रकम फिर्ता नगरे साधारणसभा गर्न नपाइने

|

काठमाडौं : नेपाल राष्ट्र बैंकले नियमविपरीत किस्ता बढाएर ऋणीबाट असुलेको रकम फिर्ता गर्न बैंकहरूलाई निर्देशन दिएको छ।

नियमविपरीत ऋणीबाट असुलेको रकम फिर्ता नगर्ने बैंकहरूले साधारणसभा गर्न नपाउने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले थाहाखबरलाई जानकारी दिए।

आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गत आर्थिक वर्षको साधारणसभा गर्नुपर्ने प्रावधानअनुसार यही पुस मसान्तसम्म बैंक तथा वित्तिय संस्थाहरूले साधारणसभा गर्नुपर्छ। त्यसका लागि बैंकहरूले आफ्नो वित्तिय विवरणसहित केन्द्रीय बैंकबाट अनुमति लिनुपर्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार बैंकहरूले पठाएको वित्तिय विवरण अध्ययनबाट सबै वाणिज्य बैंकको गरी साढे ३ अर्बभन्दा बढी रकम नियमविपरीत ऋणीबाट असुलेको अनुमान गरिएको राष्ट्र बैंकका प्रवक्ता भट्टले जानकारी दिए। उनका अनुसार हालसम्म ११ वटा बैंकले १ अर्ब ८५ करोड रूपैयाँ बढी लिएको देखिएको छ।

बैंकहरूको वित्तिय विवरण अध्ययनकै क्रममा रहेकाले नियमविपरीत असुल गरेको रकम अझै बढ्ने डा. भट्टको भनाइ छ। सोही रकम फिर्ता गर्न सम्बन्धित बैंकहरूलाई निर्देशन दिएको उनले बताए।

कुनै पनि ऋणीलाई ऋण सम्झौताभन्दा अतिरिक्त किस्ता असुल गर्न नपाइने व्यवस्था छ तर ब्याजको आधारदर परिवर्तन भएको अवस्थामा भने ३ महिनामा १ पटकमात्र ब्याज परिवर्तन गर्न पाइने व्यवस्था भए पनि केही बैंकले ब्याजको आधारदर मात्र नभई किस्ताको दरसमेत बढाएर ब्याज असुल गरेका पाइएको प्रवक्ता भट्टले बताए।

पछिल्लो समय बैंकहरूले मनलाग्दी ब्याज बढाएको भन्दै उद्योगी व्यवसायी सडकमै उत्रिएका छन्।

चर्को ब्याजदरविरुद्ध धनगढीमा बुधबार प्रदर्शन समेत गरिएको छ। ​बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरविरुद्ध कैलाली उद्योग वाणिज्य संघको आयोजनामा विरोध प्रदर्शन गरिएको हो।

अस्वाभाविक रूपले बढेको ब्याजदरले व्यवसाय सञ्चालन गर्नै समस्या भएको भन्दै जिल्लाका उद्योगी, व्यवसायी विरोधमा उत्रिएका हुन्। बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरको विरोध गर्दै आज धनगढीको ट्राफिक चौराहादेखि नेपाल राष्ट्र बैंक धनगढीसम्म मौन प्रदर्शन गरेका छन्।

केही दिनअघि उद्योगी व्यवसायीहरूले राजधानी काठमाडौंको माइतीघरमा पनि चर्को ब्याजदरको विरोधमा प्रदर्शन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.