निर्देशिका लत्याएर बस चलाउँछन् निजी विद्यालय

|

काठमाडौं : बुधबार करिब ३ बजे लाजिम्पाटस्थित बेष्ट एलिमेन्ट्री मन्टेसरी स्कुलमा अध्ययनरत सामाखुसीका १३ वर्षीय आयुष्मान दाहाल स्कुल छुट्टी भएपछि सोही स्कुलको बस चढी घर फर्किए।

बा १ क ४६४२ नम्बरको बसमा चढेका उनी सिटबाट झ्यालबाट टाउको बाहिर निकाल्दा गेट नजिकको रुखमा ठोकिन पुग्यो र उनको टाउकोमा गम्भीर चोट लाग्यो।

त्यसपछि तत्कालै उनलाई उपचारका लागि सो स्कुलका व्यवस्थापकले त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगे तर उनको उपचार क्रममा बिहीबार निधन भयो। प्रहरी वृत्त दरबारमार्गले घटनालगत्तै  बसचालक रोशन अधिकारीलाई नियन्त्रणमा लिइएको छ।

प्रहरीका अनुसार अनुसन्धानबाट चालक र सहचालकले झ्यालको सिसा नलगाउनु ठूलो गल्ती देखिएको छ। अहिले पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यो घटनाले विद्यार्थीहरू स्कुल बसमै असुरक्षित रहेको पुष्टि गरेको छ। यस्ता घटनाबाट अभिभावकहरू चिन्तित छन्। 

निर्देशिकाको खिल्ली उडाएर हुइँकिन्छन् बस 

विद्यार्थीहरूको आवतजावत सुरक्षित,आरामदायी र भरपर्दो बनाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा ‘स्कुल बस निर्देशिका २०७४’ जारी गरिएको छ। जसमा स्कुल बस चलेको अवस्थामा सबै आपतकालीन ढोका बन्द गरी विद्यार्थीको यात्रा सुरक्षित बनाउनुपर्ने व्यवस्था छ।

त्यस्तै, स्कुल बसको झ्यालमा ३ वटा होरिजेन्टल राउण्ड मेटल राउण्ड आल्मुनियम ट्युबको ग्रिल दुवै साइडमा लगाउनुपर्ने र सहचालकको व्यवस्था हुनुपर्ने निर्देशिकामा उल्लेख छ। 

तर यो निर्देशिकाले व्यवस्था गरेअनुसार अहिले निजी विद्यालयले बस चलाएका छैनन्। बसबाहेक अन्य सवारीसाधनमा सहचालकको व्यवस्था भएको पनि देखिँदैन।

सिट संख्या र बसको क्षमतामा १२ वर्षभन्दा मुनिका विद्यार्थीलाई बसको सिट क्षमताभन्दा डेढ गुणा विद्यार्थी राखेर ओसारपसार गर्न सकिने व्यवस्था छ।

१२ वर्षभन्दा माथिका विद्यार्थीहरूको हकमा सिट क्षमता बराबरको संख्यामा मात्र विद्यार्थी राख्नुपर्ने पनि उल्लेख छ। तर अहिले यो निर्देशिका लत्याएर विद्यार्थीहरू राखिन्छ।

बसमा कोचिएर बालबालिका स्कुल पुग्न बाध्य छन्। तैपनि सम्बन्धित निकायले न त अनुगमन गर्छ न कुनै कारबाही नै।

मापसेमा पर्छन् स्कुल बसका चालक 

निर्देशिकाको बुँदा ९ मा स्कुल बसमा कसैले पनि धुम्रपान तथा मद्यपान गर्न नपाइने भनी उल्लेख छ। निर्देशिकाको बुँदा १३ को सवारी चालकको दायित्वमा चालकले ट्राफिक नियमको पालना गर्नुपर्ने उल्लेख छ।

तर यो निर्देशिकाको खिल्ली उडाउँदै चालकले मापसे गरेर विद्यालयका बस चलाउने गरेका छन्। केही समयअघि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे गरेर चलाएका विभिन्न स्कुलका १६ वटा बसलाई समातेको थियो। 

अभिभावक भन्छन् : स्कुल व्यवस्थापनको लापरबाही 

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले लाजिम्पाट घटनामा स्कुल व्यवस्थापकको गम्भीर लापरबाही रहेको बताए। उनले भने, ‘स्कुल बस सुरक्षित बनाइनुपर्छ तर त्यो बसको झ्यालमा सुरक्षित डण्डी रहेनछ, व्यवस्थापकीय कमजोरी देखियो।’

उनका अनुसार स्कुल बसभित्र झनै दर्दनाक पीडा दिएर विद्यार्थीहरू ओसारपसार गरिन्छन्।

‘यो त भएको घटना मात्रै हेर्‍याैँ, बिहान हेर्‍याैँ भने मन्टेसरीका गाडीमा उल्टो सिट बनाएर विद्यार्थी राखेर चलाउँछन्। यसरी नियमअनुसार पाइँदैन, विद्यार्थीहरूलाई बसमा खाँदेर लगेको छ तर ट्राफिक प्रहरी होस् या अरु सम्बन्धित निकायलाई वास्ता छैन,’ उनले भने।

उनले यस्ता आपराधिक गतिविधि गरे पनि स्कुललाई कारबाही गर्ने नगरिएको बताए। विद्यार्थी बालबालिकाको सुरक्षाको एकीकृत प्रबन्ध गर्नुपर्ने उनको माग छ।

‘बालबालिका संवेदनशील हुन, अरु नागरिक जस्तो हुँदैन, चन्चले स्वभावका हुन्छन्,’ उनले भने, ‘महत्व दिएर उनीहरूको स्कुलभित्र होस् या बाहिर होस् रेखदेख गरिनुपर्छ। यसका लागि मान्छे राख्नुपर्छ, सुरक्षामा कमी हुनुभएन, चालकलाई चेतना दिनुपर्छ।’

यस्ता घटनाले अभिभावकहरूलाई धेरै चिन्तित तुल्याएको भन्दै सरकारले यसलाई गम्भीर रुपमा हेरेर अनुगमन गर्नेदेखि नियमनसमेत गर्नुपर्ने उनी माग गर्छन्। 

सुरक्षित ढंगले गाडी चलाउन प्रहरीको आग्रह

जिल्ला प्रहरी परिसर काठमाडौंले लाजिम्पाटको घटनापछि सावधानी अपनाएर बस चलाउन चालक र विद्यालय सञ्चालकलाई आग्रह गरेको छ।

‘बालबालिका हाम्रा वर्तमान र भविष्य भएकाले तिनको लालनपालन र रेखदेखमा उचित ध्यान पुर्‍याउनुपर्ने हुन्छ, सानो असावधानीले मात्र पनि ठूलो घटना घट्न जाने हुन्छ। तसर्थ, सम्बद्ध निकायले समयमै ध्यान पुर्‍याउन हुन समेत यस परिसर अनुरोध गर्दछ,’ सूचना जारी गरी भनेको छ। 

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले विद्यालयको बस चलाउँदा चालक निकै नै संवेदनशील हुनुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘विद्यालयको बस चलाउँदा चालक धेरै संवेदनशील हुनुपर्छ, तब मात्र विद्यार्थीहरूको ज्यान सुरक्षित हुन्छ। मापसे गरेर चलाउँदा दुर्घटना हुने जोखिम बढ्छ तर मापसे गरेरै चलाएको पाइन्छ।’ सुरक्षाको लागि निरन्तर नै स्कुल बसको चेकिङ गर्दै आएको उनको भनाइ छ।

यसो भन्छ प्याब्सन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले समय समयमा सबै स्कुललाई सुरक्षित ढंगले विद्यार्थी ओसारपसार गर्न निर्देशन दिँदै आएको दाबी गरे।

‘हिजोको यो घटनाले हामी दुःखी र चिन्तित छौँ, यो विद्यालयसँग विद्यार्थीको जोडिएको सुरक्षाको संवेदनशील विषय हो,’ उनले भने। उनले विद्यार्थीहरूको सुरक्षाका लागि विज्ञसँग बसेर अभिमुखीकरण सञ्चालन गर्न लागेको जानकारी दिए।

‘हामी चुनावलगत्तै देशव्यापी रुपमा स्कुल, चालकलगायतको सुरक्षाको लागि विज्ञसँग बसेर ओरिएन्टेशन अभियान सञ्चालन गर्नेमा पुगेका छौँ। आन्तरिक रुपमा पनि सुरक्षित रहेर चलाउन निर्देशन दिइरहेका छौँ तर बेलाबखत यस्ता दु:खद घटना घट्छन्,’ उनले भने।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.