|

काठमाडौं : फिल्म सेन्सर बोर्डका सदस्यले फिल्म सेन्सर गर्दा आफ्ना परिवार र आफन्तसँगै बसेर फिल्म हेर्ने गरेको समाचार बाहिरिएपछि कलाकार तथा निर्देशक निश्चल बस्नेतले बोर्डलाई व्यंग्य गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले व्यंग्य गरेका हुन्।

फेसबुकमा स्टाटस लेख्दै निश्चलले दश वर्षअघि आफ्नो फिल्म ‘लुट’ सेन्सर गर्दाको समय सम्झाउँदै बोर्डलाई मन्त्रालयले कस्तो कारबाही गर्छ भनेर हेर्न इच्छुक रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘सन् २०१२ मा ‘लुट’ सेन्सर हुँदा सपरिवार बच्चाबच्ची सँगै राखेर पदाघिकारीहरूले सेन्सर गर्नु भएको थियो। अनि मलाई भाषण दिनुभएको थियो। सन् २०२२ मा पनि ‘उचाइ’ सेन्सर गर्न सपरिवार नै बस्नु भएछ। नियम जाओस् टुकुचामा। अब हेर्नुछ मलाई को कस्को जागीर जान्छ? कि स्पष्टीकरण मागेर छोडिनेछ।’

साथै आफूलाई सञ्चार मन्त्रालयमा बसेको बैठकमा भएको निर्णय पनि सम्झना आइरहेको उनले बताएका छन्। 

जुन जोगी आए पनि कानै चिरेको भन्दै निश्चलले लेखेका छन्, ‘सञ्चार मन्त्रालयले आफ्ना पदाधिकारी, सेन्सर बोर्ड र चलचित्र विकास बोर्डलाई कडा कारबाही गर्छ कि गर्दैन?’

बलिउड फिल्म ‘उचाइ’को सेन्सर गर्न सेन्सर बोर्डका सदस्यहरू परिवार र आफन्तसहित फिल्म हेरेको समाचार एक टेलिभिजनले सार्वजनिक गरेपछि सेन्सर बोर्डसहित चलचित्र विकास बोर्ड पनि विवादमा मुछिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.