तहअनुसार खटाउन शिक्षकहरूको माग

|

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जनशक्ति परिचालनमा चरम लापरबाही गरेको पाइएको छ। आयोगले विदेशमा रहेका शिक्षकको नामसमेत सिफारिश गरी चुनावमा खटाएको पाइएको छ। 

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका अनुसार कालिका चेतना माविका शिक्षक कृष्णप्रसाद घोरासैनीलाई फलाटेश्वरी मावि मतदान केन्द्रमा सहायकका रुपमा खटाइएको छ। तर उनी हाल जापानमा छन्।

त्यस्तै, रामदेवी माविका शिक्षक रबिन अधिकारीलाई लिसङ्खुपाखर खटाइएको छ। उनी भने हाल अष्ट्रेलियामा छन्।

सरुवा भएर अन्य जिल्लामा रहेका शिक्षक गोविन्द चौंलागाईलाई जनता मावि ज्यामिरे केन्द्र (ख) मा सहायक मतदान अधिकृत बनाइएको कार्यसमितिले ध्यानाकर्षण पत्र नै जारी गरी जनाएको छ।

तहअनुसार नखटाएपछि शिक्षक असन्तुष्ट

निर्वाचन आयोगले शिक्षकहरूलाई तहअनुसार जनशक्ति परिचालन नगरेको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ। महासंघकी अध्यक्ष कमला तुलाधरले वैशाखमा भएको स्थानीय तहमा पनि शिक्षकहरूलाई विभेद गरिएको र यो आसन्न निर्वाचनमा पनि फेरि त्यही गल्ती दोहोरिएको बताइन्।

उनले भनिन्, ‘स्थानीय तह निर्वाचनमा पनि तहअनुसार आयोगले खटाएन, यसपालि पनि त्यही गल्ती आयोगले दोहोर्‍याएको छ‚’ उनले निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोहीअनुसार निर्वाचनमा जिम्मेवारी दिन आयोगलाई पत्र बुझाएर माग गरिसकेको बताइन्।

नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले सोमबार कर्मचारी छनोटमा त्रुटी भएको भन्दै तत्काल सच्याउन निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय चौताराको ध्यानाकर्षण गराएको हो।

‘शिक्षक कर्मचारी परिचालन सम्बन्धमा कार्यालयले मतदान अधिकृत, सहायक मतदान अधिकृत र सहायक कर्मचारी छनोटको क्रममा त्रुटी भएको छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ।

​समितिका अनुसार उक्त कर्मचारी छनोट प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका २०७९ को दफा (११) को उपदफा (२) अनुसार हुनुपर्ने थियो तर उक्त दफाअनुसार शिक्षक कर्मचारी परिचालन गरिएको छैन। 

त्यस्तै, शिक्षक महासंघ जिल्ला समिति मोरङले पनि आसन्न निर्वाचनमा खटाइएका कर्मचारीमध्ये अन्य सेवाका कर्मचारीका तुलनामा शिक्षकहरूलाई अत्यन्त अमर्यादित ढंगले विभेद गरिएकाले यसको घोर भर्त्सना गरेको छ।

समितिले प्रेस विज्ञप्तिमार्फत शिक्षकहरूलाई तह र श्रेणीअनुसारको पद कायम हुने गरी निर्वाचन कार्यालयले प्रकाशित गरेको सूची अविलम्ब संशोधन गरी पुनः प्रकाशित गर्न माग गरेको छ।

पहिले नै महासंघले सचेत गराए पनि आयोगको बेवास्ता

नेपाल शिक्षक महासंघले गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा निजामती सेवाको समान तथा तल्लो तहको पदभन्दा तल राखेर जिम्मेवारी दिएको भन्दै भदौ ५ गते नै आयोगलाई पत्र पठाएर यो आसन्न निर्वाचनमा तह र मर्यादालाई ख्याल राखी सोहीअनुसार निर्वाचनमा जिम्मेवारी दिन माग गरेको थियो। तर आयोगले त्यसको बेवास्ता गरेको छ।

​शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी भन्छन्, ‘हामीले तह मिलाएर निर्वाचनमा जिम्मेवारी दिनुपर्छ नि, हाम्रो पनि मान सम्मानको कुरा छ। त्यसैले तह मिलाएर मात्रै जिम्मेवारी दिनुपर्छ।’

समिति सिन्धुपाल्चोकका अनुसार अधिकृतको रुपमा माध्यमिक, उच्च माध्यमिक, निमावि प्रथम, द्वितीय र प्रावि प्रथम तहका शिक्षक शाखा अधिकृत हुनुपर्छ।

सहायकमा निमावि तृतीय, प्रावि द्वितीय र नायब सुब्बामात्र रहनुपर्ने माग छ। सहायकमा निमावि तृतीय, प्रावि द्वितीय, बाल विकासका कर्मचारी सह-लेखापाल मात्र रहनुपर्ने शिक्षकहरूको माग छ।

कमजोरी भए सच्याउँछौँ : आयोग

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार नै कर्मचारी परिचालन गरिएको दाबी गरे। उनले भने, ‘सबै कर्मचारीलाई निर्देशिकाअनुसार नै चुनावमा खटाइएको छ।’

शिक्षक बाहिर भए पनि यहाँ नाम सिफारिश भएको विषयमा भने कमीकमजोरी भए सच्याउने उनले बताए। ‘हामीलाई ध्यानाकर्षण भएको छ, केही गलत भए सच्याउँछौँ,’ उनले भने। आयोगका अनुसार सुरक्षाकर्मीबाहेक करिब २ लाख ४६ हजार जनशक्ति यो निर्वाचनमा परिचालित हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.