|

काठमाडौं : देशभर चुनावी माहोल तीव्र बन्दै गएका बेला काठमाडौं–४ मा पनि प्रतिनिधिसभाको निर्वाचन रोचक बन्दै छ।

यहाँ २०७४ सालको निर्वाचनमा प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका गगनकुमार थापा र नेकपा एमालेका राजन भट्टराईबीच मुख्य प्रतिस्पर्धा हुँदै छ। अघिल्लो निर्वाचनमा एक्लै चुनाव लडेको नेपाली कांग्रेसका उम्मेदवार थापा विजयी भएका थिए। उनी २१ हजार ५५८ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी भट्टराई १८ हजार १४० मत ल्याएर पराजित हुन पुगे।

वाम गठबन्धनको सहयोग पाएर पनि निर्वाचनमा हार ब्यहोरेका भट्टराई यसपटक एक्लै चुनावी मैदानमा छन्। उनीहरू आ–आफ्ना चुनावी एजेन्डा बोकेर मैदानमा छन्।

१२ वडा रहेको काठमाडौं– ४ मा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ९ वडा जितेको छ। यस्तै, नेपाली कांग्रैसले तीन वटा वडा जितेको छ।

सो क्षेत्रमा एमालेले काठमाडौं महानगरपालिकाको १ र बूढानीलकण्ठ नगरपालिकाका आठ वडा क्रमशः १,२,८,९,१०,११,१२ र १३ मा जित हासिल गरेको थियो। कांग्रेसले काठमाडौं महानगरका ७, ८ र ३० वडामा जित हासिल गरेको छ।

स्थानीय तहको निर्वाचनमा १२ वडामा एमालेका वडाध्यक्षले १६ हजार पाँच सय सात मत प्राप्त गरेका थिए।

यस्तै, नेपाली कांग्रेसका वडाध्यक्षले १५ हजार सात सय ६३ मत प्राप्त गरेका थिए। त्यस्तै, एकीकृत समाजवादीका वडाध्यक्षले दुई हजार चार सय १४ र माओवादी केन्द्रले आठ सय २८ मत प्राप्त गरेका थिए। वडाध्यक्षले पाएको मतका आधारमा सत्ता गठबन्धन एमाले भन्दा दुई हजार एक सय ९८ मतले अगाडि छ।

यस्तो छ गगन थापासँगको कुराकानी

तपाईंले चुनाव जित्ने आधार केके हुन्?

दुई पटक निर्वाचित भएर जाँदा मैले मतदाताको पक्षमा काम गरेको छु। मैले आफ्नो जिम्मेवारी इमान्दारिता र कुशलतापूर्वक निर्वाह गरेको छु। त्यो नै मेरो जितको आधार हो।

यो क्षेत्रको मुख्य समस्या के-के हुन जस्तो लाग्छ तपाईंलाई ?

यहाँको समस्या खानेपानी र ढलको हो। बहुप्रतिक्षारत मेलम्चीको काम सकिएपछि यहाँको समस्या समाधान हुन्छ। अघिल्ले वर्ष २८ वर्षपछि सकिएको मेलम्चीको भाग २ र भाग ३ अर्को तीन चार वर्षभित्र सम्पन्न गर्न सक्यौं भने यहाँको खानेपानीको समस्या समाधान हुन्छ।

यो सहरीकरण भइरहेको ठाउँ भएकाले पूर्वाधार बन्दैछ, नयाँ बस्तीहरु बस्दैछ। अरु पाँच सात वर्ष पूर्वाधार बन्ने क्रम जारी रहन्छ। तर, मूल सडकको ठूला पूर्वाधार गएका वर्षमा हामीले बनाइसक्यौँ। मैले सरसर्ती हेर्दा ५० करोड लगानीका सडक बनाउनुपर्ने छैन। सम्पन्न भइसकेका छन्। केही मध्यम स्तरका सडकहरू बनाउन बाँकी छ। अन्य समस्या छैन।

तपाईं मन्त्री हुँदा यो क्षेत्रलाई  जति हेर्नुपर्ने हो नहेरेको मतदाताको गुनासो छ नि !

संयुक्त राज्य अमेरिकातिर एउटा नियम हुन्छ। सरकारले बजेटमा छुट्याएको भन्दा बाहेक राज्यको शक्ति स्रोतमा पहुँच पुर्याएर आफ्नो निर्वाचन क्षेत्रमा बजेट लिएर आयो भने त्यो दण्डनीय हुन्छ। त्यो दण्डको कानुन नेपालमा भए सायद म १५, १६ पटक दण्ड ब्यहोरिसकेको हुन्थें। काठमाडौं–४ यस्तो निर्वाचन क्षेत्र हो यहाँ नेपाल भरीका निर्वाचन क्षेत्र मध्ये सबैभन्दा बढी स्रोत र साधन पाएको क्षेत्र हो।

कपनको क्षेत्रमा हामीले कमै जानकारी राखिरहेका हुन्छौं। कपनको समस्या खोला पुरेर आएको समस्या हो। यो निर्वाचन क्षेत्र बन्नुभन्दा पहिला २०५५ सालदेखि खोला पुर्ने काम भएको हो।

म अहिले अर्काले गरेको फोहोर सोहोर्दैछु। कपनमा हामी खहरे भन्छौं त्यो त खोलै हो,  खोलामा पानी नआए के आउँछ ? त्यसकारण खोला पुरेको जुन काम भयो त्यसको व्यवस्थापनको प्रयास भइरहेको छ त्यो प्रयास अन्तर्गत गएको पाँच वर्षमा मात्रै हामीले एक अर्ब रुपैयाँ पैसा खर्च गर्यौं। अब हामी एक अर्ब पैसा लगानी गर्छौं। त्यसको दीर्घकालीन हल गर्नका लागि भर्खरै नेपाल सरकारबाट निर्णय गराएर कपन–बुढानिलकण्ठ, खहरे डुबान नियन्त्रण आयोजना सुरु गरेका छौं। अबको दुई वर्षभित्रमा यसको समस्या कहिल्यै नउठ्ने गरी समाधान गर्छौं।

तपाईं दोस्रो पटक राजन भट्टराईसँग प्रतिष्पर्धामा हुनुहुन्छ। प्रधानमन्त्रीको आश्वासन बाँड्दै चुनावी दौडमा हुनुहुन्छ। प्रधानमन्त्री चुनावी फण्डा मात्रै हो कि यहाँका मतदाताले साच्चिकै तपाईंलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउँछन् ?

नेपालको संसदीय प्रणाली प्रधानमन्त्रीय प्रणाली होइन। यो सांसद निर्वाचित हुने र पछि गएर संसदीय दलको नेता लड्नुपर्छ। मलाई नेपालमा पहिलो पुस्ताको युवा नेता देखाइदिनुस् जो पूर्वप्रधानमन्त्रीसँग सांसद भएर उसँग संसदीय दलको नेता लड्ने एक जना मान्छे देखाइदिनुस्।

​प्रधानमन्त्रीका लागि आश्वासन बाँड्ने भनिएको छ त्यसलाई बन्द गरौं। म लडेर यहाँ आइपुगेको हुँ। सांसद भइसकेपछि जुन दिन संसदीय दलको चुनाव हुन्छ सबैभन्दा पहिला मेरो उम्मेदवारी पर्छ। संसदीय दलको नेता लडेर त्यसपछि प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने हो।

नेपालको कुनै पनि मूलधारको राजनीतिक दलबाट म भइनँ भने मेरो मात्र होइन अन्य राजनीतिक दलमा चुनाव हुँदै हुँदैन। म भइँन भने मेरो पार्टीमा पनि चुनाव हुँदैन। नेपाल अबको पाँच वर्ष भूतपूर्व प्रधानमन्त्रीको हातबाट शासन व्यहोर्ने कुराको नियतिभन्दा बाहिर जान सकिँदैन। यो असम्भव छ।

स्वतन्त्र उम्मेदवारबाट कत्तिको चुनौती महसुस गर्नु भएको छ?

मैले निर्वाचनमा कोसँग प्रतिस्पर्धा छ, कोसँग डर छ भनेर हेर्ने भन्दा पनि म निर्वाचनमा जहिल्यै पनि डरमा आफूलाई राख्छु। म २०७० र ०७४ मा डराएको थिएँ। अहिले पनि डराएको छु। २०७० मा नयाँ विवेकशील पार्टी आएको थियो। २०७४ मा थियो अहिले पनि छ।

त्यसकारण निर्वाचनमा मतदाता शक्तिशाली हुन्छ। उहाँहरूले जे पनि निर्णय गर्नसक्नुहुन्छ। मतदातासँग डराउनुपर्छ। डरका कारण मैले अघिल्ला निर्वाचनहरू जितेको हुँ।

यस्तो छ राजन भट्टराईसँगको कुराकानी

तपाईंले चुनाव जित्ने आधार के–हुन्?

मैले चुनाव जित्ने बलियो जनाधार र संगठन नै हो। दोस्रो हामीले विगत  पाँच वर्षमा मेरो पहलमा भएका कामहरु जुन काम भए। बुढानिलकण्ठ, चाबहिल क्षेत्रमा यहाँका जनताले परिवर्तनको महसुस गरेका छन्। राष्ट्रिय राजनीतिमा नेकपा एमालेले खेलेको भूमिका किनभने यो क्षेत्र बौद्धिक समुदाय बस्ने क्षेत्र हो।

जहाँ एमालेले राष्ट्रियताको पक्षमा चाहे आफ्नो भूभाग दाबी गर्ने होस वा नागरिकता विधेयकमा एमालेले सक्रियता देखाएको छ। यी यस्ता विषयमा नेकपा एमाले नै ठिक रहेछ भन्ने परेको छ भने अर्को लोकतन्त्रलाई हामीले संस्थागत गर्यौं। लोकतान्त्रिक व्यवस्थाका माध्यमबाट हामीले विकास निर्माणका कामहरू गर्नुपर्नेछ। समग्रतामा आर्थिक वृद्धिसँगै नेपाललाई विकासको बाटोमा हिँडाउनुपर्नेछ।

सामाजिक सुरक्षालगायतका कामहरुलाई प्राथमिकतामा राखेर स्पष्ट भिजन भएको, प्रोग्रामिक हिसाबले आएको र त्यसलाई इम्लिमेन्टेसन गर्ने क्षमता भएको लिडरसिप भएको पार्टी एमाले मात्रै छ। यो क्षेत्रका मतदाताहरुले यी सबै विषयहरुलाई हेरेर मतदान गर्छन्।

तपाईं तत्कालिन शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीको प्रभावशाली सल्लाहकार हुँदा पनि केही नगरेको गुनासो छ ! यसमा तपाईंको भनाई के छ?

पछिल्लो चाहिँ तपाईंले बनाएर भन्नु भयो। कि त तपाईँ यहाँ नयाँ बस्न आउनु भएर थाहा पाउनुभएन। पाँच वर्षमा चाहे करिडोरका लागि बजेट छुट्याउने, काठमाडौं–४ मा बाटोको काम या यो क्षेत्र हुँदै प्रवेश गर्ने नाकाको कुरा गर्नुस्। पाँच वर्ष अगाडि अहिलेको जस्तो अवस्था थिएन। पाँच वर्षको अवधिमा हामीले काम गरेका हौं। यहाँ ढलको समस्या थियो। चिहाने खोलामा ढलका लागि बजेट छुट्याएका थियौं, यद्यपि अहिले काटिएको छ।

हामी सरकारमा आउने बित्तिकै त्यसलाई सम्पन्न गर्नेछौँ। खानेपानीको समस्या समाधानका लागि १०, ११ र १२ नम्बर वडाका लागि  दुई अर्ब ४७ करोड र यता ८, ९  नम्बरलगायत वडाका लागि दुई अरब ६५ करोड दुई वटा ठूला खानेपानी आयोजनाको बजेट ल्याएका छौं। शिक्षाका लागि कपन क्याम्पससहितका क्षेत्रको सुधारका लागि भूमिका निर्वाह गरेका छौं। सार्वजनिक जग्गाको संरक्षण गरेर पार्कहरु निर्माण गरेका छौं।

तपाईं दोस्रो पटक गगन थापासँग प्रतिष्पर्धामा हुनुहुन्छ। तपाईंका प्रतिस्पर्धी प्रधानमन्त्रीको मिठाई बाँड्दै चुनावी दौडमा हुनुहुन्छ। तपाईंका लागि संसद यात्राको ढोका खोल्न कति सहज छ?

सहज छ। जनताको जनमत हो। प्रधानमन्त्री र राष्ट्रपति बन्छु भन्दै मैले पनि हिँडे हुन्छ नि !तर, बन्ने आधार छ कि छैन भन्दा उहाँको पार्टीका सभापति ८२ प्रतिशत केन्द्रीय समितिमा झण्डै ८० प्रतिशत संसदीय दलमा उम्मेदवारहरु उठाएर कमाण्ड गरेर मै हुँ प्रधानमन्त्री भनेर हिँडिरहनु भएको छ।

गगनजीको समूहबाट १८/१९ प्रतिशतले उम्मेदवारी दिनुभएको छ। ५० प्रतिशतले जितेपनि १० जनाले जित्लान्। अनि २७५ मा १३८ जना चाहिन्छ। आफ्ना समूहका १० जना मान्छे भएका व्यक्तिले भनेको पत्याउने पनि कस्ता? यस्ता चुनावी स्टण्टरु गरेर जनतालाई भूलभुलैयामा पार्ने दिन गए जस्तो लाग्छ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनको सहयोग पाउँदा पनि पराजित हुनुभयो। यसपटक त एक्लै मैदानमा हुनुहुन्छ। साथै  स्वतन्त्रबाट कतिको चुनौति महसुस गर्नु भएको छ?

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट संयुक्त रुपमा गएका हौं। पाँच वर्षको बीचमा धेरै फरक भएको छ। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा पनि समानुपातिकमा नेकपा एमाले पहिलो हो। कांग्रेस दोस्रो र विवेकशील साझा तेस्रो हो।

अघिल्लो निर्वाचनमा कांग्रेसले जित्नुको एउटै कारण विवेकशील साझाले सात हजार मत समानुपातिकमा ल्यायो। तर, उम्मेदवारले तीन हजार मात्रै मत ल्याएर गाेविन्द केसीको वक्तव्यका आधारमा चार हजार मत हाल्न लगाइयो। चार हजार मत हालेकाले कांग्रेसले चुनाव जितेको हो। अहिले अवस्था त्यस्तो छैन्। स्थानीय तहको निर्वाचनमा पनि हामी पहिलो पार्टी हो। जनमत पटक पटक चुनाव जिताउने पक्षमा छैन।

झुट कुरा बोल्ने राजनीतिज्ञ भनेका जे बोले पनि हुने भन्ने मानक बनाउन खोजिएको छ। जनता त्यो मानकका विपक्षमा छन्। उनीहरू पार्टी र उम्मेदवारका हिसाबले एमाले उपर्युक्त हो भन्ने पक्षमा छन्। मैले जित्ने आधार पनि जनमत हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.