|

पर्वत : नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति देउवालाई जवाफ फर्काउँदै लिपुलेक र लिम्पियाधुरा वार्ताकै माध्यमबाट फिर्ता ल्याउने बताएका छन्।

सोमबार कास्कीको पोखरामा नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटी कास्कीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गुमेको जमिन वार्ताका माध्यमबाट मात्रै फिर्ता ल्याउन सम्भव रहेको बताएका हुन्।

आफूले प्रधानमन्त्री देउवालाई दार्चुलामा गएर जमिन फिर्ता ल्याउन भनेकोमा देउवाले बन्दुक लिएर सिमानामा जान भनेको भन्दै उनले माओवादीको सङ्गतमा कांग्रेसले पनि बन्दुकको कुरा गर्न थालेको तर्क गरे।

‘मैले दार्चुलामा गएर जमिन फिर्ता ल्याउने भनेँ, जवाफमा शेरबहादुर देउवाजीले बन्दुक लिएर सिमानामा जानु भन्नुभएछ,’ अध्यक्ष ओलीले भने, ‘प्रचण्डको सङ्गत गरेपछि बन्दुकको भाषण गर्न थालेछन्। हामी बहुमतको सरकार बनाएर वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ।’

गठबन्धन सरकार दक्षिणपन्थी दिशामा हिँडेको भन्दै ओलीले आफूहरूको पालामा देशलाई प्रगतिको बाटोमा हिँडाउन सकेको दाबी गरे। आफूहरूले प्रगतिमा हिँडाएको देशलाई गठबन्धनका नाइकेहरूले दक्षिणपन्थी दिशामा लगेको उनको भनाई छ। आउँदो निर्वाचनमा एमालेले लोकतन्त्र रक्षाका लागि बहुमतसहित जित्नुपर्ने बाध्यता रहेको ओलीले बताए। बिचार र नीति नभएको गठबन्धनले फरक फरक घोषणापत्र सार्वजनिक गरेको भन्दै उनले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि एमालेले बहुमत प्राप्त गर्नै पर्ने र त्यसका लागि मतदाता तयार रहेको उल्लेख गरे।

‘गठबन्धन दिशाहीन बिचारहीन र गन्तव्यहीन छ। यो गठबन्धन जनताको चाहना विपरीत कुदेको छ। गठबन्धनमा को प्रधानमन्त्री बन्ने भन्ने तँछाडमछाड छ,’ उनले भने, ‘गन्तव्य नभएकाहरूले फरक–फरक घोषणा पत्र बोकेर हिँडेका छन्। सबैले आफैँलाई प्रधानमन्त्री भन्दै जनतासँग झुटो आश्वासन बाढेका छन्।

अध्यक्ष ओलीले सोमबार नै बागलुङको बूर्तिवाङमा भएको कार्यक्रममा पनि सम्बोधन गरेका छन्। त्यहाँ बोल्दै उनले सुकुम्वासी लगायतको समस्या समाधानको बाटोमा आफूहरू अगाडि बढेको भए पनि लुटेर खान पल्केकाहरूको कारण आफूहरूले काम गर्न नपाएको बताए। वर्तमान सरकारका मान्छेहरूले चारैतिरबाट लुटेर खान जानेको आरोप लगाउँदै ओलीले आफूहरूकै नेतृत्वमा सरकार रहेको भए सबैका समस्याको समाधान भइसकेको हुने दाबी गरे।

‘समस्या समाधान हुन सक्थ्यो नेकपा एमाले सरकारमा कायम रहन पाएको भए। यो किन भए भन्दा चारतिर मुख फर्किएकाहरू जताको देखे पनि खान जान्या छ। यस्ता मुखहरूको सरकार छ, कहाँबाट देश बन्छरु’ उनले भने, ‘हाम्रो छिमेकी सम्बन्ध बिग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ। को प्रधानमन्त्री हुने भन्नेमा मारामार गरिरहने गठ जोडको अब के कामरु यस्तै तत्त्वहरू एमालेमा पनि थिए, एमालेलाई नै काम गर्न दिएनन्।’

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.