|

काठमाडौं :  हिमालय एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट १६ कात्तिकदेखि चार्टर उडान शुरु गर्‍यो।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको गौतम बुद्ध विमानस्थलबाट हिमालय एयरलाइन्सले मलेसियाका लागि दैनिक चार्टर उडान शुरु गरेको हो। 

यसअघि जजिरा एयरलाइन्सले हप्तामा ३ दिन उडान गरिरहेकोमा हिमालयले उडान थपेको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ। क्यानका अनुसार एयर अरेबिया, फ्लाई दुबई र कतार एयरवेजले कम्तिमा एउटा उडान भैरहवाबाट गर्ने तयारी भइरहेको छ।

नेपाल एयरलाइन्सले पनि भैरहवाबाट उडान गर्ने तयारी भइरहेको छ। विमानस्थलबाट दैनिक जजिरा एयरलाइन्सले १ सय ४० जना ल्याउने र १ सय ६० जनासम्म यात्रु लगेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। 

गौतम बुद्ध विमानस्थल वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सहज बनाउने भन्दै शुरु गरिएको छ तर पूर्वाधार निर्माणमा भने ध्यान दिन सकेको छैन।

दोस्रो ठूलो अन्तरराष्ट्रिय  विमानस्थल  निर्माण भएर सञ्चालनमा आइसक्दा पनि अन्तरराष्ट्रिय उडानका लागि आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेको छैन।

वैदेशिक रोजगारीमा जानेलाई आवश्यक पर्ने राहदानी बनाउनेदेखि म्यानपावर खोज्न, प्रहरी रिपोर्ट बनाउनलगायत सबै कामका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यता कायमै छ।

पूर्वाधारविनै विमानस्थल सञ्चालन गर्दा प्रभावकारी हुनुको साटो वैदेशिक रोजगारीमा जानेका लागि खर्च र झन्झट अझै धेरै बढ्ने जानकारहरू बताउँछन्। 

पूर्वाधार काठमाडौंमा‚ कुम्लो बोकी भैरहवा विमानस्थलमा

वैदेशिक रोजगारीमा जानेका लागि सहज बनाउनकै लागि भन्दै जग्गाको मुआब्जासहित करिब ३० अर्ब रूपैयाँको लगानीमा गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरिएको हो। 

पूर्वाधार एकातिर विमानस्थल अर्कातिर हुँदा श्रमिकलाई अझ समस्यामाथि समस्या थपिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृतिदेखि राहदानी बनाउने, म्यानपावर, मेडिकल रिपोर्ट लगायतका लागि काठमाडौं नै नधाइ हुँदैन। 

भैरहवामा कुनै म्यानपावर कम्पनीको कार्यालयसमेत छैन। सरकारले नै म्यानपावर कम्पनीको शाखा खोल्न अनुमति नदिएर रोकेको छ।

भैरहवालक्षित नयाँ म्यानपावर कम्पनीको लाइसेन्स दिने योजनासमेत अगाडि बढेको छैन। भैरहवालक्षित म्यानपावर व्यवसाय खोल्न दिनुपर्ने व्यवसायीहरूले माग गरेका छन्। 

म्यानपावर कम्पनी नै नभएको शहरबाट विदेश उडान गर भन्नु गलत भएको श्रम तथा रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्।

‘वैदेशिक रोजगारीमा जाने सम्पूर्ण प्रक्रिया पूरा गर्न राजधानी नै धाउनुपर्ने भए उड्नका लागि मात्र भैरहवा किन जाने?‚‘ उनले प्रश्न गरे, ‘सरकारले भैरहवाको विमानस्थल सञ्चालनमा ल्याउनुअघि सम्पूर्ण पूर्वाधारको विकास गर्नुपर्ने हुन्छ।’

श्रम स्वीकृतिका लागि सरकारले भैरहवाबाट शुरु गरेको छ। त्यसबाहेक सम्पूर्ण कामका लागि काठमाडौं नै आउनुपर्ने अवस्था रहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

वैदेशिक रोजगारमा जानेले नयाँ श्रम स्वीकृत लिएर अभिमुखीकरण कक्षा लिन पनि काठमाडौं नै जानुपर्ने  वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए। 

अहिले कतार र युएईका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन्। अन्य कतिपय देशमा जान ‘बायोमेट्रिक’ लगायतका सुविधा काठमाडौकेन्द्रित छ।

यस्तो अवस्थामा काठमाडौं ओहोरदोहोर गर्दा बढी खर्च लाग्ने भएकाले टिकटभन्दा बढी खर्च लाग्ने गरेको छ। म्यानपावरको सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरणलगायत सबै सेवा उपलब्ध गराउन सके मात्र सो विमानस्थल नेपालीको रोजाइ बन्न सक्छ। 

यात्रु ठगिने डर 

यति वेला भैरहवाबाट हवाई यात्रा गरिरहेका यात्रुलाई म्यानपावर कम्पनी आफैँले टिकट काटेर पठाएको पाइएको छ।

गत बिहीबार गौतम बुद्ध विमानस्थलबाट मलेसिया उडेका यात्रुलाई बुधबार काठमाडौंबाट म्यानपावरले नै टिकट काटेर पठाएका थिए। काठमाडौंबाट टिकट नपाइएकाले भैरहवाबाट जानुपर्ने अवस्था आएको भन्दै यात्रुलाई उता पठाएका थिए।  

भैरहवामा विमान कम्पनीलाई पार्किङ, नेभिगेसन,ग्राउन्ड ह्यान्डलिङलगायत शुल्कमा छुट भएकाले केही सस्तो दरमा टिकेटिङ भइरहेको छ।

विदेश जानका लागि भैरहवाबाट उड्दा औसतमा ८ हजार रूपैयाँ सस्तो पर्ने देखिएको छ। म्यानपावर कम्पनीहरूले श्रमिकबाट सो शुल्क असुलेर भैरहवा पठाएको जानकारहरू बताउँछन्।

वैदेशिक रोजगारीमा ठगीका घटना बढ्दै गएका छन्। यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जानकारहरू बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.