|

काठमाडौं : शुक्रबारदेखि दुईवटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। हलिउड सुपर हिरो फिल्म ब्ल्याक प्यान्थरः वकान्डा फरेवर र नेपालमा छायांकन गरिएको बलिउड फिल्म उचाइले एकसाथ प्रदर्शन थालेका हुन्।

रायन कुग्लरको निर्देशनमा बनेको ब्ल्याक प्यान्थरः वकान्डा फरेवर हलमा सर्वाधिक शोका साथ प्रदर्शन भइरहेको छ। मल्टीप्लेक्समा ५० देखि ८० प्रतिशतसम्म शो पाएको फिल्ममा दर्शकको चाप पनि उच्च छ। शुक्रबार बिहानको शोमा दर्शकको उपस्थिति ५० देखि ९० प्रतिशतसम्म रहेको थियो भने दिउँसो र रातिको शोमा पनि दर्शकको उपस्थिति उच्च रहने देखिएको छ।

मार्वल कमिक्समा आधारित रहेर सन् २०१८ मा ब्ल्याक प्यान्थरको पहिलो फिल्म प्रदर्शनमा आएको थियो। उक्त फिल्मका मुख्य कलाकार चाडविक बोसम्यानको दुई वर्षअघि निधन भएको थियो। वकान्डा फरेवरमा लेटिटिया राइट, लुपिता न्योङ्गो, दनाइ गुरिरा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

सुरज वर्ज्यात्याको लेखन तथा निर्देशन रहेको बलिउड फिल्म उचाइले मल्टीप्लेक्समा २० देखि ३५ प्रतिशतसम्म शो पाएको छ। अधिकांश भाग नेपालमा छायांकन भएको फिल्ममा दर्शकको उपस्थिति ३० देखि ८० प्रतिशतसम्म देखिएको छ। 

अमिताभ बच्चन, अनुपम खेर, डेनी डेन्जोङ्पा, वोमन इरानी जस्ता बलिउडका प्रतिष्ठित कलाकारहरूको मुख्य भूमिका रहेको फिल्मको अधिकांश भाग नेपालको हिमाली क्षेत्रमा खिचिएको हो। फिल्ममा केटीको बोलको एउटा गीत पनि समावेश गरिएको छ जसमा मुख्य कलाकारले नेपाली ढाका टोपी पनि लगाएका छन्। 

यी बाहेक दुई हप्ताअघि भारतमा प्रदर्शन भएको बलिउड फिल्म रामसेतु पनि शुक्रबारदेखि नेपालका केही हलमा प्रदर्शन थालेको छ। मल्टीप्लेक्समा कम शो पाएको फिल्ममा दर्शकको उपस्थिति पनि न्यून देखिएको छ। 

त्यस्तै नेपाली फिल्म महापुरुषले शुक्रबारदेखि दुई हप्ता पार गरेर तेस्रो हप्तामा प्रवेश गरेको छ। प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्मले हलमा दुई हप्ता सफलताका साथ पार गरेको हो। फिल्मले दुई हप्तामा ७ करोडभन्दा बढी कमाइ गरिसकेको छ। हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रवीन्द्रसिंह बानिया, अरुण क्षेत्री, अञ्जना बराइली लगायतका कलाकारको मुख्य भूमिका रहेको फिल्म निर्देशक भट्टराईका लगातार चौथो सफल फिल्म हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.