|

बारा : नेपालमै पहिलो पटक एक करोड भन्दा बढी खर्च गरेर मधेश प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गमा जडान गरेको सीसीटीभी विथ राडर गन विग्रिएर बन्द भएका छन् । पाँच थान सिसिटिभि जडान गरेको ६ महिना नपुग्दै तीन वटा बिग्रीएर बन्द भएका हुन्।

तीव्र गति मापन गरेर दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले राजमार्गमा जडान गरिएका सिसिटिभि बिग्रिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। 

सिरहाको लहान, सप्तरीको भारदहसहित पाँच स्थानमा जडान गरिएकोमा बाराको निजगढ, पथलैया र महोत्तरीको बर्दिवासमा रहेको आधुनिक प्रबिधिको सीसीटीभी विथ राडर गन मर्मत अभावमा पुनः सञ्चालनमा आउन नसकेका हुन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका ट्राफिक प्रहरी उपरीक्षक नातीराम गुरुङ्गले पथलैयाको सीसीटीभी मर्मतका लागि प्रकृया अगाडि बढेको बताए। बाँकीको पनि केही दिनमा मर्मत गरिने उनको भनाइ छ। 

गत फागुनबाट शुरू भएको सीसीटीभी विथ राडर गन गत वर्ष साउनमै खरिद भए पनि जडान तथा सञ्चालनमा भने फागुनबाट आएको थियो। एक वर्षको वारेन्टी समय रहेको सीसीटीभी छ महिना नपुग्दै बिग्रिएपछि हाल सम्म मर्मतका लागि पहल गरिएको छैन।

प्रयोगको हिसाबले छ महिना मै बिग्रिए पनि किनेको समयले म्याद सकिएका कारण कम्पनीले मर्मत नगर्ने भएकोले सम्बन्धित कार्यालयले समेत चासो नलिएको पाइएको छ।

प्रयोगका समयमा मधेश प्रदेश अन्तर्गत रहेको राजमार्गहरुमा हुने तीव्र गति नियन्त्रण गर्न र सडक दुर्घटना कम गर्न मात्र नभइ अपराध नियन्त्रण, हिटेन रनमा समेत सीसीटीभी धेरै सहयोगी बनेको प्रहरी उपरीक्षक गुरुङ्गको दाबी छ। 

बिग्रनु अघिसम्म सीसीटीभी विथ राडर गनको प्रयोगबाट पाँच हजार भन्दा बढी सवारीलाई कार्यबाहीको दायरामा ल्याइएको र ४० लाख भन्दा बढी राजस्व संकलन भएको उनले बताए।

क्यामराको सहयोगमा गाडीको रंग, गति, चालक, यात्रु छुट्टाउन सकिने गुरुङको भनाइ छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनिकरणका लागि विगतमा पनि हैण्डहेड राडर गन, टाईम कार्डको प्रयोग गर्दै सचेतना फैलाउने काम गर्दै आएको थियो।

विगतको ‘हैण्डहेल्ड राडर गन’ भन्दा पछिल्लो प्रविधि प्रयोगमा सहज, वैज्ञानिक र उपलब्धिमूलक रहेको ट्राफिक प्रहरी उपरिक्षक गुरुङ्ग बताउँछन्। 

उनका अनुसार ‘सीसीटिभी विथ राडर गनले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने हुँदा त्यस्ता सवारीसाधन रोकेर आवश्यक सुझाव दिन र कारबाहीको दायरामा ल्याउन सहज हुने गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.