|

काठमाडौं : नेपालमा कलाक्षेत्रको विकासका लागि सरकार गम्भीर नहुने गरेको गुनासो रहने गरेको छ। समग्र कला क्षेत्रको विकास र संस्कृति जगेर्नाको लागि सरकार उदासीन रहेको कलाकारहरूको गुनासो हुन्छ।

राजनीतिक दलहरूले पनि कलाक्षेत्रको विकासका लागि त्यति चासो देखाएको पाइँदैन। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्र दलहरूले कला संस्कृति क्षेत्रलाई कसरी सम्बोधन गरेका छन् त?

कला र संस्कृतिको उन्नयन : समुन्नत नेपालको पहिचान- नेपाली कांग्रेस
नेपाली कांग्रेसले आफ्नो घोषणा पत्रमा लेखेको छ– ‘संस्कृति, कला, संगीत, रंगमञ्च, चलचित्र, साहित्य खेलकुद आदिले नेपाली राष्ट्रिय भावना अभिवृद्धि गर्नुको साथै नेपाली मुल्य मान्यताको जगेर्ना गर्दछ भन्ने मान्यता नेपाली कांग्रेसको छ।’ सर्वाङ्गीण विकासको अवधारणामा भौतिक विकास जस्तै साँस्कृतिक वैभव र पहिचानसम्मको बृहत्तर अवधारणा रहेको जिकिर गर्दै घोषणापत्रमा उल्लेख गरिएको छ, ‘यस क्षेत्रको संरक्षण र संवर्धन गर्दै लोकतान्त्रिक समाजवाद, बहुलवाद तथा सामाजिक न्यायमा आधारित सभ्य, सुसंस्कृत र समुन्नत राष्ट्रनिर्माण गर्न प्रतिबद्धता हामी जाहेर गर्दछौँ।’ 

‘कला र संस्कृतिको उन्नयन–समुन्नत नेपालको पहिचान’ नारा दिइएको उक्त खण्डमा विभिन्न जातजाति, समुदाय र भुगोलको भाषा, साहित्य, कला, संस्कृति तथा इतिहास झल्किने प्रदेशस्तरीय कम्तीमा एउटा संग्रहालय तथा संगीत, नाटक, चलचित्र प्रदर्शनका लागि प्रत्येक प्रदेशमा एउटा प्रेक्षालय बनाउने, सबै विधाका कलाकार तथा सर्जकलाई सम्मान, पुरस्कार र संरक्षण तथा क्षमता अभिवृद्धि गर्ने लगायत उल्लेख छन्। 

त्यस्तै चलचित्र तथा सम्बन्धित क्षेत्रलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राखिने नियमनकारी निकायलाई राष्ट्रिय चलचित्र आयोगको स्वरूपमा रुपान्तरण गरी पूर्ण स्वायत्त बनाइने, कला क्षेत्रसँग सम्बन्धित सरकारी निकायलाई अझ प्रभावकारी बनाउने, सर्जकको प्रतिलिपि अधिकार तथा रोयल्टी व्यवस्थापन, व्यावसायिक तथा वित्तीय संस्थाहरूले खर्च गर्दै आएको सीएसआरअन्तर्गतको उल्लेख्य अंश भाषा, कला, संस्कृतिका क्षेत्रमा खर्च गरिने लगायत विषय घोषणापत्रमा उल्लेख छ।

संस्कृति मरे समाज मर्नेछ, समाज मरे राष्ट्र मर्नेछ- नेकपा माओवादी केन्द्र
नेकपा माओवादीले घोषणापत्रमा सांस्कृतिक रूपान्तरण र प्रगतिशील कला–साहित्यको प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम लागु गर्ने बताएको छ। सबै प्रदेशमा प्रज्ञा प्रतिष्ठानस्थापना गरी मौलिक संस्कृति संरक्षण प्रवर्द्धन तथा स्रष्टाहरूको वृत्तिविकास र अनुसन्धानका निम्ति स्रष्टावृत्ति, अनुसन्धानवृत्ति जस्ता कार्यक्रम लागु गर्ने उल्लेख छ। 

‘प्रत्येक स्थानीय तहमा स्थानीय मौलिक संस्कृति, भाषा, भेषभुषा एव‌ं सांस्कृतिक धरोहरको संवर्धन गरिने छ। त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा सांस्कृतिक महोत्सव, कवि गोष्ठी, चलचित्र प्रदर्शनी, विविध साहित्यिक एवम् सांस्कृतिक प्रतियोगिताको आयोजना गरिनेछ’, घोषणापत्रमा भनिएको छ, ‘नेपाली लोकगीत, संगीत र विभिन्न भाषाभाषी र समुदायको ऐतिहासिक, सांस्कृतिक र जातीय पहिचान झल्किने गीत, संगीत र साहित्यलाई प्रोत्साहित गरिने, सबै संस्कृति र धर्म सम्प्रदायबीचमा समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त र व्यवहार प्रवर्धन गर्न भाषा, लिपि, कला, साहित्य, संस्कृति, संगीत जस्ता प्रतिष्ठानहरू एउटै केन्द्रीय नीति अन्तर्गत ल्याइनेछ।’ 

साथै नेपाली मौलिक संस्कृति र सभ्यता झल्किने गरी निर्माण गरिएका एवं समाजवादी मूल्य स्थापित गर्ने चलचित्र निर्माणका लागि राज्यका तर्फबाट अनुदान र प्रोत्साहनका कार्यक्रम तय गरी लागु गर्ने  बताइएको छ भने कलाकारको प्रतिलिपि अधिकारको पूर्णप्रत्याभूति तथा रोयल्टीको प्रभावकारी कार्यान्वयनका कुरा पनि समेटिएको छ। 

पर्यटन र संस्कृति, राष्ट्रको समुन्नति- नेकपा एमाले
घोषणा पत्रमा पर्यटन र संस्कृति, राष्ट्रको समुन्नति नारा दिएको नेकपा एमालेले कला, संस्कृतिलाई पर्यटनसँग जोड्न बल गरेको छ। त्यहाँ उल्लेख छ, ‘प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गरिने छ। जैविक र पर्यावरणीय विविधतासहितको ‘इको टुरिज्मलाई प्रवर्द्धन गरिने छ।’

त्यस्तै सम्भावनाका आधार सबै प्रदेशमा फिल्म सिटी निर्माण गर्ने र नेपाली फिल्म क्षेत्रको प्रवर्द्धन, विकास र विस्तार गरिने बताइएको छ।

यसबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो घोषणापत्रमा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माणको केन्द्रको रूपमा स्थापित गर्न सरकारी दर्ता सेवामा शून्य शुल्क प्रावधान राखेर प्रक्रियालाई एक द्वार प्रणालाीमा लैजाने बताएको छ भने अन्य पार्टीका घोषणा पत्रमा पनि कलाकारको प्रतिलिपि अधिकार, रोयल्टी र लोक कला र संस्कृतिको जगेर्ना तथा नाटक, सिनेमा प्रदर्शनका लागि प्रत्येक प्रदेशमा प्रतिष्ठानको स्थापना गर्ने जस्ता कार्यक्रम उल्लेख गरिएको छ। 

घोषणा पत्रमा मात्र हेर्ने हो भने अघिल्लो चुनावको तुलनामा यसपालि कला तथा संस्कृतिलाई धेरैजसो पार्टीले घोषणापत्रमा स्थान दिएको देखिएको छ। कला र संस्कृतिलाई राजनीतिक दलहरूले गम्भीरतापूर्वक लिन थाल्नु सुखद कुरा हाे। तर, अघिल्लो चुनावमा घोषणा गरिएका थाेरै कार्यक्रमलाई पनि मूर्तरूप दिन ठोस कदम चालेकाे भने देखिएन।

वाम गठबन्धनको घोषणामा सबै प्रदेशमा कला, साहित्य र संस्कृतिको लागि एउटा प्रतिष्ठानको स्थापना गर्ने भनेर अघिल्लो चुनावी घोषणापत्रमा उल्लेख गरिएको थियो। यो पटकको घोषणापत्रमा उल्लेख गरिएका मध्ये कति कार्यक्रम चुनावपछि पनि सम्झिइन्छ र कति कार्यक्रम कार्यक्रम कार्यान्वयनका लागि पहल हुन्छ त्यो भने हेर्न बाँकी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.