|

काठमाडौं : दाङ–२ मा रोचक प्रतिस्पर्धा हुँदैछ । सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा र नेकपा एमालेबाट महासचिव शंकर पोखरेलबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। वि. सं २०५१ सालमा पहिलो पटक संसद यात्रा गरेका पोखरेल त्यसपछि तीन पटक पराजय व्यहोर्न पुगे। उनले ०५६, ०६४ र ०७० सालको निर्वाचनमा पराजय भोग्नुपर्यो। यसपकट पोखरेल दोस्रो जितको खोजीमा छन्। पार्टी महासचिव भएकाले पनि पोखरेललाई यसपटक विरासत जोगाउनुपर्ने दबाब छ। 

०७४ सालमा लुम्बिनी प्रदेशसभामा निर्वाचित भएर मुख्यमन्त्री बनेका पोखरेलले पुरै कार्यकाल सरकार सञ्चालन गर्न पाएनन्। आफ्नो कार्यकालमा लुम्बिनी प्रदेशको राजधानी दाङमा सार्ने निर्णय गरेर स्यावासी कमाएका पोखरेललाई गठबन्धनको चुनौती सामना गर्नुपर्ने छ। 

लुम्बिनी प्रदेशको मुख्यमन्त्री सम्हालेका पोखरेल सत्ताबाट बर्हिगमनसँगै एमालेको महासचिवमा चयन भए। केपी शर्मा ओलीको उत्तराधिकारी मानिएका पोखरेल यसपटक दोस्रो जितको खोजीमा छन्। उनले करिब २९ वर्षपछि संसदको यात्रा तय गर्ने तयारी गरेका छन्।​

पोखरेल यसपटक आफूले चुनाव जित्नेमा विश्वस्त छन्। प्रदेशको राजधानी दाङको भालुवाङमा सार्ने निर्णय गरेका कारण उनी मतदाताको रोजाइमा पर्ने सम्भावना छ। दाङका एमालेजनले पोखरेललाई भावी प्रधानमन्त्री र राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने नेताको रुपमा अघि सारेका छन्। 

यता सत्ता गठबन्धनको साथ पाएकी शर्मा पनि जसरी भए पनि चुनाव जित्नुपर्ने दबाबमा छिन्। २०६४ र २०७४ सालमा समानुपातिकमा सिफारिस हुँदै मन्त्री बनेकी शर्मा यसपटक प्रत्यक्षमा चुनाव जित्ने रणनीतिमा छिन्। पहिलो पटक दाङका मतदातामाझ रहेकी शर्मा चार पार्टीबाट एक्लो उम्मेदवार रहेकाले  चुनाव जित्ने दाबी गर्छिन्। उनलाई कांग्रेस, माओवादी, जनमोर्चा र नेकपा एसको सहयोग छ । उनी यसैलाई आफूले चुनाव जित्ने पहिलो आधार मान्छिन्।

२०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महरा विजयी भएका थिए। वाम गठबन्धनको सहयोग पाएका महराले ४० हजार ४२ मत ल्याउँदै नेपाली कांग्रेसका राजु खनाललाई पराजित गरेका थिए। खनालले २५ हजार ८९५ मत पाएका थिए। 

दाङ–२ मा १४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। ३ जना स्वतन्त्र उम्मेदवार छन्। यी मध्ये पोखरेल र शर्माबीच कडा टक्कर हुने आँकलन गरिएको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने सत्ता गठबन्धन अगाडि छ। करिब २५ सय मतान्तरले अगाडि रहेको गठबन्धनसँग ३६ हजार १४६ मत छ। यस्तो नेकपा एमालेसँग ३३ हजार ५९३ मत रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.