|

काठमाडौं : कात्तिक दोस्रो हप्तापछि हलमा दर्शकको चाप क्रमश: घट्दो क्रममा छ। ‘महापुरुष’पछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न नसकेपछि हलमा चाप घट्दै गएको हो।

यति वेला प्रदर्शनरत फिल्ममध्ये सबैभन्दा बढी दर्शकको उपस्थिति भने ‘महापुरुष’ र कन्नड फिल्म ‘कान्तारा’मा देखिएको छ।

दोस्रो हप्तामा प्रदर्शन भइरहेको ‘महापुरुष’का अधिकांश शोमा अझै पनि ८० प्रतिशतभन्दा बढी अकुपेन्सी देखिएको छ भने ‘कान्तारा’मा पनि दर्शकको उपस्थिति २० देखि ३० प्रतिशतसम्म देखिएको छ। 

प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको ‘महापुरुष’ले दोस्रो हप्ताको बुधबारसम्म आइपुग्दा बक्स अफिसमा ६ करोडको आँकडा पार गरिसकेको छ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, रविन्द्रसिंह बानियाँ लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्मले पहिलो ३ दिनमा नै झण्डै साढे ३ करोडको कमाइ गरेको थियो। 

त्यस्तै रिशभ शेट्टीको लेखन, निर्देशन तथा मुख्य भूमिका रहेको फिल्म ‘कान्तारा’ नेपाली हलहरूमा ३ हप्ता पार गरेर चौथो हप्तामा प्रदर्शनरत छ।

पहिलो दुई हप्ता कन्नड भाषामा मात्रै प्रदर्शनमा आएको फिल्म दर्शकको माग बढेपछि हिन्दी, मलयालम, तेलुगु र तामिल भाषामा डब भई प्रदर्शनमा आएको थियो। फिल्मले विश्वभरिबाट ३ सय ५० करोड(भारु) भन्दा माथिको कमाइ गरिसकेको छ। 

तिहारको अवसर पारेर कात्तिक ४ मा प्रदर्शनमा आएको नेपाली ‘फिल्म के घर के डेरा’ भने विस्तारै हलबाट उत्रिँदै छ। ​बिग मुभिज, बिएसआर, क्युज सिनेमाज लगायतका हलबाट उत्रिएको फिल्म क्युएफएक्स, वान सिनेमाज लगायतका केही हलमा भने अझै प्रदर्शनरत छ।

दुई हप्ता दर्शकको उल्लेख्य उपस्थितिका साथ प्रदर्शन भएको फिल्मले साढे ४ करोडभन्दा माथिको कमाइ गरिसकेको छ। दिपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

गत हप्ता मात्रै प्रदर्शनमा आएको अर्को नेपाली फिल्म ‘लाखे’का लागि भने पहिलो हप्ता सुखद रहेन। दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा पाउँदै पनि फिल्मले बक्स अफिसमा ५० लाख कमाउन समेत संघर्ष गरिरहेको छ।

सम्राट बस्नेतको निर्देशनमा बनेको फिल्म एक्सन जनरामा छ। फिल्ममा सौगात मल्ल, वर्षा राउत, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। 

यीबाहेक हलिउड फिल्म ‘ब्ल्याक एडम’ले पनि अपेक्षा गरिएअनुसारको प्रदर्शन गर्न सकेको छैन।

जेम कलेक्ट सेराको निर्देशनमा बनेको सुपरहिरो फिल्म क्युएफएक्सबाहेक अधिकांश हलबाट उत्रिसकेको छ। तेस्रो हप्तामा प्रदर्शनरत फिल्मले विश्वभरिबाट ३ सय २३ मिलियन अमेरिकी डलरभन्दा माथिको कमाइ गरिसकेको छ।  

शुक्रबार प्रदर्शनमा आउन लागेको हलिउड फिल्म ‘ब्ल्याक प्यान्थरः वकान्डा फरएवर’ले हलमा एकपटक फेरि दर्शकको चाप बढाउने देखिएको छ।

रायन कोग्लर निर्देशित फिल्म एक्सन एडभेन्चर जनरामा बनेको छ। बुधबारदेखि नै फिल्मको प्रि-बुकिङ खुलेको छ।

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ पनि शुक्रबार नै प्रदर्शनमा आउँदै छ।

सुरज बडजात्याको लेखन तथा निर्देशन रहेको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङपा, वोमन इरानी, परिणीति चोपडा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.