गठबन्धनले सजिलै चुनाव जित्‍नेमा ढुक्क छौँ : कांग्रेस

|

धनकुटा : सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले देशभर गठबन्धन गर्ने निर्णय गरेसँगै धनकुटामा पनि गठबन्धन भएको छ। धनकुटामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी चुनावी तालमेलमा रहेका छन्।

गएको स्थानीय तहको निर्वाचमा धनकुटाका केही वडाहरुमा बाहेक नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षमा गठबन्धन दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी चुनावी तालमेलमा थिए।

त्यति हुँदा पनि धनकुटामा रहेका ७ स्थानीय तहमध्ये ४ स्थानीय तहका प्रमुख, १ स्थानीय तह उपप्रमुख र २९ वटा वडा मात्रै गठबन्धनले जितेको थियो। ३ स्थानीय तह प्रमुख, ६ उपप्रमुख र ३१ वटा वडा एमालेले जितेको थियो। अझ २०७४ सालको स्थानीय तहको निर्वाचनमा धनकुटाका ७ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखमा नेकपा एमाले विजयी भएको थियो।

त्यसपछि २०७४ सालमै भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पनि एमालेले माओवादी केन्द्रको सहयोगमै भए पनि सबै सिट जितेको थियो। सो निर्वाचनमा कांग्रेस, राप्रपा र जसपा अर्को पक्षमा चुनावी तालमेलमा थिए। अझ देश संघीय संरचनामा जानुअघि पनि धनकुटाका तत्कालीन गाउँ विकास समितिहरुमा पनि एमालेले बर्चस्व राख्दै आएको थियो। यसरी हेर्दा धनकुटा एमालेको विरासत भएको जिल्ला हो भन्दा फरक नपर्ला।

अहिले देशभर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन र नेकपा एमाले र स्वतन्त्र उम्मेदवारबीच रस्साकस्सी हुने देखिएको छ। जिल्लामा गठबन्धन र स्वतन्त्र उम्मेदवार दिएका हेमराज भण्डारीका कारण एमालेलाई पुरानो हैसियत कायम राख्न कठिन देखिन्छ। तर, सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएपछि र माओवादी केन्द्रबाट विद्रोह गरेर हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले आफूलाई सहज भएको बताउँदै आएको छ।

२०७४ को निर्वाचनमा दोस्रो बनेको नेपाली कांग्रेस, तेस्रो बनेको नेकपा माओवादी केन्द्र एक ठाउँमा हुँदा र एमालेबाट विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि गठबन्धनमै रहेकाले गठबन्धन बलियो हुने अनुमान धेरैको छ। तर, सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादीले प्रतिनिधिसभामा कसलाई सहयोग गर्नेबारे आधिकारिक बताएको छैन। त्यसको मत पाउने अपेक्षा एमाले,  गठबन्धन र स्वतन्त्रले गरेको पाइन्छ।

गएको स्थानीय तहको निर्वाचनमा वडागत नतिजालाई हेर्ने हो भने गठबन्धनले ३७ हजार ६ सय ८२ र एमालेले ३६ हजार ३५ मत पाएको छ। त्यसलाई मध्येनजर गर्दा गठबन्धन १ हजार ६ सय ४७ मतले गठबन्धन अगाडि देखिन्छ।

त्यो मत जनता समाजवादी पार्टी र माओवादीबाट स्वतन्त्र बनेका हेमराज भण्डारी सहितको हो। यसकारण एमाले अगाडि रहेको पनि बताइन्छ।

गठबन्धनले सजिलै चुनाव जित्छ : कांग्रेस

गठबन्धनले गएको स्थानीय तह निर्वाचनमा गठबन्धनले ल्याएको मतको आधार नै यसपटकको आधार भएको दाबी गरेको छ। कांग्रेस, माओवादी केन्द्र, र नेकपा एकीकृत समाजवादी मिलेर गठबन्धन बनाएका कारण पनि चुनाव जित्ने दाबी गरिएको छ।

अझ त्यसमा उम्मेदवार पनि स्वच्छ छविका भएका कारण चुनाव जित्ने बताएको छ। गएको निर्वाचनहरुमा एमालेले एकलौटी जितेका कारण धनकुटा पछि परेकोले गठबन्धनको आवश्यकता जनताले महशुस गरेको कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए।

२०७४ को प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनिएर गएका जनप्रतिनिधिले केही काम नगरेको र तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेको धनकुटाबाट प्रदेश १ को राजधानी विराटनगर एमालेले लगेका कारणले धनकुटा विकासमा पछि परेको राईले बताए। उनले विकासमा गुमेको शाख फर्काउने काम गठबन्धनले गर्ने बताए।

राईले भने, ‘धनकुटाको समृद्धिका लागि नयाँ योजना ल्याइने छ।’ अवसर पाउँदा मुलुक र जनताका लागि केही पनि गर्न सक्दैन भन्ने छाप एमालेले जनतामा छोडेकोले गठबन्धनलाई सजिलो भएको उनको भनाइ छ।

संघ र प्रदेशका सबै जित्छौँ : एमाले

नेकपा एमालेले मंसिर ४ पछि धनकुटाबाट प्रत्यक्ष संसदका हैसियतले आफ्ना उम्मेदवारहरु नेतृत्वमा पुग्ने दाबी गरेको छ। गएको स्थानीय तहको निर्वाचनमा आफ्नै केही कमजोरीले सोचेजस्तो नतिजा नआएको भए पनि योपटक कमजोरी सच्याइएको दाबी गरेको हो। धनकुटामा एमाले ठूलो दल भएकाले एमालेले यसपटक पनि बाजी मार्ने बताएको हो।

एमाले धनकुटा अध्यक्ष इन्द्रमणि पराजुलीले धनकुटामा एमालेको विरासत कहिल्यै नढल्ने बताए। सत्तारूढ दलहरु गठबन्धन गरेर एमालेविरुद्ध उभिए पनि जनताको साथ एमालेलाई भएको उनले बताए।

एमालेले सबैको विश्वास जितेकाले अब धनकुटामा चुनाव सजिलो भएको अध्यक्ष पराजुलीले बताए। गएका ५ वर्षमा धनकुटामा सुरु गरेका कामलाई निरन्तरता दिँदै सम्पन्न गर्न पनि एमालेले जित्नुपर्ने उनको तर्क छ। पार्टी विभाजनको असर धनकुटामा नगन्य रुपमा रहेको उनले बताए।

एमालेका सबै उम्मेदवारहरु धनकुटासँग परिचित व्यक्ति भएकाले सहजै निर्वाचन जितिने उनले बताए।

'जित्ने पालो स्वतन्त्रको'

राजनीतिक दलबाट जनता आजित भएका कारण चुनाव आफूले जित्ने स्वतन्त्र उम्मेदवार हेमराज भण्डारीले बताए। उनले राजनीतिक दल पटकपटक चुनाव जितेर गए पनि केही नगरेका कारण जनता आजित भएको बताए।

भण्डारी राजनितिक दलमा भएपछि दलको अंकुशका कारण काम गर्न नसकिने र स्वतन्त्र भए जनताको काम सहज रुपमा गर्न पाइने भएकाले निर्वाचन जित्न सहजता भएको बताए।

उनले आफू कुनै पदमा नभएको बेला पनि धनकुटामा तमोर करिडोर, पाख्रिबास कृषि क्याम्पस, अरुण करिडोर जस्ता ठूला आयोजनाको पहल कदमी गरेर काम गरेकोले जनता मत दिनेमा ढुक्क रहेको बताएका छन्।

उनले उम्मेदवारी दिएको समयभन्दा अहिले निर्वाचन माहोल आफ्नो पक्षमा बढेर गएको दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.