|

काठमाडौं :  राप्रपा वरिष्ठ नेता दिलविकास राजभण्डारीले आसन्न चुनावमा राप्रपाको निकै राम्रो नतिजा आउने दाबी गरेका छन्। प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षमा आठ/दश सिट पक्काजस्तै भएको भन्दै समानुपातिकमा समेत राम्रो नतिजा आउने उनले दाबी गरे।

चुनावी अभियानका क्रममा पत्रकारसँग नेता राजभण्डारीले बागमती प्रदेशमा मात्रै समानुपातिकमा साढे तीन लाख मत आउने दाबी गरे। 'प्रतिनिधि सभाका १४२ निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार छन्। प्रदेश सभामा पनि त्यही प्रकारले उठेका छन्', उनले भने, 'प्रतिनिधि सभामा आठ/दश सिट त हाम्रो पक्काजस्तै छ। अझै थप केही उम्मेदवारले पनि चुनाव जित्नुहुन्छ। प्रतिनिधि सभामा समानुपातिकबाट कम्तीमा १५/२० सिट आउँछ। बागमतीमा कमसेकम आठ जना जति आउँछन्। किनभने बागमतीमा समानुपातिकमा मात्रै साढे तीन लाख मत आउने हाम्रो आंकलन छ।'

केही जित्ने उम्मेदवारहरू समानुपातिकमा बसेकोले पार्टीलाई केही घाटा लागेको उनको भनाइ छ। 'खासमा हाम्रो पार्टीले अझै धेरै जित्थ्यो। केही जित्नसक्ने नेताहरू समानुपातिकमा बसिदिनुभयो,' उनले भने।

बागमती प्रदेशमा राप्रपा समानुपातिक उम्मेदवारसमेत रहेका राजभणडारीले  यसपाली पार्टीभित्रै ठूलो क्रान्ति गरेर परिवर्तन ल्याएको भन्दै चुनावमा त्यसको नतिजा आउने बताए।

'हामीले जनमत पाएका छैनौँ। अहिलेसम्म काम गर्ने अवसर नै पाएका छैनौँ। यसपालिको चुनावमा हामीलाई आसा छ जनताले त्यो अवसर दिन्छन्,' उनी भन्छन्, 'देशभरको माहौलले पनि त्यही संकेत गर्छ। यसपाली राष्ट्रवादी शक्ति बलियो हुन्छ। जनताको प्रतिक्रिया एकदम राम्रो छ। मलाई आशा छ पशुपति भगवान, पाथिभरा माताको निगाहा हामी प्रति हुनेछ। मेरो विशेष भन्ने चलन त ‘गड ब्लेस अस’। त्यो हुन्छ।'

०७४ सालको निर्वाचनमा नेताहरूले ठूलो गल्ती गरेका कारण पार्टी खुम्चिएको बताए। तर अहिले हामीले पार्टीमा ठूलो परिवर्तन ल्याएका कारण चुनावी नतिजा राम्रो आउने उनको आंकलन छ। 'पार्टी राजनीतिमा अरूको भन्दा क्रान्ति ल्यायौँ। जसले गर्दा पुराना नेताहरूलाई पार्टीबाट आराम गर्ने बनायौँ। अहिले हामीले कमल थापा, पशुपति शमशेर र प्रकाशचन्द्र लोहनीलाई सम्मानका साथ राखेका छौँ,' उनले भने, 'कमल थापा बस्न सक्नु भएन। उहाँ पार्टी खोलेर सूर्यबाट उठ्नुभएको छ।'

आफूहरूले गर्न सक्ने कुरा मात्रै घोषणा पत्रमा उल्लेख गरेको बताउँदै कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए।

'अरू दलहरूले लामालामा घोषणा पत्र ल्याएका छन्। जुन यसअघिका निर्वाचनमा पनि आउँथे। के उनीहरूले भनेअनुसार गरे त ?', उनको प्रश्न छ, 'तर हाम्रो प्रतिबद्धता धेरै छोटो छ। मुख्यतः हामीले पाँच वटा काम गर्छौ भनेका छौँ। पहिलो भ्रष्ट्राचार र शोषणको अन्त्य गर्छौँ भनेका छौँ। स्वास्थ्य र शिक्षा यस्तो महँगो छ। त्यसको अन्त्य गर्छौँ। जनतालाई औषधि उपचारको सुविधा र शिक्षाको सुविधा निःशुल्क गराउँछौँ। यसबाहेक सनातन धर्म संकृतिको जर्गेना गर्दै विश्वसामु नेपालीको पहिचान कायम राख्दै उद्योग, व्यवसाय र रोजगारी सुनिश्चतता गर्न र समृद्ध नेपाल, सुखी नेपाली बनाउने हाम्रो मुख्य एजेन्डा छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.