|

काठमाडाैं : संगीतले सबैखाले मनःस्थितिलाई सिर्जनाबाट अभिव्यक्त गर्छ। उन्मुक्त भई मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरूले धेरै गीत दिएका छन्।

नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा पहिलोपटक बनाएको गीत सार्वजनिक गरेको छ। आफ्नाे एघाराैँ एल्बमकाे पहिलाे गीतकाे रुपमा ‘भटभटे’ सार्वजनिक गरेकाे हाे।

धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतिसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि शुरुवात भएको छ। अर्थात्, अब तीन दशक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरूमाझ एघारौं एल्बमको कोसेली प्रारम्भ गर्दैछ।

६ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरू सार्वजनिक गर्ने क्रम थालेको थियो। तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक गर्‍याे। दसौं एल्बमका सबै गीतहरू ६ वर्षअघि नै रेकर्ड भए तापनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो।

६ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको ‘भटभटे’ भने एघारौं एल्बमको पहिलो गीत बन्न पुगेको छ। यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरू रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ। अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहनेछन्। यस गीतको एउटा अन्तराले भन्छ–

‘कुँजिएका स्वरहरू एकत्रित भइजाऊ
मनदेखि मनसम्म
सडकदेखि सदनसम्म
एकत्रित भइजाऊ है भइजाऊ’

राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सही दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो यो शब्दले औंल्याएको छ।

यस सिर्जनामा गीत र कवितालाई एकआपसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन्। ‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दै आएको हुँ,’ अमृत भन्छन्, ‘यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु।’

‘लेख्दै जाँदा यसमा हालको राजनीति, देश र कालप्रतिको जन असन्तुष्टि पनि झल्कन पुग्यो,’ उनी रचनागर्भबारे भन्छन्, ‘नेपालका सदन र सडक दुवै भद्रगोल हुँदै गइरहेको वेला मैले सडकको आवाजमार्फत् परिस्थिति वर्णन गरेको हुँ।’ यसमा अलिकता हल्ला र अलिकता विद्रोहको झलक पनि आएको उनले स्पष्ट पारे। 

अमृत कुनै समय स्वयं मोटरसाइकल हाँक्थे। त्यति वेला उनलाई एकप्रकारको उन्मुक्ति महसुस हुन्थ्यो। खुला आकाश र खुला धर्तीको बीचमै रहेर तीव्र गतिमा अघि बढ्नुले प्रदान गर्ने सन्तुष्टी थियो त्यो।

यदाकदा त्यसले अराजकतातर्फ पनि लैजान्छ। मोटरसाइकल हाँक्दाको उन्मुक्ति चाहिँ यसै गीतमा प्रतिविम्बित हुन पुगेको उनी बताउँछन्। सडकमा गुड्ने मोटरसाइकलहरूले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदीक्षा भने यी दुवै भद्रगोल नभई अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ।

यो गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधाअन्तर्गत पर्छ। गीतसँगै शब्दहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।

भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं शहर घुम्नेहरूको दृश्य देख्न सकिन्छ। भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लश्कर पनि उपस्थित हुन्छ। कतै ढल्केर हाँकिएको छ, कतै मच्चिएर हाँकिएको छ।

यो लश्कर गीतसँगै काठमाडौंका धेरै परिचित स्थलहरूबाट गुज्रेपछि अन्तिममा विमानस्थल पुग्छ। गीतको भावअनुसारै यसमा विभिन्न ‘इफेक्ट’ प्रयोग गरिएको छ।

७ मिनेट १५ सेकेण्ड लामो यो म्युजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन्। क्यामरामा उनलाई मनीष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन्।

यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिश गरिएको छ। म्युजिक भिडियोको निर्माण नेपालयले गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.