|

नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मकवानपुर क्षेत्र नम्बर–२ (ख) बाट चुनावी मैदानमा छन्। गृह राज्यमन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनिसकेका बानियाँ यसअघि ०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

पाँचवर्षे कार्यकालमा उनले साढे ३ वर्ष प्रमुख प्रतिपक्षीको रूपमा भूमिका निर्वाह गरे। सहमति कार्यान्वयन भएको भए यति वेला बागमती प्रदेश सरकारको नेतृत्व बानियाँले गरिरहेका हुन्थे तर लिखित रूपमा भएको सहमति पाँचदलीय सत्ता गठबन्धनले नै कार्यान्वयन नगरेपछि प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेश सरकारको नेतृत्व गर्न बानियाँले पाएनन्।

प्रदेशसभाको पहिलो कार्यकालमा मुख्यमन्त्री बन्ने अवसरबाट वञ्चित भएका बानियाँ दोस्रो इनिङमा उक्त अवसर पाउनका लागि यति वेला चुनावी मैदानमा छन्। यो निर्वाचनमा उनी निर्वाचित भए र काँग्रेसको नेतृत्वमा प्रदेश सरकार बनेको खण्डमा उनी काँग्रेसबाट बागमती प्रदेशको मुख्यमन्त्री बन्ने निश्चित छ। प्रस्तुत छ, यिनै सेरोफेरो केन्द्रित रहेर इन्द्रबहादुर बानियाँसँग थाहाकर्मी श्रीजना नेपालले गरेको कुराकानी :

दोस्रोपटक एकै क्षेत्रबाट चुनावी मैदानमा हुनुहुन्छ। मतदाताको उत्साह कस्तो पाउनु भएको छ ?

व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन कहिले हुन्छ भन्ने जिज्ञासा मतदाताको छ। त्यसैले जनतामा त्यति धेरै उत्साह देखिएको छैन। जनतामा आशा र भरोसा जगाउन हामीले धेरै काम गर्नुपर्नेछ। मतदातामा अहिले फेरि एकपटक संघीयताको पक्षमा, गणतन्त्रको समावेशीताको पक्षमा मत हाल्छौँ भन्ने छ तर हाम्रो अवस्था कहिले परिवर्तन हुन्छ भन्ने चाहिँ जनताको जिज्ञासा रहेको छ। त्यस कारण त्यो जिज्ञासा मेटाउने काम हाम्रो हो। जनताले दिएको मतले दृढता र संकल्पसहित अब हामी अगाडि बढ्छौँ।

तपाईंले अघिल्लो पटक यही क्षेत्रबाट निर्वाचित भएपछि के के काम गर्नुभयो ?

मैले निर्वाचित भएको पाँच वर्षमा ४ वर्ष संसद्‌मा प्रतिपक्षले जे भूमिका खेल्नुपर्ने हो, त्यो इमान्दारीपूर्वक निर्वाह गरे। संघ र प्रदेशबीच बनाउनुपर्ने नियम, कानून, विधेयकहरू, प्रदेश र स्थानीय तहबीचको र प्रदेशको अधिकारका लागि विभिन्न विधेयक बनाउन प्रतिपक्षको रूपमा अनवरत रूपमा आफ्नो जिम्मेवारीको काम गरे।

जनताको विकास निर्माणको कुरामा पनि सुखदुःखमा, अप्ठेरो पर्दाखेरी निरन्तर व्यक्तिगत रूपमा होस् या संस्थागत रूपमा साथ दिँदै आएको छु। पछिल्लो समय गठबन्धनको सरकारमा आफ्नो पार्टीका मन्त्रीहरू पठाएपछि आफ्नो निर्वाचन क्षेत्रमा मैले आफूले सकेको अधिकतम गाउँमुखी बजेट लैजान सकेको छु।

सबैभन्दा विकट राक्सिराङ र कैलास गाउँपालिकाजस्तो ठाउँमा सबैभन्दा विकास भनेको सडक, खानेपानी, स्वास्थ्यको क्षेत्रमा सँगै पुल निर्माण गर्ने काम पनि मैले गरेको छु। एउटा गाउँलाई अर्को गाउँसँग जोड्ने पुलदेखि परेवाभीरमा बाटो बनाउनेजस्तो काम पनि मैले गरेको छु।

प्रदेश संरचनाको पहिलो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

कार्यकाल त मेरो साढे ३ वर्ष प्रमुख प्रतिपक्षीको भूमिकामा नै गयो। यसबीच सरकारले जनताप्रति जुन किसिमको जिम्मेवारी पूरा गर्नुपर्थ्यो, त्यो पूरा भएन। एमालेको नेतृत्वमा रहेको सरकारले कुरा धेरै गयो तर जनताको कामको मेसो नमिलाउने, कुरा एकातिर काम अर्कोतिर गर्ने गरेको हुनाले जनता संघीय व्यवस्थातिरै निराश देखिएको हो कि जस्तो छ। त्यो निराशा फैलाउने काम चाहिँ केपी शर्मा ओलीबाट भयो।

उहाँको पार्टीले देशको सबै प्रदेशमा सरकारको नेतृत्व गर्दा संघीयताको प्रदेशलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने काम भयो। प्रदेशलाई केन्द्र सरकारले अधिकार पनि दिएन। न प्रदेशले आफ्नो अधिकारका लागि लडाइँ लड्यो। त्यसकारण एमालेको कार्यकालमा प्रदेशको अवस्था आफ्नो अधिकार प्रयोग गर्न नसकेको देखियो। त्यसैले प्रदेशलाई बलियो बनाउन मैले उम्मेदवारी दिएको हो। प्रदेश भनेको पहिचान हो। यो व्यवस्थालाई बलियो बनाउनुपर्छ।

नेता भनेपछि निर्वाचनमा मात्र जनता सम्झने अन्य समयमा जनताले नेता भेट्दैनन् भन्ने गुनासो छ नि ?

अरू नेताबारे मलाई थाहा छैन तर म मेरो निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधानका लागि सहयात्रा गरिरहेको छु। म मेरो भूगोलसँग सधैँ जोडिएको छु महामारीका रूपमा फैलिएको कोरोना महामारीमा निर्वाचन क्षेत्र र बागमती प्रदेशका जनतामाझ खाद्यान्न लिएर पुगेको छु।

जाडोमा विपन्न चेपाङ, तामाङ समुदाय र विद्यार्थीलाई न्यानो कपडा लिएर पुगेको छु। जनताको विकासमा म सधैँ जोडिएको छु। त्यसैले मेरा मतदाता एवम् शुभचिन्तक शुभेच्छुकले मलाई सधैँ आफूसँगै पाएकाले नै मैले उम्मेदवारी दिएदेखि यस क्षेत्रका जनता हाम्रो विश्वास र भरोसाका मान्छे हाम्रा उम्मेदवारका रूपमा पाएका छौँ भनेर उत्साहित पाएको छु।

जनताले तपाईंलाई नै मतदान गर्नुपर्ने कारण के हो ?

म समाजसेवाको उद्देश्यले राजनीतिमा आएको हुँ। जीवनयापनका लागि मेरो पेशा व्यवसाय छ, म राजनीतिलाई पेशा बनाउने कुराको विरोधी हुँ। म सधैँ जनताको व्यक्तिगत सुखदुःख, सामाजिक हित र भूगोलको विकासमा जोडिएको छु।

मैले आफ्नो निर्वाचन क्षेत्रको सडक, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारीका लागि राज्यस्तरमा पहल गरेर धेरै काम गरेको छु। राज्यस्तरबाट हुन नसकेका कतिपय काम मले आफ्नो व्यक्तिगत सहयोगबाटै पूरा गरिरहेको छु। यसबारे मेरो निर्वाचन क्षेत्र मात्र नभई प्रदेशका जनतालाई नै अवगत छ। म विकास र जनताको जीवनस्तर सुधारका लागि वागमती प्रदेशका सबै जिल्लामा पुगेर समस्या समाधानमा जुटेको छु।

जनताका व्यक्तिगत समस्यादेखि विकासका काममा समेत प्रत्यक्ष जोडिएर काम गरिरहेकाले पनि मतदाता मलाई मतदान गर्न आतुर हुनुहुन्छ। म पुनः अर्को कार्यकाल आफ्ना मतदाताको सेवाका लागि दृढ संकल्पित भएर अघि बढेको छु।

तपाईंको विपक्षमा उम्मेदवारी दिएकाहरू र असन्तुष्ट पक्षहरू पनि विस्तारै तपाईंको समर्थनमा आइरहेका छन्। यो कसरी सम्भव भयो ?

मैले उहाँहरूलाई गणतन्त्र संस्थागत गर्न र संघीयतालाई बलियो बनाउन संघीयता जोगाउन र मास्न खोज्नेबीचको निर्वाचनमा सहयोग गर्न अपील गरेँ। मेरा विरुद्ध स्वतन्त्र रूपमा उम्मेदवारी दिएका माओवादीका खुशीलाल चेपाङलाई मैले म चेपाङलाई मन्त्री बनाउने मान्छे हुँ, तपाईं पहिचानको लागि हिँड्ने व्यक्ति यस्तो नगर्नुस् भनेपछि उहाँले मेरो आग्रह स्विकार्नु भयो।

अरूले पनि उहाँहरूको उम्मेदवारीले गणतन्त्र मास्नेहरूलाई मद्दत पुग्ने हो कि भनेर उम्मेदवारी निष्क्रिय पारेर मलाई सहयोग गर्नुभयो। जनताका लागि जनताले गर्ने व्यवस्थालाई बलियो बनाउनुपर्छ भनेर अहिले हामी सबै सँगै हिँडिरहेका छौँ।

तपाईंलाई बागमती प्रदेशका आगामी मुख्यमन्त्रीका रूपमा पनि मतदातामाझ चर्चा पाइएको छ नि?

मतदाताले मलाई उहाँहरूको मुख्यमन्त्रीको भूमिकामा काम गरेको देख्न चाहनुलाई सकारात्मक रूपमा लिएको छु। म पदभन्दा पनि कर्ममा विश्वास गर्ने व्यक्ति हुँ। जनतालाई सर्वोपरी मानेर काम गर्दै जाने हो, पदमा हुँदा वा नहुँदा दुवै समय मैले निरन्तर जनताको हितमा काम गरेको छु। २०७० सालमा मकवानपुर क्षेत्र नम्बर–१ का मतदाताले निर्वाचित गरेर जिम्मेवारी दिएदेखि नै त्यस अघिझैँ म निरन्तर कर्ममा अघि बढेको छु।

यस अवधिमा मैले संविधानसभा सदस्य, गृह राज्यमन्त्री, सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र बागमती प्रदेश संसदीय दलका नेताको जिम्मेवारी कुशलतापूर्वक सम्हालिसकेको छु। वागमती प्रदेशको प्रमुख प्रतिपक्ष दलको नेताको जिम्मेवारीलाई संसदीय मर्यादाभित्र रहेर सशक्त ढंगले पूरा गरेको छु। पछिल्लो पटक गठबन्धन दलको प्रदेश सरकार निर्माण भएपछि सत्तासाझेदार नेपाली काँग्रेस संसदीय दलका नेताका रूपमा सरकारमार्फत जनताको विकासको भोक मेट्न काम गरेको छु।

व्यक्तिगत रूपमै जनताको शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासलगायत क्षेत्रमा काम गरेको जस्ता कारण पनि मतदातामा मप्रति विश्वास र भरोसा छ। म पार्टीको इमान्दार कार्यकर्ता भएका कारण पार्टीले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्न प्रतिबद्ध हुनेछु। मुख्यमन्त्रीको जिम्मेवारी पाउँदा प्रदेशको विकासलाई नयाँ उचाइमा पुर्‍याउन काम गर्नेछु।

तपाईं बागमती प्रदेशका सभापति हुनुहुन्छ। गठबन्धन गरेर नेपाली काँग्रेस चुनावी मैदानमा छ। आगामी निर्वाचनबाट प्रदेशमा काँग्रेसको अवस्था कस्तो हुने अपेक्षा गर्नु भएको छ ?

काँग्रेस ठूलो पार्टी हुन्छ। बहुमतको नजिक नजिक पुग्छ। प्रदेशभरी ६६ वटा निर्वाचन क्षेत्रमध्ये ४१ वटामा काँग्रेसले उम्मेदवारी दिएको छ। १८ वटामा माओवादी र ७ वटामा समाजवादी छ। गठबन्धनबाट कम्तीमा हामी ४६ को हाराहारीमा पुग्छौँ भन्ने मैले व्यक्तिगत रूपमा अपेक्षा गरेको छु। निर्वाचनपछि हामी सरकार बनाउने कुरामा निश्चित छौँ।

गठबन्धन संविधानरक्षा र व्यवस्थाको सुदृढीकरणका लागि भएको विषय सबैलाई जानकारी छ। म गठबन्धनको साझेदार दल नेपाली काँग्रेस बागमती प्रदेशको सभापति भएकाले मैले नेपाली काँग्रेसका साथै गठबन्धनमा रहेका दलका उम्मेदवारहरूको विजयलाई सुनिश्चित गर्ने अभिभारा बोकेको छु।

यसअनुसार प्रदेश कार्यसमितिले बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा व्यवस्थित ढंगले निर्वाचन अभियान अघि बढाउने काम गरेको छ। म विश्वस्त छु, हाम्रो गठबन्धनले हामीले राखेको लक्ष्य पूरा गर्दै छ। निर्वाचनपछि बागमती प्रदेश हाम्रो गठबन्धनमय हुनेछ

 गठबन्धनको सफलतामा नेपाली काँग्रेसको पनि सफलता जोडिएको छ। नेपाली काँग्रेसप्रति मतदाताको विश्वास अत्यधिक रहेकाले वागमती प्रदेशमा काँग्रेसले उत्साहजनक सफलता हासिल गर्नेछ। मतदातामा नेपाली काँग्रेसको पूर्णविश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.