|

म्याग्दी : मंसिर ४ अर्थात्  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब केबल ९ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनाव प्रचारप्रसार अभियान तीव्र बनेको छ। गाउँगाउँमा आयोजित चुनाव सभाहरू संगीतमय बन्दै गएका छन् भने उम्मेदवार र राजनीतिक दलका नेताहरूले राष्ट्रिय एजेण्डा भन्दा स्थानीय एजेण्डालाई चुनावी मुद्दा बनाएका छन्।

गाउँ गाउँमा आयोजित आमसभामा उल्लेखनीय जनसहभागिता नभएपछि राजनीतिक दलले सांगीतिक कार्यक्रमहरूमार्फत माहोल बनाउने र मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका छन्।

मतदानमा सहभागी हुने दिन नजिकिँदै जाँदा वडास्तरमा भइरहेका सभाहरूमा उम्मेदवारले मतदातालाई गीतसंगीतबाटै विश्वासमा लिने प्रयास गरिरहेका छन्। कलकारहरूको टोलीसहित उम्मेदवारहरू वडामा पुग्न थालेपछि चुनाी  माहोल पनि तात्दै गएको छ।

शहर–बजारदेखि ग्रामीण क्षेत्रसम्म निर्वाचनको रौनक छाएको छ। चुनावी आमसभामा मतदातालाई आकर्षित गर्न दलहरूले कलाकारहरूको टोली नै बोकेर हिँडेका छन्। आफ्नो पार्टीमा आस्थावान् कलाकारहरू बोकेर चुनावी सभामा पुगेपछि मतदाताको जमघटसमेत बढेको छ। आफ्नो पार्टीको गीतमा नृत्य प्रस्तुत गर्ने कलाकारहरूले गाउँ ठाउँको विकासमा केन्द्रित हुन पार्टीलाई भोट हाल्नसमेत आव्हान गर्ने गरेका छन्।

नेकपा एमाले र पाँच दलीय गठबन्धनले गीतसंगीतसँगै चुनावी अभिनयलाई प्राथमिकता दिएको छ। भाषणले मात्रै मतदातालाई आकर्षित गर्न नसकेपछि दलहरूले सांगीतिक कार्यक्रममार्फत् चुनावी सभाको माहोल बनाएको एक नेताको भनाई छ। प्रमुख राजनीतिक दलसम्बद्ध सांस्कृतिक संगठन गीत–संगीतका माध्यमबाट स्थानीय निर्वाचनको पक्षमा वातावरण बनाउन थालेपछि उम्मेदवारसमेत उत्साहित भएका छन्।

गठबन्धनले स्थानीय कलाकारलाई पारिश्रमिकसमेत दिएर चुनावी अभियानमा सहभागी बनाइरहेको जनाएको छ भने नेकपा एमालेले चुनावी खर्चमै समेटेको छ। त्यस्तै नेशनल मंगोल अर्गनाइजेसनले समेत नृत्यसहितको चुनावी अभियानलाई प्राथमिकता दिएको छ। चुनावी अभियानमा पार्टीका गतिविधि सहित अन्य जानकारी समेत नृत्य र संगीतबाट दिन सकिने भएकाले समेत पार्टीहरूले कलाकारहरूलाई सँग सँगै लैजाने गरेका छन्।

नाटक र अन्य अभिनयबाट अन्य दललाई आरोप लगाउन नपाइने भएकाले अनुगमनसमेत गरिने निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ ले ‘कसैको चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा त्यस्ता सामग्री कुनै माध्यमबाट प्रकाशन वा प्रसारण गर्न÷नगराउन नहुने’ व्यवस्था गरेको छ।

स्थानीय एजेण्डामा केन्द्रित उम्मेदवार

५ वर्षका लागि जनताले आफ्ना प्रतिनिधि छानेर प्रदेश र संघीय संसद्‍मा पठाउने भएकाले पनि प्रतिनिधि र प्रदेश सभा निर्वाचनको  महत्व बढी हुन्छ। संघीयता लागू भएसँगै संघ, प्रदेश र स्थानीय सरकारका क्षेत्र, काम, कर्तव्य र अधिकार तोकिएको छ। तर, निर्वाचन जितेपछि सांसद बनेर देशको सुशासन र विकास निर्माणको गतिलाई उचाइमा पुर्याउनुपर्ने  उम्मेदवारहरूले उठाएका एजेन्डा भने स्थानीय निर्वाचनका लागि वडाअध्यक्षले उठाउने एजेण्डाजस्ता देखिएका छन्।

विशेषगरी संघीय कानुन बनाउने, सरकारलाई सचेत र जिम्मेदवार बनाउने तथा केन्द्रीय बजेट निर्माण र संसदीय सुनुवाइलगायतमा सहभागी हुने काम प्रतिनिधिसभा सदस्यको भए पनि उम्मेदवारहरूले ग्रामीण सडक,आमा समूह र युवा क्लव, पर्यटन, शिक्षा, पदमार्ग,विद्युत सेवा विस्तार, सडक स्तरोन्नति ,स्वास्थ्यलगायत क्षेत्रका काम गर्ने भन्दै चुनावी सभाहरूमा भाषण गर्नुका साथै घरदैलोमा पुगेर मतदाताहरूसँग भोट मागिरहेका स्थानीय मतदाता रमेश पौडेलले बताए।

प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्ररहेको म्याग्दीमा प्रतिनिधि सभातर्फ नेकपा एमालेको तर्फबाट हरिकृष्ण श्रेष्ठ र पाँच दलीय गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका खमबहादुर गर्बुजा चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिनिधीसभामा एक र प्रदेशसभामा दुई क्षेत्र रहेको म्याग्दीमा तीन पदका लागि १९ जना चुनावी मैदानमा छन्। प्रतिनिधिसभामा ३ जना स्वतन्त्र सहित ९ जना, प्रदेशसभा क्षेत्र (क) र (ख) मा पाँच÷पाँच जना उम्मेद्वार छन्। ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ८२ वटा मतदान स्थल र ११९ वटा मतदान केन्द्र छन्। बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकालाई समेटेको ४९ मतदान स्थलमा ६८ वटा केन्द्र रहेको प्रदेशसभा क्षेत्र (क) मा ४८ हजार ४७२, मंगला, मालिका र धवलागिरी गाउँपालिका समावेश ३३ स्थलमा ५१ केन्द्र रहेको प्रदेशसभा क्षेत्र (ख) मा ३७ हजार ६४८ गरी जिल्लाभरी जम्मा ८६ हजार १२० जना मतदाता छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.