|

रौतहट :  नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले विभिन्न जिल्लाको बागी उम्मेदवारलाई कारबाही गरे पनि रौतहटका दुईजना बागी उम्मेदवारलाई कारबाही गर्न सकेका छैन।

रौतहट क्षेत्र नं–३ मा पाँच दलीय गठबन्धनविरुद्ध दिएको बागी उम्मेदवारी कांग्रेसका केन्द्रीय महाधिवेशन प्रतिनिधि ओम प्रकाश जैसवाल र रौतहट क्षेत्र नं–४ का क्षेत्रीय प्रतिनिधि अजय कुमार साहले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

रौतहट क्षेत्र नं–३ मा कांग्रेसका जैसवाल माओवादी केन्द्रका गठबन्धन उम्मेदवार धिरज पटेलविरुद्ध उम्मेदवारी दिएका छन् भने रौतहट क्षेत्र नं–४ मा अजयकुमार साहले नेपाली कांग्रेसकै गठबन्धनका उम्मेदवार देवप्रसाद तिमल्सिनाविरुद्ध उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेस रौतहटले यी दुई बागी उम्मेदवारको नाम केन्द्रमा पठाएको भए पनि कारबाही नभएको र पार्टीको विधानविपरीत यी दुवै जनाले उम्मेदवारी दिएको कांग्रेसका एक नेताले बताए।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका र पार्टीले सहयोग गरेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ७४ जनालाई पार्टीबाट निष्कासन गरे पनि पाँच दलीय गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका रौतहट क्षेत्र नं–३ का जैसवाल र क्षेत्र नं– ४ का बागी उम्मेदवार साहलाई कारबाही नभएको भन्दै टीकाटिप्पणी सुरु भएको हो।

कारबाही किन भएन? भन्ने विषयमा नेपाली कांग्रेसका जिल्ला सभापति जितेन्द्र यादवसँग बुझ्न खोज्दा उनको फोन उठेन। त्यसपछि नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्ण यादवसँग बुझ्दा बागी उम्मेदवारहरूको नाम केन्द्रले मागेअनुसार पठाएको बताएका छन्।

केन्द्रले कारबाही गर्‍यो कि गरेन आफूलाई थाहा नभएको उनले बताए। बागी उम्मेदवारी दिएका जैसवाल र साह शेरबहादुर देउवा गुटका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.