|

सुर्खेत : डोल्पामा यतिवेला चुनावी रौनक छाएको छ। मंसिर ४ नजिकिँदै गर्दा उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन्। हिउँदको  चिसो दिनप्रतिदिन उकालो लाग्दै गर्दा उम्मेदवारहरूलाई आ–आफ्नो पक्षमा मतमाग्न भ्याइनभ्याई छ।

पुरानै एजेन्डासहित गाउँबस्तीमा पुगेका राजनीतिक दलका उम्मेदवारलाई जनताले फूलमाला, खादा र अबिरले रंग्याएका छन्। भव्य स्वागत गरेको देख्दा लाग्छ यो चुनाव प्रचारप्रचार नभई विजयी र्‍याली हो। डोल्पामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन्।

प्रतिनिधिसभाका लागि पाँचजना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ। जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अंगतकुमार बुढा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीबाट धनबहादुर बुढा, नेपाल कम्युनिस्ट पार्टी एमालेबाट गणेशबहादुर शाही, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी पुष्पलालबाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय चुनावी मैदानमा छन्।

डोल्पामा तीनदलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका नेता बुढा तेस्रो जितका लागि चुनावी मैदानमा उत्रिएका छन्। उनलाई डोल्पामा नेकपा एमालेपछि दोस्रो शक्तिमा रहेको कांग्रेस र तेस्रो शक्तिको रूपमा रहेको माओवादी केन्द्रको समर्थन छ।

यसकारण पनि बुढालाई आसन्न निर्वाचनका लागि बलियो उम्मेदवार मानिन्छ। बुढा यसअघि ०७० र  ०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका थिए। उनले ०७४ मा ११ हजार सात सय ६१ मत ल्याएर विजयी भएका थिए। उनका प्रतिद्वन्द्वी कांग्रेसबाट उम्मेदवार बनेका अंगतकुमार बुढाले तीन हजार एक सय ६७ मत मात्र ल्याएका थिए भने कम्युनिस्ट पार्टी मार्क्सवादी पुष्पलालबाट हर्कबहादुर ठकुल्लाले दुई सय ९९ मत ल्याएका थिए।

बुढाको पूर्ववत राजनीति राप्रपाबाट सुरु भएको हो। त्यसपछि नेकपा एमाले हुँदै अहिले एकीकृत समाजवादीमा छन्। उनलाई डोल्पाको राजनीतिमा चतुर खेलाडीको रूपमा चिनिन्छ। केपी ओली प्रधानमन्त्री हुँदा पर्यटन राज्यमन्त्रीसमेत भइसकेका बुढालाई नेकपा एमालेकै नेता–कार्यकर्ताको समर्थन रहेको नेकपा एकीकृत समाजवादीका युवा नेता युवराज थकालीले बताए।

सरल स्वभाव सहयोगी भावना भएकै कारण डोल्पामा लोकप्रिय नेताको छवि बनाएको उनको भनाइ छ। डोल्पामा कुल २२ हजार सात सय ७४ जना मतदाता रहेका छन्।

आफूलाई नेकपा एमालेबाटै टिकट लिएर लड्न अफरसमेत आएको बुढाले बताए। गठबन्धनबाट चुनाव लडेमा जित्न सजिलो हुने भएकाले आफू साझा उम्मेदवार बनेको उनको भनाइ छ।

जिल्लामा सैद्धान्तिक हिसाबमा अन्य पार्टीभन्दा बलियो रहेको एमालेबाट गणेशबहादुर शाही चुनावी मैदानमा छन्। शाही ठूलीभेरी नगरपालिकामा एमालेबाट निर्वाचित पूर्वनगरप्रमुखसमेत हुन्। एकीकृत समाजवादी त्यागेर पुनः एमालेमै फर्किएका शाहीलाई प्रवेश गर्नेबित्तिकै एमालले प्रतिनिधिसभाको टिकट दिएको थियो।

धनबहादुर बुढाले फ्लोर क्रस गरेर गठबन्धनलाई सघाएको भन्दै उनका विरुद्ध लड्न एमाले रोजेका उम्मेदवार हुन् शाही। जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा प्रमुख उपप्रमुखसहित एमालेले जितेको छ। उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकामा प्रमुख एमालले जितेको छ। उपल्लो डोल्पाका आठमध्ये पाँचवटा स्थानीय तहमा एमालेको सैद्धान्तिक हिसाबले बलियो भएकै कारण बुढाको पुरानो विरासत भत्काउने दाउमा छन् शाही।

भेगीय राजनीतिलाई मूल एजेन्डा बनाएको एमालेले मध्य र तल्लो डोल्पाका कतिपय जनताको समर्थनसमेत पाएको छ। डोल्पाको राजनीतिक नेतृत्व पञ्चायतदेखि नै प्रायः काइके गाउँपालिकाले गरिरहेको भन्दै अब राजनीति तल्लो भेगमा ल्याउनुपर्ने एमालेका नेता–कार्यकर्ताको अठोट छ।

बुढाको दुई कार्यकालको स्वाद जनताले चाखिसकेकाले अबको नेतृत्व एमालले गर्ने शाहीको दाबी छ। अहिले एमालेको पक्षमा आम डोल्पाली जनता भएको उनको भनाइ छ। आफूले चुनाव जितेमा शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, सञ्चारलगायत आधारभूत कुरामा ध्यान दिने उनको भनाइ  छ।

यता राप्रपाबाट अंगतकुमार बुढा पनि चुनावी मैदानमा छन्। डोल्पाली युवापंक्तिमा असल नेताको छवि बनाएका बुढाको पनि पूर्ववत् राजनीति राप्रपा नै हो। अहिलेसम्म बुढाले चारवटा पार्टी बदलिसकेका छन्। सुरुमा राप्रपा, त्यसपछि एमाले प्रवेश गरे। पछि कांग्रेस प्रवेश गरे।

त्यसपछि पुनः राप्रपातिरै लागे। बुढा राप्रपाका केन्द्रीय सदस्य पनि हुन्। जिल्लामा भष्टाचारविरुद्धका अभियान्ता र जनताको हरेक समस्यालाई एजेन्डा बनाएर आवाज उठाउने नेताको रूपमा समेत उनी चिनिन्छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.