|

धनकुटा : प्रदेश सभामा दुई निर्वाचन क्षेत्र रहेको धनकुटाको प्रदेश सभा 'क' मा तीनजना पूर्वसहकर्मी मुख्य प्रतिस्पर्धी रहेका छन्। उनीहरु हुन् नेकपा एमालेका धनकुटा सचिव निरन राई, गठबन्धनबाट एकीकृत समाजवादीका धनकुटा अध्यक्ष अर्जुन राई र जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जोङ।

प्रदेशसभा १ मा उनीहरु ३ जनासहित संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मनकुमार राई चुनावी मैदानमा छन्। ४ जना उम्मेदवार रहे पनि मुख्य प्रतिस्पर्धा यिनै पूर्व सहकर्मीबीच हुने देखिन्छ।

अझ रोचक पक्ष यो छ कि जनता समाजवादीका नेता चेम्जोङ मन्त्री हुँदा हाल एकीकृत समाजवादीका उम्मेदवार राई चेम्जोङको स्वकिय सचिव थिए। जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य चेम्जोङ २०६६ सालमा शान्ति तथा पुनर्निर्माण मन्त्री हुँदा उनका प्रमुख स्वकीय सचिव राई थिए।

तत्कालीन समयमा उनीहरु दुवै नेकपा एमालेका नेता थिए। त्यसवेला मन्त्री चेम्जोङ नेकपा एमालेका केन्द्रीय सदस्य र उनका प्रमुख स्वकीय सचिव राई नेकपा एमाले निकट धनकुटा–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष थिए।

सोही निर्वाचन क्षेत्रमा नेकपा एमालेको तर्फबाट निरन राई उम्मेदवार छन्। नेकपा एमाले धनकुटाका जिल्ला सचिवसमेत रहेका राई निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन्। उनी पनि दोस्रो पटक चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार मनोहरनारायण श्रेष्ठलाई ६ हजार ६ सय ४६ मतान्तरले पराजित गर्दै नेकपा एमालेका राई विजयी भएका थिए।

राईले २० हजार ८८ मत पाउँदा उनका निकटम प्रतिद्वन्दी श्रेष्ठले १३ हजार ४ सय ४२ मत प्राप्त गरेका थिए।

तत्कालीन माधव नेपाल प्रधानमन्त्री हुँदा बनेको मन्त्रिपरिषद्मा चेम्जाङ शान्ति तथा पुनर्निर्माणमन्त्री थिए। उनका पालामा जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी लगायतका संरचना निर्माणमा प्राथमिकता पाएको थियो। उनै मन्त्रीका प्रमुख स्वकीय सचिव थिए अर्जुन राई।

चेम्जोङ सत्तारुढ गठवन्धनको चुनावी तालमेलको मोडालिटी बनाउन निर्माण गरिएको कार्यदलका सदस्य थिए। कार्यदलमा रहँदा धनकुटामा गठवन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उठ्ने उनले दाबी गर्दै आइरहेका थिए। तर पछि जसपा गठवन्धनबाट बाहिरिएसँगै उनी प्रदेशसभा क मा उम्मेदवार बनेका हुन्।

देशका अन्य क्षेत्रमा जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरे पनि धनकुटामा भने नेकपा एमाले र जसपाले प्रदेश सभाका दुवै क्षेत्रमा वेग्लावेग्लै उम्मेदवारी दिएका छन्। प्रदेशसभा 'क' मा उम्मेदवार बनेका पूर्वमन्त्री चेम्जोङसँगै अर्जुन राई र निरन राई जित हासिल गर्ने दाबी गर्छन्।

एमालेका तर्फबाट उम्मेदवार बनेका निरन राई जिल्लामा रहेका संगठनको आडलेनै चुनाव जित्ने दाबी गर्छन्। सबै जनताहरु गठबन्धनको विरोधमा रहेको र गठबन्धनले सोचे जस्तो मत नपाउने दाबी उनको छ। गठबन्धनमा असन्तुष्टहरुले आफूलाई भोट दिनसक्ने राईको अनुमान छ।

तर, गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका अर्जुन राई गठबन्धनको समर्थन आफूलाई रहेकोले चुनाव जित्ने विश्वासमा छन्। ‘गठबन्धनको साथमा सबैले इमान्दारीसाथ सहयोग गर्ने र यसपटक चुनाव जित्नेमा म ढुक्क छु,’ अर्जुन राई भन्छन्।

स्थानीय तहको चुनावमा गठबन्धनका उम्मेदवारले पाएको मतलाई नै आधार मान्दा पनि गठबन्धनमा कुनै समस्या नरहेको राईको दाबी छ।

जनता समाजवादी पार्टीका उम्मेदवार तथा पूर्वमन्त्री रकम चेम्जोङ पनि आफूले चुनाव जित्ने दाबी गर्छन्। आफू मन्त्री हुँदा धनकुटामा विकास निर्माणका धेरै काम गरेकाले जनताले मत दिने अपेक्षा रहेको बताउँछन्। उनले धनकुटेली जनताले विकास चाहेकाले काम गर्ने नेतालाई जिताउने दाबी गरे।

प्रदेशसभा क मा चौविसे गाउँपालिका, साँगुरीगढी गाउँपालिका, सहिदभूमि गाउँपालिकाको १, २, ३, ६ र ७ वडा र धनकुटा नगरपालिकाको १, ३, ४, ५, ६, ७, ८, ९ र १० वडा पर्दछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.