काठमाडौं : राजेश पुलामीले सम्हालिएको ब्याटिङ गरेपछि त्रिभुवन आर्मी क्लब नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पुलिसले दिएको ३ सय ५ रनको लक्ष्य आर्मीले १ बल बाँकी रहँदा ८ विकेट गुमाएर पूरा गर्दै अर्को विभागीय टोली एपिएफसँगको भेट पक्का गरेको हो।
आर्मीका लागि सम्हालिएको इनिङ खेलेका राजेशले ३७ बलमा ३ चौका र २ छक्काको मद्दतमा अविजित ४३ रन जोडे। रोहितकुमार पौडेलले ८७ बलमा ९ चौकाको मद्दतमा ८९ रन जोड्दा ओपनर हरि चौहानले ९२ बलमा ८ चौका र १ छक्काको मद्दतमा ७५ रन जोडेका थिए। कप्तान विनोद भण्डारीले ३२ रन बनाउँदा विक्रम सोबले ३० तथा ओपनर अर्जुन साउदले ११ रनको व्यक्तिगत स्कोर बनाएका थिए।
बलिङतर्फ पुलिसका करण केसी एक्लैले ६ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। राशिद खान र ललित राजवंशीले १/१ विकेट आफ्नो नाममा लेखाए।
यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले पूरा ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रनको योगफल तयार पारेको थियो। ३ विकेट गुमाएर ६७ रनको खराब स्थितिमा रहेको पुलिसका लागि कप्तान दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले चौथो विकेटका लागि २ सय ४ रनको साझेदारी गरेसँगै पुलिसलाई सम्मानजनक स्कोरमा पुर्याएका थिए।
विस्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १ सय २५ बलमा ११ चौका र ५ छक्काको मद्दतमा १ सय ४० रन जोडे। आरिफले १ सय ९ बलमा ८ चौका र २ छक्का मद्दतमा अविजित ९१ रन जोडेका थिए। बलिङतर्फ आर्मीका तीव्र गतिका बलर विक्रम सोबले ३ विकेट लिए भने सुशन भारीको नाममा १ विकेट रह्यो।
यससँगै साविक विजेता आर्मीले एपिएफसँगको भेट पक्का गरेको छ। एपिएफले यसअघि भएको पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।
उपाधिका लागि शनिबार आर्मी र एपिएफ मैदानमा उत्रनेछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।