काठमाडौँ: आँट र केही गर्छु भन्ने हिम्मत हुने हो भने काम गर्न कसैले छेक्दैन भन्ने कुराको उदाहरण केही युवाले देखाएका छन्। सडकमा हिँड्नेसँग सहयोग मागेरै भए पनि समाजसेवाका लागि केही गर्ने आँट बोकेका यी युवाले गत जेठ २२ र २३ गते दुई दिन जाजरकोटको पिपेमा वृहत श्वास्थ्य शिविर सञ्चालन गरेका छन्।
दुर्गम जिल्ला जाजरकोटको भेरीमालिका नगरपालिकामा पर्ने पिपे गाउँमा श्वास्थ्य शिविर सञ्चालनका लागि चाहिने बजेट उनीहरूसँग थिएन। तर सोचेको काम पूरा गरेरै छाड्ने दरिलो आँट र आत्मविश्वासका कारण उनीहरूले केही रकम संकलन गर्न सफल भए।
जेठ दोस्रो साताको एउटा मंगलबार दिउँसो सिमसिम पानी परिरहेको थियो। बानेश्वरको एउटा गल्लीमा पानीमा भिजेरै उनीहरूले श्वास्थ्य शिविरको लागि सहयोग रकम संकलन गरे। सडकमा हिँड्नेसँग सहयोगको अनुरोध गरेरै ५० हजार रूपैयाँजति रकम जम्मा गरेका उनीहरूले दुई दिने श्वास्थ्य शिविरको लागि चार लाख रूपैयाँ अनुमान गरेका थिए।
साथीभाइ र शुभचिन्तकसँग सहयोग मागेर जम्मा गरेको तीन लाख रूपैयाँ र सडकमा दुई दिन बाटो हिँड्ने बटुवाहरूसँग सहयोग मागेर संकलन भएको ५० हजार रुपैयाँ गरी साढे तीन लाख रूपैयाँ लिएर उनीहरू जाजरकोट पुगेका थिए। केही रकम अपुग भए पनि श्वास्थ्य शिविर सम्पन्न गर्न सकेकोमा आफूलाई खुसी लागेको सहयोगी हातहरूका अध्यक्ष रामप्रसाद भण्डारीले बताए।
५१२ जनाको नि:शुल्क उपचार गरिएको उक्त श्वास्थ्य शिविरमा पिपे, रावत, रिम्ना, स्याला, कालेगाउँलगायत रुकुमका केही स्थानबाट समेत सर्वसाधारण उपचार गराउन आएका थिए। विशेषतः पाठेघरसम्बन्धी रोगमा उपचार गरिएको शिविरमा चिकित्सकहरू कीर्तिपाल सुवेदी, कावाङ घिसिङ र प्रशंसा उलाङले बिरामीको परीक्षण गरेका थिए।
समाज सेवाको लागि केही गरौँ भन्ने आकांक्षाले विभिन्न जिल्लाबाट उच्च शिक्षा हासिल गर्न राजधानी छिरेका १५ जना युवा मिलेर करिव तीन महिना अगाडि उक्त संस्था स्थापना गरेको अध्यक्ष भण्डारीले बताए। सोही संस्थामार्फत 'रक्तदान जीवन दान' भन्दै गत महिना काठमाडौँका केही स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको अध्यक्ष भण्डारीले जानकारी दिए।
संस्थाका सदस्य विनोद पन्थीले नामको लागि नभई समाजसेवाको लागि संस्था खोलेको बताए। उनले भने, 'हाम्रो सानो सहयोगले समाजमा केही राम्रो हुन्छ भने किन नगर्ने भनेर लागेका हौँ।' पन्थी महेन्द्ररत्न क्याम्पस ताहाचलमा बीएड तेस्रो वर्षका विद्यार्थी हुन्।
समाजसेवामा धुर्मुस-सुन्तलीहरूको समर्पण देखेर नै समाजसेवामा लागेको रामप्रसाद बताउँछन्। उनी भन्छन्, 'समाजसेवाले दिने आत्मसन्तुष्टि अरू केही चिजले दिन सक्दैन। त्यसैले पढ्नै छोडेर भए पनि श्वास्थ्य शिविर सफल पार्न लागेका हौँ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।