|

काठमाडौं : भारतकी प्रसिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाली रंगकर्मी तथा कलाकारसँग अनुभव साट्न नेपाल आउने भएकी छिन्।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिका रूपमा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन्। 

महोत्सवका लागि मंसिर ९ गते हुने उद्घाटन समारोहमा उपस्थित हुने अभिनेत्री आजमीले १० गते रंगमञ्च र अभिनयबारे ‘मास्टर क्लास’ पनि सञ्चालन गर्ने आयोजक मण्डला थिएटरले जानकारी दिएको छ। 

मास्टरक्लास महोत्सवको दोस्रो दिन १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ। साथै अभिनेत्री आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकका तर्फबाट पुरस्कृत पनि गर्नेछिन्। 

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछ। महोत्सवमा नेपाल, भारत, भुटान, श्रीलंका रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटक समावेश हुनेछन्।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.