|

डडेलधुरा : एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. तारा जोशी आसन्न निर्वाचनमा डडेलधुरा प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्लसँग झिनो मतान्तरले पराजित जोशी यसपटक टिकट पाउनेमा विश्वस्त थिए।

तर, प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन। गठबन्धनको सहमतिअनुसार प्रतिनिधिसभा र डडेलधुरा प्रदेश ‘ख’ कांग्रेसको भागमा पर्‍यो भने डडेलधुरा प्रदेश ‘क’ नेकपा माओवादी केन्द्रको भागमा।

टिकट नपाएपछि जोशीले एकीकृत समाजवादीबाट राजीनामा दिए। र, स्वतन्त्र उम्मेदवारी घोषणा गरे। पार्टीबाट राजीनामा दिए पनि जोशीलाई नेकपा एसले समर्थन गरेको छ। एकीकृत समाजवादीले प्रतिनिधिसभामा नेपाली कांग्रेस बीपीलाई सघाउने र उसले प्रदेशसभा ख मा जोशीलाई सघाउने सर्तमा तालेमल गरेको छ।

लोकप्रिय नेताको छवि बनाएका जोशीको उपस्थितिले डडेलधुराको निर्वाचन रोचक हुने अनुमान गरिएको छ। उनीसँग अब गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता गोविन्दराज बोहरा प्रतिस्पर्धामा छन्। बोहरा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री समेत हुन्। एमालेबाट गजेन्द्र शाही पनि प्रतिस्पर्धामा छन्।

बोहरा र जोशीबीच कडा टक्कर हुने आँकलन गरिएको छ। कांग्रेस निकट एक नेताले भने, ‘स्थानीय तहको नतिजा हेर्ने हो भने डडेलधुरामा कांग्रेस आफैँ बलियो छ। त्यसैमा माओवादीको साथ पनि छ। तर, अहिले गठबन्धनभन्दा पनि जनता सचेत भइसकेका छन्। जोशी पपुलर र जनतासँग नजिक भएको कारण जोशी र उहाँ (गोविन्द) को तीव्र प्रतिस्पर्धा हुने अनुमान हामीले पनि गरेका छौँ।’

को हुन् तारा?

‘भिजन डडेलधुरा’ का अभियान्ता जोशी फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड कम्पनीका संस्थापक अध्यक्ष समेत हुन्। फार वेस्टर्न एग्रो जाईन्टले डडेलधुरामा भटमास प्रशोधन उद्योग सञ्चालन गरिरहेको छ। 

जोशी डडेलधुरा विमानस्थलका अगुवासमेत हुन्। नेकपा एमाले विभाजन भएर दुई टुक्रा हुँदा डडेलधुरामा विमानस्थल बनाउने सर्तमा मात्रै उनी माधवकुमार नेपालको एकीकृत समाजवादीमा लागेको उनी निकट नेता बताउँछन्।

कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल भन्छन्, ‘२०७० सालमा उहाँ (तारा जोशी)कै पहलमा डडेलधुरामा विमानस्थल बनाउन सुरु गरिएको हो। अहिले विमानस्थल निर्माणका लागि बजेटसमेत विनियोजन भएको छ।’

‘एउटा गरिबको छोरा जनताको असल जनप्रतिनिधि हुने इच्छा चाहनामा हुनुहुन्छ। पढेलेखेको उहाँले जागिर खानु कुनै ठूलो कुरा होइन्। तर, हामी आफ्नो मान्छेलाई हेप्छौँ। अहिले सागर ढकाल भन्दै पछि लागेका छौँ। तर, ढकालभन्दा जोशीमा के कमी छ र? त्यसैले यसपटक उहाँलाई जिताउनु पर्छ,’ उनले भने।

२०२७ मा गन्यापधुरा गाउँपालिकाको वामनगाउँमा जन्मेका जोशीले भुवनेश्वरी माध्यमिक विद्यालयबाट २०४३ सालमा एसएलसी र कैलाली बहुमुखी क्याम्पसबाट आईकम गरेका थिए।

कर्ण मल्ल भन्छन्, ‘म राति १० बजेसम्म पढेर सुत्थेँ। अनि उहाँ पढ्नुहुन्थ्यो। सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरबाट बीए पास गरेका उनले एमए भने भारतको कुमाउँ विश्व विद्यालय नैनीतालबाट गरेका हुन्।

भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयबाट एमफिल र विद्यावारिधि पीएचडी अन्तर्राष्ट्रिय सम्बन्धमा २०६८ सालमा सकेका हुन्। जोशीको राजनीतिक यात्रा २०४५ सालमा कैलाली बहुमुखी क्यापसको अनेरास्ववियु प्रवेशसँगै भएको थियो। २०४६ सालमा पञ्चायती शासनकाविरुद्ध आन्दोलन चल्दै गर्दा कैलाली बहुमुखी क्याम्पसमा उनले विद्यार्थीसँगै निरंकुशताविरुद्ध आन्दोलन गरे।

जोशीले २०४७ सालमा आफ्नै गाउँको गणेश मावि बडालमा शिक्षकको रूपमा काम गरे। २०४७ तिरै जोशीले वीरभद्र माध्यमिक विद्यालय हालको नवदुर्गा गाउँपालिका कोटेलीमा शिक्षण पेशा गरे। आलितालको दुर्गा माविमा समेत शिक्षण पेशामा केही समय बिताए।

उनले त्यही समयमा संगठनको कामसँगै भुवनेश्वरी मावि बड वसन्तपुरमा शिक्षण पेशामा चार वर्ष माध्यमिक तहमा अंग्रेजी विषयको कुशल शिक्षकको जिम्मेवारी सम्हाले।

२०५१ देखि २०५३ सम्म डडेलधुरा काठमाडौं सम्पर्क मञ्चको सदस्य हुँदै काठमाडौं केन्द्रित राजनीति गरे। २०५३ सालमा डडेलधुरा आउँदै गर्दा नेकपा एमालेले उनलाई जिल्ला कमिटी सदस्यमा जिम्मेवारी दियो।

एक वर्षे जिल्ला कमिटी चलाउँदै गर्दा २०५४ मा उनले नेकपा एमालेको जिल्ला सचिवको रूपमा २०५८ सम्म पार्टीको जिम्मेवारी सम्हाले २०५९ साल देखि २०६३ सम्म जिल्ला कमिटी सदस्यको रूपमा काम गरे। २०६३ को आन्दोलन चल्दै गर्दा तत्कालीन राजा ज्ञानेन्द्र शाहले नगरपालिकाको चुनाव घोषणा गरे।

त्यसविरुद्ध आन्दोलनमा उत्रिएका डडेलधुराका राजनीतिककर्मीलाई पुलिसले गिरफ्तार गर्‍यो। जोशी २५ दिनका लागि जेल चलान भए। अन्तिममा आएर राजा ज्ञानेन्द्रले नगरपालिकाको चुनाव स्थगित गरे।

२०६२\०६३ को आन्दोलनको बेला तारा जोशीलाई पुनः प्रहरीले गिरफ्तार गर्‍यो। २६ दिनको राजतन्त्रका विरुद्ध आन्दोलन गरेको आरोपमा कारागार चलान गर्‍यो। आन्दोलन चल्दै गर्दा देशमा लोकतन्त्र आएपछि जोशीलाई कारागारबाट मुक्त गरियो।

उनी २०६९ मा नेकपा एमाले डडेलधुराको जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिए। २०७० सालको संविधानसभा चुनावमा होमीएका उनी पराजित भए। २०७१ मा पुनः एमाले जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए। उनले उपक्षेत्रीय आन्दोलनको नेतृत्व गरेका थिए भने राष्ट्रिय परीक्षा बोर्ड डडेलधुराको एकलौटी भर्तीविरुद्धको आन्दोलनमासमेत होमिएका थिए।

को हुन् बोहरा?

बोहराको जन्म विस २०१८ सालमा डडेलधुराको अमरगढी नगरपालिका–३ डोटी घटाल (चम्साल) मा भएको हो। प्राथमिक शिक्षा घटाल माध्यमिक विद्यालयबाट लिएका उनले माध्यमिक शिक्षा भने महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट लिए।

उनले कैलाली बहुमुखी क्याम्पसमा आईए पढ्दै गर्दा राजनीतिक ‘करियर’ सुरू गरेका थिए। कैलाली बहुमुखी क्याम्पसमा उनी स्ववियु उपसभापतिसमेत बनेका थिए। २०५२ सालमा देउवा प्रधानमन्त्री हुँदा प्रमुख स्वकीय सचिव भएरसमेत उनले काम गरेका थिए।

उनलाई देउवाका अति विश्वासिला पात्रका रूपमा लिइन्छ। वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनी चारपटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र चारपटक महासमिति सदस्यसमेत भइसकेका छन्। डडेलधुरा प्रदेश (ख) बाट प्रदेश समानुपातिक सांसद बनेका बोहरा अहिले सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीसमेत हुन्।

चुनाव जित्नेमा दुवै नेता ढुक्क

चुनाव नजिकिएसँगै जोशी र बोहरा घरदैलोमार्फत मतदाता आफ्नो पक्षमा पार्न व्यस्त छन्।

चुनाव जित्ने जोशी र बोहराको दाबी छन्। आफू चुनाव जित्नेमा विश्वस्त रहेको बोहराले बताए। ‘म चुनाव जित्नेमा ढुक्क छु। हामी गठबन्धनमा छौं। यहाँ गठबन्धन जित्छ,’ उनले भने, ‘हामी घरदलौमा गइरहेका छन्। जनतालाई झूटो आवश्वास दिइरहेका छैनौँ। हामी जे गर्न सक्छौँ त्यहीँ मात्रै जनतालाई भनेर मत मागिरहेका छौँ।’ उनले आफूले मन्त्री हुँदा यहाँका विकास निर्माणदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै कामको सुरुवात भएको र बाँकी रहेका काम पनि गर्ने उनको भनाइ छ। 

यसपटक यहाँ जनतालाई आफू चुनाव जिताउने जोशीको दाबी छ। ‘म गत निर्वाचनमा थोरै मतले पराजित भएको थिएँ। यसपटक मलाई यहाँका मतदाताले जिताउनेछन्,’ उनले भने। सांसद नहुँदा पनि आफूले डडेलधुराका लागि धेरै काम गरेको र चुनाव जितेर थप काम गर्ने इच्छा रहेको जोशीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.