई भोट दिने उनले बताए।

उनले थपे, 'गठबन्धनको मत हेर्दा हामी निकै अघि छौं, जनताको आवश्यकता र माग पूरा गर्ने हाम्रो प्रमुख प्रतिबद्धता हो, जनमत गठबन्धनको पक्षमा रहेकाले जित्नेमा ढुक्क छु।' यसका साथै जनजीविकाको सवाल सरकार र संसद्‌सम्म पुर्‍याउने,सुशासन, भ्रष्टाचार न्यूनीकरण,अँध्यारा बस्ती उज्यालो बनाउने प्रतिबद्धता समेत जनाए।

एक सिटका लागि ११ जना प्रतिस्पर्धामा

प्रतिनिधिसभाका लागि एक मात्रै निर्वाचन क्षेत्र रहेको बैतडीमा ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।

११ जना प्रतिस्पर्धामा रहेका भए पनि लोकतान्त्रिक-वाम गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले पनि चुनाव जित्ने दाबी गरिरहेका छन्।

बैतडीमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा छन्।  यस्तै एमालेका तर्फबाट एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् भने स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि चुनावी मैदानमा उत्रिएका छन्।

यस्तै राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेशनलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोँसाई, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा छन्।

यसैबीच  प्रदेशसभा क्षेत्र नम्बर  १ का लागि गठबन्धनका साझा उम्मेदवार नेपाली  कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी चुनावी मैदानमा छन्।

प्रदेशसभा क्षेत्र नम्बर  २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीका रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशी प्रतिस्पर्धामा छन्। हाल उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन्। यहाँ १ लाख ५० हजार १५६ मतदाता रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.