|

प्रकाश सेवा

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारले प्रचारप्रसार तीव्र बनाएका छन्l

दलको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका नेताहरू पार्टीको झण्डा र नेता कार्यकर्ताको लावालस्कर सहित कहिल्यै नपुगेको ठाउँमा समेत पुगेका छन् भने स्वतन्त्र उम्मेदवार पनि आफ्नो प्रतिबद्धतापत्र सहित घरघरमा पुगेर भोट मागिरहेका छन्l

सुरक्षार्थ खटिएका सेना, प्रहरी तथा म्यादी प्रहरी पनि चोक चोकमा देखिन थालिसकेका छन् भने आमजनता पनि चिया पसलदेखि कार्यस्थल, चोक, चौतारीमा  चुनावका बारेमा आ-आफ्नो विचार र धारणा राख्ने र अनेक प्रकारका विश्लेषण गर्न थालेका छन्l

​जनता यति वेला वर्खाभरि लगाएको खेती थन्काउने चटारोमा देखिन्छन् तथापि चुनाव र आगामी ५ वर्ष कस्तो व्यक्ति र दलले देश सञ्चालन गर्ने भन्ने कुराको छिनोफानो यही निर्वाचनले गर्ने भएकाले आममानिसलाई पनि उत्तिकै चासो र चिन्ता हुनु स्वाभाविक नै होl

यतिवेला दलका नेताहरू दिनरात नभनी जनतासामु आफू र आफ्नो पार्टीले आगामी पाँच वर्षमा गर्ने कामको फेहरिस्त सहित घरघर पुगिरहेका छन्l सिंगो देश र गाउँसम्मको विकासका अवधारणा समेटेर लगभग सबै राजनीतिक दलले आफ्नो पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेका छन्l

​घोषणापत्र भनेको आगामी पाँच वर्षको कार्यदिशा हो। यसलाई चुनावी एजेण्डाको रूपमा मात्र नलिई समग्र देश विकास र समृद्धिका लागि विभिन्न सूचकको बहुआयामिक मोडालिटी वा मार्गदर्शक सिद्धान्तको रूपमा लिनुपर्छl विडम्बना हाम्रो देशमा घोषणापत्रलाई सस्तो लोकप्रियताका लागि जनता भुलाउने माध्यमको रूपमा मात्रै प्रस्तुत गरिन्छl

सबै खाले पार्टीका घोषणापत्रमा अनिवार्य र बढी महत्त्वका साथ प्रस्तुत गरिने मध्येको एउटा सूचक स्वास्थ्य सेवा हो। गर्भावस्थादेखि मृत्युपसम्म आवश्यक भएकाले होला सबै दलको प्राथमिकतामा स्वास्थ्य सेवा पर्छ। घोषणा गरेअनुरूप कुनै दलको सरकार बने पनि बजेट विनियोजनका वेला भने स्वास्थ्य सेवा प्राथमिकतामा कहिल्यै परेको देखिँदैन। तथापि आसन्न निर्वाचनमा पनि सबै दलले लोकप्रिय नारा दिँदै स्वास्थ्य क्षेत्रमा गर्ने क्रियाकलापको फेहरिस्त प्रस्तुत गरेका छन्l

​नेपाली कांग्रेसले ‘३/७३, र ‘गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच: सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली’, नेकपा एमालेले ‘हाम्रो नेपाल, निरोगी नेपाल र स्वस्थ महिनावारी: १५ सय वर्षभरी’, माओवादी केन्द्रले ‘गाउँ-गाउँमा अस्पताल, स्वास्थ्यमा समाजवाद’, एकीकृत समाजवादीले ‘नि:शुल्क स्वास्थ्य उपचार: जनताको मौलिक अधिकार’ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले ‘बलियो स्वास्थ्य संयन्त्र: हाम्रो मुख्य मन्त्र’ जस्ता लोकप्रिय नारा आफ्नो आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन्l सबै दलका घोषणापत्रमा अस्पताल निर्माण गर्ने र चिकित्सा सेवा प्रदान गर्ने कुरा महत्त्वका साथ उल्लेख गरे पनि रोग लाग्न नदिने वा रोग लाग्नबाट बचाउने जनस्वाथ्यका सवालमा मौन छन्l

घोषणापत्रमा समावेश भएका वाचा, प्रतिबद्धता, संकल्प, ग्यारेन्टी जे भने पनि कति कार्यान्वयन हुन्छन् र त्यसबाट आमनागरिकको स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्ने त पाँच वर्षपछि जनताले मूल्यांकन गर्नेछन् l यस आलेखमा मूलभूत रूपमा सबै दलले आ-आफ्नो घोषणापत्रमा उल्लेख गरेका साझा खालका घोषणा वा लोकप्रिय कार्यक्रम, केही नवीनतम खालका घोषणा तर नगरी नहुने कार्यक्रमबारे चर्चा गरिएको छl

साझा खालका घोषणा वा लोकप्रिय कार्यक्रम
यसपालिको चुनावी घोषणापत्रमा प्रायः सबै राजनीतिक दलले जनतालाई प्रभावित गर्ने अभिप्रायले विगतका जस्तै केही लोकप्रिय कार्यक्रम समावेश गरेका छन्l तर कुनै पनि राजनीतिक दलले नेपालको संविधान २०७२ को धारा ३५(१) मा उल्लेख भएको आधारभूत स्वास्थ्य सेवा नि:शुल्क हुने प्रावधान र धारा ५१ को खण्ड ज को १५ मा उल्लेख भएको स्वास्थ्य बीमामार्फत उपचारमा सबै नागरिकको पहुँचको व्यवस्था गर्ने भन्ने भिन्नता नछुट्याई केवल मतदातालाई आकर्षित गर्ने कुरा मात्रै उल्लेख गरेको पाइन्छl

​सबैजसो दलले सबैभन्दा बढी महत्त्वका साथ घोषणा गरेको कार्यक्रम भनेको नि:शुल्क उपचार सेवा होl कतिपय र ठूला दलले त सबै नागरिकको नि:शुल्क उपचार गर्नेदेखि लिएर नि:शुल्क अङ्ग प्रत्यारोपणसम्मको कुरा उल्लेख गरेका छन्l विडम्बना त्यो घोषणा गरेको नि:शुल्क, उपचार कार्यक्रमका लागि आवश्यक आर्थिक स्रोतको व्यवस्थापन कहाँबाट कसरी जुटाउने भन्ने रणनीति कुनै पनि दलले उल्लेख गरेका छैनन्।

सबैभन्दा रोचक कुरा सबै दलले एक आपसमा सल्लाह गरेर लेखे जस्तै गरी नि:शुल्क उपचार, स्वास्थ्य बीमा कार्यक्रम, आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धति, उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोगको नि:शुल्क उपचार, प्रत्येक स्थानीय तहमा सुविधासम्पन्न विशेषज्ञ डाक्टर सहितको अस्पताल सञ्चालन गर्ने घोषणा गरेका छन्l कसैले नछुटाएको वा सबैको घोषणापत्रमा उल्लेख भएका लोकप्रिय कार्यक्रम यस प्रकार छन् :-      

१.     स्वास्थ्य बीमा कार्यक्रम,
२.     सबै नागरिकको नि:शुल्क उपचार,
३.     आयुर्वेदिक तथा वैकल्पिक उपचार पद्धति,
४.     उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोगको उपचार,
५.     ज्येष्ठ नागरिकदेखि गरिब, विपन्न, असहाय, अपाङ्गता भएका व्यक्तिहरू तथा बालबालिकाको नि:शुल्क उपचार,
६.     प्रत्येक स्थानीय तहमा सुविधा सम्पन्न विशेषज्ञ डाक्टर सहितको अस्पताल सञ्चालन,
७.     मानसिक स्वास्थ्यसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्ने,

नवीनतम घोषणा:

यति वेला सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता सम्मिलित घोषणापत्र सार्वजनिक गरिसकेका छन्l ठूला सपना र आश्वासनले भरिएका घोषणापत्र हेर्दा यो २१ औं शताब्दीको देशको स्वास्थ्य सेवा प्रणाली कस्तो हुने, सन् २०३० सम्म दिगो विकासका लक्ष्य कसरी पूरा गर्ने र स्वास्थ्य सेवामा निर्धारण गरिएका लक्ष्य र उपलब्धिसँग तादात्म्य नभए पनि केही राजनीतिक दलका घोषणापत्रमा केही नयाँपन भएका  विषय भने उल्लेख भएका छन् l

 नेकपा एमालेको घोषणामा समावेश भएका प्रावधान:

सबै नेपालीको स्वास्थ्यसम्बन्धी विद्युतीय अभिलेख राख्ने,
‘भान्सा नै औषधालय हो, भान्सालाई विषमुक्त गरौँ’ भन्ने नाराका साथ अगाडि सारेको विषादीमुक्त खानपिन,​
चिकित्सकीय उपकरण स्वदेशमै उत्पादनको थालनी गरिने,​
गर्भावस्थादेखि वृद्धावस्थासम्मको पौष्टिक आहारको वितरण,
स्वच्छ विचार, सकारात्मक चिन्तन र नियमित व्यायामसम्बन्धी व्यवस्था,
राजमार्गमा ट्रमा सेन्टरको स्थापना,

नेपाली कांग्रेसको घोषणामा समावेश भएका प्रावधान:

नसर्ने रोगबाट हुने मृत्युदर कम गर्ने,
नेपालमा पाइने जडिबुटी तथा औषधिजन्य पदार्थको संरक्षण र सदुपयोग गरी राष्ट्रिय आयुर्वेद अध्ययन प्रतिष्ठान स्थापना,
सरकारले सीधै औषधि उत्पादक कम्पनी वा देशसँग औषधि खरिद गर्ने,
जलवायु परिवर्तन तथा महामारीको सामना गर्न अनुसन्धानमा आधारित आपत्‌कालीन स्वास्थ्य संरचनाको विकास गर्ने,
रोजगार तथा श्रम क्षेत्रमा हुने स्वास्थ्य जोखिम लाई न्यूनीकरण गर्न जनस्वास्थ्य मापदण्डको तर्जुमा,

नेकपा (माओवादी केन्द्र)को घोषणामा समावेश भएका प्रावधान:

महामारी र अन्य स्वास्थ्य प्रकोपलाई वैज्ञानिक ढंगले सामना गर्न अध्ययन, अनुसन्धान, निरोधात्मक र प्रतिरोधात्मक कार्य गर्ने,
पालिकास्तरमा योग, ध्यान र शारीरिक व्यायाम गर्ने परिपाटी विकास गर्ने,
रोग लाग्न नदिने निवारक पद्धति र जनस्वास्थ्य क्षेत्रमा विशेष योजना र कार्यक्रम अघि बढाउने,

नेकपा (एकीकृत समाजवादी) पार्टीको घोषणामा समावेश भएका प्रावधान:

व्यायाम, योग, र मनोरञ्जनलाई जीवनशैलीको अंग बनाउने,
नेपालमा पाइने जडिबुटी तथा औषधिजन्य पदार्थको संवर्द्धन गरी वैकल्पिक उपचार पद्धतिलाई संस्थागत गर्ने,

राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणामा समावेश भएका प्रावधान:

एकल भुक्तानी प्रणालीको विकास गर्ने,
स्वास्थ्य श्रमिक ऐन बनाउने,
आकस्मिक मेडिकल उपचार तथा प्रसव ऐन बनाउने,
स्वास्थ्य आविष्कार तथा विकास बोर्ड स्थापना गर्ने,
संस्थागत निकायहरू (निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक, सञ्चारकर्मीहरू) को अर्धवार्षिक रूपमा मानसिक स्वास्थ्य सम्बन्धी तालिम तथा परामर्श सञ्चालन गर्ने,

राष्ट्रिय प्रजातन्त्र पार्टीको घोषणामा समावेश भएका प्रावधान:

‘वडा स्वास्थ्य केन्द्र’मार्फत वडाका प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने,
स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने,
प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध खोपको व्यवस्था गर्ने,

नेपाल समाजवादी पार्टीको घोषणामा समावेश भएका प्रावधान:

शिशु स्याहार केन्द्रहरूको थप विस्तार गरिने,

जनता समाजवादी पार्टीको घोषणामा समावेश भएका प्रावधान:

मृगौला प्रत्यारोपण नि:शुल्क रूपमा गर्ने व्यवस्था गर्ने,
स्वास्थ्य क्षेत्रमा विद्युतीय प्रविधि प्रयोग गरिने,
नेपालसँग भएका स्वास्थ्य तथा वातावरण सम्बन्धी महासन्धिको प्रभावकारी कार्यान्वयन गर्ने,

घोषणापत्रमा समावेश गर्नुपर्ने तर ध्यान पुग्न नसकेका केही नीतिगत कार्यक्रम:

स्वास्थ्य सेवामा मानव स्रोत, साधनको हुनसक्ने अभाव तथा बौद्धिक जनशक्ति पलायन लाई न्यूनीकरण गर्ने रणनीतिक योजना,
जनस्वास्थ्यका प्रभावकारी नीति बनाई आम मानिसलाई रोग लाग्नबाट बचाउने उपाय अवलम्बन गर्ने योजना,
बढ्दो सडक दुर्घटना (नेपालमा महामारीकै रूपमा रहेको) बाट हुने मृत्यु, अशक्तता, अपाङ्गता न्यूनीकरण गर्ने योजना,
बढ्दो आत्महत्या घटाउन अवलम्बन गर्नुपर्ने नीति तथा योजना,
बढ्दो अव्यवस्थित शहरीकरणका कारण उत्पन्न हुँदै गएको खाद्य असुरक्षालाई व्यवस्थित गर्ने योजना,
नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण गर्न स्वस्थ जीवनका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोगको अवधारणा,
प्राकृतिक विपद्, जलवायु परिवर्तन, तथा विभिन्न महामारीको सामना गर्ने संयन्त्रको परिकल्पना,


हाल करिब ९०% स्वास्थ्य सेवा स्थानीय तह र प्रदेशबाट सञ्चालन हुने भएकाले ती तहसँगको नीतिगत समन्वयको योजना,​
Health Promotion and Palliative care  लाई व्यवस्थित गर्ने योजना,​
निदानात्मक सेवालाई सबै स्वास्थ्य केन्द्रमा विस्तार गरी ठूला अस्पतालमा हुने चापलाई न्यूनीकरण गर्ने योजना,
जडिबुटीको प्रशोधन, आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिलाई व्यवस्थित र अनुसन्धानात्मक बनाई उच्च औषधि आयात कम गर्ने योजना,
नेपालमा स्वास्थ्य सेवामा हुने अनुसन्धानलाई व्यवस्थित र वैज्ञानिकीकरण गर्न सुविधा सम्पन्न अनुसन्धान प्रयोगशाला बनाउने,
निजी क्षेत्रले प्रदान गर्दै आएका सबै खाले स्वास्थ्य सेवाको तथ्यांकलाई सरकारी संयन्त्रभित्र ल्याउने प्रणालीको व्यवस्था गर्ने,

(सेवा हेल्थ असिस्टेन्ट संघ नेपालका उपाध्यक्ष  हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.