|

काठमाडौं : प्रदेशसभा तथा प्रतिनिधिसभा चुनावका कारण यति वेला दलका उम्मेदवार आफ्नो क्षेत्रमा सक्रिय छन्।

एकातर्फ गठबन्धन छ भने अर्कोतर्फ प्रमुख प्रतिपक्ष दल नेकपा एमाले केही साना दललाई लिएर चुनावमा होमिएको छ। आफूहरूले स्पष्ट बहुमत ल्याउने एमालेको दाबी छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा गठबन्धनको लज्जास्पद हार हुने बताउँदै आएका छन्। आसन्न चुनावका बारेमा एमालेको अवस्था, वातावरण र जितका अपेक्षाबारे एमाले उपमहासचिव विष्णु रिमालसँगको कुराकानी।

निर्वाचनमा नेकपा (एमाले)को अवस्था कस्तो छ? देशभरको माहोल कस्तो छ?

अहिले हामी निर्वाचनको प्रचार तयारी र यसको उपलब्धिका लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौँ। देशभरको माहोल हेर्दा एमालेको परिस्थिति राम्रो छ। राम्रोको अर्थ के हो भने विगतमा गठबन्धनले क्षति पुर्‍याउँछ र गठबन्धनका अगाडि एमालेले केही पनि गर्न सक्दैन भन्ने हल्ला थिए‚ अहिले उनीहरू नै एमाले माथि गयो भन्नेमा पुगेका छन्।

त्यो हिसाबले हाम्रो पार्टी पंक्तिमा मनोबल निकै बढेको छ। गठबन्धनले जित्नुपर्ने आधार उहाँहरूले न्यायोचित तरिकाले दिन सक्नुभएको छैन। मतदाताले तपाईँको नेता को हो? गन्तव्य के हो? विषय के हो? भनी सोधिरहेका छन्। उहाँहरूसँग यसको कुनै जवाफ छैन।

फरक-फरक पार्टी मिलेर गठबन्धन बनेका कारणले उहाँहरूका फरक-फरक जवाफ छन्। कतिपय ठाउँमा वास्तविक जवाफ दिँदा गठबन्धन अप्ठेरोमा पर्ने  भएकाले उहाँहरू जवाफ दिन सक्ने अवस्थामा हुनुहुन्न। त्यो स्थितिले हामीलाई लाभ पनि भएको छ। किनभने एमालेले आफ्ना नेता अगाडि सारेको छ‚ एजेण्डा सारेको छ।

अझ सरल भाषामा त हामीले पाँच वर्षमा एमालेले यो यो काम गर्छ भनेर २० वटा ग्यारेन्टी नै अगाडि सारेका छौँ। जुन हाम्रो घोषणापत्रको सार नै हो।

त्यो हिसाबले सारमा भन्दा खेरी अहिले हामी अगाडि छौँ र अगाडि बढिरहेका छौँ। यदि बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भने पनि अहिले गठबन्धनमा रहेको शक्तिहरू ओरालो लाग्ने र एमाले उकालो लाग्ने मैले देख्छु।

हामीले विभिन्न विश्लेषण सुनेका छौँ। एमाले कतै पछि त पर्दै छैन? सार्वजनिक भएको तथ्यांकप्रति तपाईंहरूको विश्लेषण के हो?

पहिलो कुरा त यो तथ्यांक आफैँमा नक्कली छ किनभने सर्वेक्षण गर्नै पाइँदैन। भरपर्दा संस्थाहरूले सर्वेक्षण गरे पनि उनीहरूले आफ्नो सर्वेक्षण प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन्। अब सरकारका संयन्त्रले गरेका त्यस्ता कुनै सूचना छन् भने पनि ती संस्थाले बाहिर ल्याउन पाउँदैनन्।

गृहमन्त्री स्वयंले समेत राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनी नक्कली अंक बाहिर ल्याएको मैले सुनेको छु। म सरकारमा हुँदाको अनुभवको आधारमा मलाई थाहा छ‚ त्यस्ता संस्थाका कुनै पनि सूचना सार्वजनिक हुँदैनन्।

बाहिर सूचना जारी गर्न पनि पाइने होइन। त्यो त आचारसंहिताको कुरो पनि थियो। मलाई के लाग्छ भने गठबन्धनका साथीहरू पराजयको मानसिकताबाट आत्तिनु भएको छ। विभिन्न ठाउँमा हिंसा पनि बढ्दो छर केही मानिस घाइते भएका छन्। विगत केही दिनदेखि गठबन्धन आक्रमणमा उत्रिएको छ।

अरू कुनै दल र व्यक्ति आक्रमणमा उत्रिएका छैनन्। गठबन्धन उत्रिएको छ। अर्को दलको प्रचार समूहमाथि आक्रमण गर्नु, अर्काको कार्यक्रममा जान नदिनु र नक्कली सूचना बाहिर ल्याउनु भनेको पराजय हुने हतास मनस्थितिबाट आएको कुरा हो भन्ने स्पष्ट हुन्छ। त्यस कारणले तथ्यांक भनेर जे बाहिर आइराखेका छन् ती सबै मिथ्यांक मात्रै हुन्।

त्यसमा कुनै पनि संस्थाले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन। म गृहमन्त्रीलाई चुनौती दिन्छु- त्यस्तो छ भने त रिपोर्ट बाहिर ल्याउनुहोस्। अरू विश्वसनीय संस्थाले गरेका सर्वेक्षणलाई पनि बाहिर ल्याउन आग्रह गर्नुहोस्। निर्वाचन आयोगलाई भन्नुपर्‍यो, हामी कानुन मिच्छौँ।

अरूलाई पनि कानुन मिच्न दिनु भन्नुपर्‍यो। उहाँहरूले छद्म काम गर्दै हुनुहुन्छ र छद्म काम पुष्टि गर्न उहाँहरूले अन्तरराष्ट्रिय फेक न्यूज एजेन्सी, न्यूज पोर्टलहरू प्रयोग गर्नुभएको छ। मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेबसाइटमार्फत एउटा नक्कली सूचना बाहिर आयो‚ त्यसमा एउटा अमुक दल संलग्न छ भन्ने सुनेको छु।

त्यसो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रममा पार्न खोजिँदै छ। यस्तो काम स्वच्छ निर्वाचनका लागि निन्दनीय काम हो।

परिचालन र मतदाता शिक्षाको सम्बन्धमा एमाले पछाडि परेको भन्ने समाचार आइराखेको छ। यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ? पार्टी कमिटी कसरी परिचालित भइरहेका छन्?   

प्रचार, परिचालनको हिसाबले एमाले पछाडि छैन। अहिले पहिलेको भन्दा पृथक् प्रचार छ। अहिले हामी पोष्टर टाँस्न पाउँदैनौँ‚ जुलुस निकाल्न पाउँदैनौँ। घरदैलोमा पनि सीमित संख्यामा मात्रै जानुपर्छ। २५ को संख्या तोकेको छ। १० वटाभन्दा बढी झण्डा बोक्न पाइँदैन।

यो आचारसंहिताका कारणले पहिलेको जस्तो ठूलो संख्यामा जाने रौनक चाहिँ देखिन्न। पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएन कि भन्ने लाग्नु स्वाभाविक हो। हामीले आमसभाको माध्यम चाहिँ तोकिएको ठाउँमा मात्रै जुन कमिटीले आवश्यक ठानेको छ, त्यहाँ मात्रै गरेका छौँ। जहाँ अध्यक्ष पुग्न सक्नुभएन र उहाँहरूलाई ठूलो सभा गर्न मन लाग्यो त्यो ठाउँमा मात्रै हामीले ४० ठाउँ छानेका थियौँ‚  त्यसमध्ये निश्चित ठाउँमा अहिले अध्यक्ष गइरहनु भएको छ।

त्यस कारणले जहाँ जहाँ अध्यक्ष जानुभयो त्यहाँ त्यहाँ जनसागर उर्लिएको छ। त्यो हिसाबले राम्रै देखिन्छ। हामीले सामाजिक सञ्जाल बढी प्रयोग गरेका छौँ र वैकल्पिक माध्यम पनि प्रयोग गरेका छौँ। केही अनलाइनमा विज्ञापन गर्‍यौँ। फेसबुक इत्यादिमा भने बुस्ट गरेका छैनौँ।

सामाजिक सञ्जालमा स्वःस्फूर्त रूपमा लाखौँ व्यक्तिबीच एमालेको प्रचार यो आठ-दश दिनमा व्यापक भइरहेको छ। मतदाताहरूले कसरी मत हाल्ने? आफ्नो नम्बर कहाँ छ? लिष्ट पाएको छ कि छैन घरमा? हामी पहिले प्रत्येक मतदाताको नाम लेख्थ्यौँ र घरघरमा गएर तपाईँको यति नम्बरमा छ भन्थ्यौँ। अब तीन-चार दिन बाँकी छ। ती दिनमा पूर्णता आउला। त्यसमा कमी भएको होला जस्तो लाग्छ मलाई।

सबै मत सदर, जिरो बदर भन्ने किसिमले जानुपर्ने स्थिति हुन्छ। त्यो हिसाबले हाम्रा कमिटीलाई अघि बढ्नुस् भनेका छौँ तर साथीहरू मुखमा झुण्डिएको चार सूर्य चार छाप भन्ने शब्द प्रयोग गर्नुहुन्छ। त्यसले कहिलेकाहीँ गलत अर्थ लगाइदिन सक्छ। किनभने एउटा मतपत्रमा एउटा मात्र सूर्य छ अहिले। सूर्य नभएको मतपत्र कुनै पनि छैन।

अधिकांशमा सूर्य नै सूर्य छन् तर मतपत्र फरक फरक चारवटा छन्। ४ गते चारवटा फरक मतपत्र अनि प्रत्येकमा भएको सूर्यमा छाप लगाऊँ भनेर एमालेले भने ठिक हुन्थ्यो। पहिले सात सूर्य सात छाप भन्ने लयमा चारवटा मतपत्र हुने भएकाले चार सूर्य चार छाप भन्नुभएको छ। एउटै मतपत्रमा चारवटा सूर्य खोज्नुभयो र चारवटा छाप लगाइदिनुभयो भने बदर हुनसक्ने खतरा छ। यसमा हामीले साथीहरूलाई सचेत गराउन खोजिरहेका छौँ।

प्राविधिक खालका पक्षहरू र त्यसमा ध्यान दिनुपर्ने विषयमा हामीले भर्खर निर्देशित गरिरहेका छौँ। यो चुनावमा अर्को एउटा पनि निर्देश गर्नुपर्छ, भर्खर कानुन आएको छ तल सर्कुलर पनि धेरै गइसकेको छैन। जस्तो कि समानुपातिकबाट उम्मेदवार बनाइएका व्यक्तिहरूको मतगणना प्रतिनिधि कसले छान्ने? भन्ने कुरो नै स्पष्ट भएको छैन।

अधिकांशले त्यो कानुन पढ्नुभएको छैन। हामीले आफ्नो पार्टीबाट आफ्नो पार्टी कमिटीमा सूचना पठाउँदै छौँ। अरूलाई पनि लागू हुन्छ यो। प्रत्येक जिल्लाका प्रमुख अध्यक्ष वा सभापतिले त्यही क्षेत्रमा मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई छान्नुपर्छ। त्यो विधि नै छ। त्यसमा योग्यता नै तोकेको छ। त्यो नहेरी फलानो जान्छ भने त्यो पनि बिग्रिन्छ।

पछि मत गणनाका वेला झमेला हुन्छ। हामीले मतदातालाई सचेत बनाउने यस्ता काम र त्यसमा निर्वाचनको माहोल नयाँ ढंगले लैजाने काम  गर्न अझै बाँकी छ।

गठबन्धनले राज्यकोषको अथवा अन्य संयन्त्रको प्रयोग/दुरुपयोगको विषयमा एमालेले चासो दिएको छ कि छैन? कत्तिको चनाखो छ?  

हामी के कुरामा सचेत छौँ र हाम्रा समर्थकलाई मात्रै होइन आम मतदातालाई के भनिरहेका छौँ भने अहिले गठबन्धन सबैखालको हतकण्डा प्रयोग गर्न उद्यत हुन सक्छ। यसमा सतर्क रहनुहोस् भनेका छौँ। बिहानीले दिन बताउँछ भनेको जस्तै केही ठाउँमा भएका हिंसाले यो चुनाव हिंसारहित होला कि नहोला भन्ने शंका उत्पन्न भएको छ। हामीले यसमा सतर्क हुनुहोस् भनेका छौँ।

स्रोत, साधनको दुरुपयोग गर्नु हुँदैन। सत्तामा रहने बढी सतर्क हुनुपर्छ। कि कानुन, आचारसंहिता नै बनाउनु हुँदैन‚ बनाइसकेपछि यसलाई प्रभावकारी ढंगले पालना गर्नुपर्छ।

त्यतिखेर उहाँहरू ध्यान नदिने। अहिले यतिखेर क्रमशः मिच्दै जाने। उहाँहरूलाई ७२ घण्टा मौन अवधिका वेला मन लाग्दी गर्ने बानी परेको छ। यतिखेर अरूलाई बाहिर निस्कन पाइदैन भन्दै बन्द गरिदिने। आफूचाहिँ प्रहरीको गाडी चढेर सुरक्षानिकायहरूलाई दुरुपयोग गर्दै घरघरमा मतदाता प्रभावित गर्ने क्रियाकलाप गर्ने बानी छ। स्थानीय तहको चुनावमा पनि त्यसै गर्नुभयो।

अहिले पनि त्यस्तै गर्नुहोला भन्ने हामीलाई लागिरहेको छ। त्यसका लागि हामीले मतदातालाई सचेत गराइरहेका छौँ। हाम्रो बुथ कमिटीहरूलाई पनि यसमा ध्यान दिनुहोस् भनेका छौँ। यसमा हाम्रो ध्यान गएको छ। पर्याप्त त भइसकेको छैन होला।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.