|

काठमाडौं : ललितपुर–३ मा रोचक प्रतिस्पर्धा हुँदैछ। सत्ता गठबन्धनकी साझा उम्मेदवार पम्फा भुसाल, नेकपा एमालेका अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीबीच तीव्र प्रतिस्पर्धा हुँदै छ। 

२२ वटा वडा पर्ने ललितपुर–३ को धेरै भूभाग सहरी र थोरै क्षेत्र ग्रामीण भेगमा पर्छ। ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू ललितपुर–३ मा पर्छन्। उक्त क्षेत्रमा ९४ हजार ११६  मतदाता रहेका छन्। 

२०७४ सालको निर्वाचनमा यहाँ माओवादी केन्द्रकी भुसालले २४ हजार ३६ मत ल्याएर विजयी भएकी थिइन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता मदनबहादुर अमात्याले २२ हजार ३२८ मत ल्याएका थिए।

एमालेका तर्फबाट यो क्षेत्रमा २०५१ र २०५६ सालमा रघुजी पन्तले चुनाव जितेका थिए। माओवादी केन्द्रको स्थायी समिति सदस्यसमेत रहेकी भुसालले २०६४ सालको चुनावमा एमालेका रघुजी पन्तलाई पराजित गरेकी थिइन्।

पम्फा भुसाल
नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रममा व्यस्त छिन्। शेरबहादुर देउवा नेतृत्वको सरकारमा उर्जा मन्त्री रहेकी भुसाल मंगलबार बिहान घरदैलोमा व्यस्त थिइन्। ललितपुरस्थित भैंसेपाटी वडा नम्बर २५ को थैंबु क्षेत्रमा मंगलबार बिहान भुसालसहित सत्ता गठबन्धनका नेता कार्यकर्ताको घरदैलो कार्यक्रम थियो। 

उनी बाटोमा भेट भएका मतदातासँग आफूलाई भोट दिन आग्रह गरिरहेकी थिइन्। भुसाललाई मतदाताहरूले मिश्रित जवाफ दिए। कोही वृद्ध बाटोमा फूलमाला लिएर स्वागत गर्न बसेका थिए।

केही मतदाताले आफ्नो क्षेत्रको विकास नगरेकोमा असन्तुष्टि जनाए। भोट माग्ने क्रममा भेटिएकी एक वृद्धले भनिन्, ‘यस क्षेत्रको विकास गरेको खै? सडक लथालिङ्ग छ, खानेपानीको समस्या उस्तै छ। फेरि के भनेर भोट माग्न आयौ ?’

मन्त्री भुसाल प्रतिवाद गर्ने मनस्थितिमा थिइनन्। त्यहाँबाट उनीसहितको टोली बाहिरियो।उक्त क्षेत्रबाट २०६४ सालदेखि चुनाव जित्दै आएकी भुसालले विकास निर्माण, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाहरूको संरक्षण र पुनर्निर्माणमा चासो नदिएको अधिकांश मतदाताको गुनासो पाइयो।  

११ दिनदेखि घरदैलो कार्यक्रममा व्यस्त भुसाल थकित देखिन्थिन्। घरदैलो कार्यक्रम सकेर केहीबेर हामीसँग कुराकानी गर्न तयार भएकी भुसला भन्दै थिइन्,‘११ दिनदेखि घरदैलो कार्यक्रममा व्यस्त छौं। धेरै थकित भइयो।’

प्रस्तुत छ भुसालसँगको संक्षिप्त कुराकानी:

कस्तो हुँदैछ चुनावी प्रचार? 

ठिकै छ। निर्वाचन आयोगले दिएको प्रचारप्रसारको सेड्युल अपुग हुँदो रहेछ। एक दिनमा दुई वडा मुस्किलले मात्रै भ्याइँदो रहेछ। २२ वटा वडाहरू छन्। कतिपय वडा त ठूलठूला छन्, एक दिनमा पनि भ्याउन गाह्रो छ। बैठक, समूहका भेला, आन्तरिक बैठकहरूले गर्दा समयको चाप छ। 

अघिल्लो पटक पनि गठबन्धन गरेको चुनाव जित्नुभयो। यो पटक पनि गठबन्धन गरेर आउनु भएको छ। अब तपाईंले गर्न बाँकी काम के–के छन्?

मैले थालनी गरेका भौतिक संरचनाका कामहरू बाँकी छन्। नख्खु खोला करिडोर, ढोलाहिटी हुँदै चापागाउँ जाने सडक निर्माण, धापाखेल थेचो जाने सडक निर्माण गर्न बाँकी छन्।

अहिले काम अघि बढिरहेको छ। भौतिक संरचनाको विकास गरेर मात्र नहुने रहेछ। शिक्षा, स्वास्थ्य, आर्थिक सामाजिक विकासका क्षेत्रमा काम गर्न बाँकी छ। पूर्ण बेरोजगार र अर्ध बेरोजगार भएको जनशक्तिलाई फूलफिल हुनेगरी काम दिने। शिक्षा र स्वास्थ्यमा दुई पक्ष छन्। एक थरी वर्ग आफैंले खरिद गर्न सक्छ अर्को वर्गले खरिद र उपयोग गर्न सक्दैन। ती वर्गलाई समेट्ने गरी काम गर्छौँ। 

निर्वाचनलाई अग्नि परीक्षाको रुपमा लिने गरिन्छ। आफ्ना प्रतिस्पर्धीलाई कसरी लिनु भएको छ?

निर्वाचन प्रतिस्पर्धा नै हो। यो यस्तो परीक्षा हो एउटा एउटा भोटको महत्व हुन्छ। कसैले दुई वटा, पाँच वटा चिट काटेर पनि हुँदैन। त्यसकारण प्रतिस्पर्धा रोचक हुने गर्छ। हाम्रो मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुनेछ।

तर, एउटा सजिलो के भने दुई पटक मैले यो क्षेत्रबाट जितिसकेको छु। जनताका आवश्यकता र समस्यालाई मैले नजिकबाट नियालिरहेकी छु। त्यसलाई सम्बोधन गरेको र गर्न बाँकी रहेको कुरा जनताले बुझ्नुहुन्छ। 

तपाईंले एमाले मुख्य प्रतिस्पर्धी भनिरहँदा स्वतन्त्र पार्टीकी उम्मेदवार पनि मैदानमा रहेको कुरा बिर्सिनुभयो? 

चर्चा त डडेलधुरा गएका एक जना युवा भाइ (सागर ढकाल)को पनि छ। चर्चा हुन्छ तर, जनताले आफ्नो मतले उम्मेदवार विजयी बनोस् र त्यो मतले सरकार बनोस् भन्ने चाहन्छ।

हामीले स्थापना गरेको व्यवस्था दलीय व्यवस्था हो। बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष। २७५ मध्ये १३८ सिट ल्याएर बल्ल सरकार बन्छ। मिडियाका साथीहरूले पनि पब्लिकलाई धारणा बनाउन मद्दत गर्नुहोस्। विधायिकी व्यवस्था, कार्यपालिका र न्यायपालिकाको शक्ति सन्तुलन, स्वायत्तता र अन्तरसम्बन्धको कुरा यहाँहरुले कसरी सरकार बन्छ भनेर पढाइदिनूस।

​उम्मेदवारहरुलाई मन्त्री नै प्रस्ताव गरेका पोस्टहरु पढ्छु । तर, मन्त्री कसरी बनिन्छ भनेर सिकाइ दिनुपर्यो। अहिले दुई वटा कोणहरूबाट अहिलेको व्यवस्थामाथि आक्रमण भइरहेको छ। एउटा गठबन्धन बनेर, अर्को   कथित स्वतन्त्र वा जेनेरेशनका कुराहरु उठिरहेका छन्।

युवाहरू पनि राजनीतिमा आउनुपर्छ। युवाहरू सबै क्षेत्रमा आउनुपर्छ। म पनि युवा हुँदा राजनीतिमा आएको हो। राजनीतिमा युवा, प्रौढ र अनुभवी मानिस चाहिन्छ। एउटा राज्य सञ्चालनको विधि, प्रक्रियालाई बुझ्नुपर्छ। युवाका कुरा धेरै उठ्छन् तर, युवाले यस्ता कुरा बुझ्दैनन्।

उर्जाशील छन्, उर्जाले राजनीति बुझेका छैनन्। राजनीतिक कार्यक्रम, स्वास्थ्य, शिक्षा, रोजगारीका योजना हुन्छ नि! खै ति विषय ? मान्छेको विकल्प मान्छे हुँदैन। 

यो निर्वाचनमा गठबन्धनको माहोल कस्तो बन्छ र नतिजा कस्तो आउला ? 

म त देश नै गठबन्धनको पक्षमा भएको देख्छु। दैनिक कोठे बैठक, भेला बिहानदेखि राती १० बजेसम्म हुन्छ त्यो लहर, आत्मविश्वास मैले राम्रो देख्छु। अन्य कुनै कारणले कोही विजयी हुन सक्दैन।

जनताको चासो चिन्ता, सरोकार, समर्थन जुन भावमा देखिन्छ । त्यो भावले देश नै गठबन्धनमय भएको छ। तपाईंहरु मिडियाका फिल्ड रिपोर्ट पनि रातिसम्म देख्छु, सकारात्मक छ। निर्वाचनपछि संघ र प्रदेशमा गठबन्धनको सरकार बन्छ।  

डा. तोसिमा कार्की

निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेसँगै तोसिमाको चर्चा चुलिएको हो। सर्वोच्च अदालतले उम्मेदवारी कायम राख्न आदेश दिएपछि थप उत्साहित भएकी डा. कार्की ललितपुरकी छोरीलाई जिताउन भन्दै अपिल गर्दैछिन्।

शिक्षा, स्वास्थ्य, खानेपानी, सांस्कृतिक सम्पदाहरूको संरक्षणलगायतका मुद्दा बोकेर चुनावी प्रचारप्रसारमा होमिएकी कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिन्ह पाएकी छन्। उनी हातमा घन्टी बोकेर मतदाता माझ भोट मागिरहेकी छिन्।

सोमबार साँझ एकान्त कुना खरीबोट क्षेत्रमा भेटिएकी डा. कार्की यो पटक उम्मेदवारी नदिएको भए ललितपुरबासी माथि ठूलो अन्याय हुने दाबी गर्छिन्। सानो संख्यामा समर्थकहरू लिएर हिँडेकी डा. कार्कीले घरघरमा भोट माग्न आइन भनेर चित्त नदुखाउन आग्रह गरिरहेकी थिइन्।

उनका समर्थकहरू भन्दै थिए– ‘अघिल्लो पटक वाम गठबन्धन गरेर आएकी भुसाललाई जितायौं। काम केही गरिनन्। हामी यसपटक तोसिमालाई जिताउने पक्षमा छौं।’ 

‘मेरो उम्मेदवारी सुनिश्चित हुनुमा तपाईहरूको साथ र समर्थनले निक्कै ठूलो भुमिका खेलेको छ। त्यसको लागि तपाईंहरूलाई धन्यवाद। म ललितपुरकी छोरी आफू एक्लो उम्मेदवार हुँदै गर्दा उम्मेदवारी खारेज भयो फेरि दोस्रो पटक उम्मेदवार हुँदा मलाई जिताउने जिम्मा पनि ललितपुरबासीलाई नै सुम्पेको छु। घर घरमा पुग्दा उहाँहरूले मलाई दिनु भएको साथ र माया देख्दा यस्तो लाग्छ कि यदि मैले  यो पटक उम्मेदवारी नदिएको भए मेरा ललितपुर बासी माथि ठूलो अन्याय हुने रहेछ,’ मतदातामाझ उनले भनिन्। 

घरदैलोमा व्यस्त उनीसँग केही समय हामीलाई दिन आग्रह गर्यौँ र केही प्रश्न राख्यौँ । प्रस्तुत छ कार्कीसँगको छोटो कुराकानी:

पहिलो पटक निर्वाचनमा होमिँदै हुनुहुन्छ, तपाईंले यस क्षेत्रमा चुनाव जित्ने आधार के-के हुन्?

म ललितपुरकी छोरी आफू एक्लो उम्मेदवार हुँदै गर्दा उम्मेदवारी खारेज भयो फेरि दोश्रो पटक उम्मेदवार हुँदा मलाई जिताउने जिम्मा पनि ललितपुरवासीलाई नै सुम्पेको छु। घर घरमा पुग्दा उहाँहरुले मलाई दिनु भएको साथ र माया देख्दा यस्तो लाग्छ कि यदि मैले  यो पटक उम्मेदवारी नदिएको भए मेरा ललितपुरवासी माथी ठूलो अन्याय हुने रहेछ। मेरो बिशेष कामको क्षेत्र भनेको स्वास्थ क्षेत्र हुनेछ ! 

ललितपुरबाट प्रतिनिधित्व गर्दै देशैभरी स्वास्थ्य बिमालाई प्रभावकारी , वैज्ञानिक बनाउने र सबैका लागि अनिवार्य स्वास्थ्य बिमा सुनिश्चित गराउने। विभिन्न स्वास्थ सेवा सुनिश्चित गराउने, नि:शुल्क हुनुपर्ने औषधिको व्यवस्था गर्ने । मेरो अर्को एजेन्डा मैले आफैंले भोग्दै आएको  खानेपानीको समस्या हो। हामी घरदैलोमा घर-घरमा पुग्दै गर्दा हरेक घरबाट एउटै आवाज सुनेँ ‘खानेपानी’।

यी मात्र होइनन् सडक, रोजगारको समस्या ललितपुरस्थित मछिन्द्रबहाल मन्दिरको अवस्था, भुकम्पले भत्किएका संरचनाको अझै पुनर्निर्माण हुन सकेको छैन ।मैले ललितपुर ३ नम्बर क्षेत्रका हरेक घर हरेक गल्ली  घुम्ने मौका पाएँ। यहाँका समस्यालाई नजिकैबाट नियाल्ने मौका पाएँ। मेरा वाचापत्रमा लेखिएका समस्याहरूलाई मैले नजिकबाट बुझ्ने मौका पाएँ र हाम्रै क्षेत्रमा  विज्ञ पनि हुनुहुँदो रहेछ ।

कृषि , कला सँस्कृति, शिक्षा , हस्तकला , मूर्तिकला , काष्ठकलाका धनी विज्ञ हाम्रै ठाउँमा हुनुहुँदो रहेछ। उहाँहरुका लागि अवसर ,प्रोत्साहन, सम्मान पनि मेरो अर्को मुद्दा  हो। यी सबै योजना पूरा गर्न एक अर्को योजना इमानदारिताको एजेन्डा मसँग छ र त्यही एजेन्डाले नै म पाँच वर्ष काम गर्नेछु।

सर्वोच्चको फैसला तपाईंको पक्षमा आएको छ, तपाईंको प्रतिक्रिया के छ?

म यति मात्र भन्न चाहन्छु न्याय अझै बाँकी रहेछ सत्यको जित हुने नै रहेछ । र सम्मानित सर्वोच्च अदालतलाई म विशेष धन्यवाद दिन चाहन्छु। त्यो भन्दा धेरै आभारी देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीवहिनीहरु जो मेरो पक्षमा, परिवर्तनको पक्षमा उभिएर हौसला बनिदिनु भयो  त्यसको लागि म धन्यवाद दिन चाहन्छु र यो निर्णय आएपछि अझै मेरो उम्मेदवारी पक्का भएको छ, जितमा पनि सुनिश्चतता मैले देखेकी छु।

तपाईंलाई आफ्नो उम्मेदवारी टिकाउन धौधौ पर्यो, निर्वाचन जित्छु जस्तो लाग्छ ? 

सत्यको बाटो हिँडेर संघर्ष गर्ने हो भने जित हुने नै रहेछ भनेर पनि हामीले प्रमाणित गर्‍यौं। साम दाम दण्ड भेद  हामी माथि प्रयोग नभएका होलान र ? भए होलान त्यसलाई म खोज्न चाहन्न तर त्यसलाई पनि हामीले सत्यमा टेकेर जितेका छौं। यसले अझै मलाई अब म साँच्चै लड्न सक्ने रहेछु, हिम्मत , साहस सँगै साथ पनि रहेछ भन्ने कुरा प्रमाणित गरेको छ।

तपाईं आफू जित्न भन्दा पनि एमालेको मत काट्न आउनु भएको हो भन्छन् नि?

म यहाँ कसैलाई हराउन आएको होइन। म यहाँ देश र जनतालाई जिताउन आएकी हुँ । कसैले कसैको मत काट्न सक्दैन, मत मनबाट दिने हो। मनले  मत दिएर हेर्नुस् न  त्यो मतले अवश्य  जित्छ।  कसैको मत काट्न भन्दा पनि म देश र जनतालाई जिताउन र मेरो ललितपुर क्षेत्रलगायत देशभरि रहेका समस्याका ठेलीहरु छन् तिनका लागि समाधान खोज्न, समस्याहरू काट्न आएकी हुँ मत काट्न आएकी होइन ।

प्रतिद्वन्द्वीलाई कमजोर ठान्नु हुँदैन भनिन्छ, तपाईंले आफ्ना प्रतिस्पर्धीलाई कसरी लिनु भएको छ?

म स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने मान्छे,  मेरो उम्मेदवारी खारेज भएपछि म दुईवटा लडाइँ लडिरहेको थिएँ। एउटा उम्मेदवारीकै लागि लडाइँ र अर्को निर्वाचनको लडाइँ। मलाई चुनावी मैदानबाट निकाली सकिएको थियो, त्यो चुनौती पनि म खडा भएर सामना गर्न सक्छु भन्ने हिम्मत  गरेर अगाडि  बढेकी हुँ र यस चुनौतीलाई हामीले पार गरि सकेका छौँ। जनताको साथले हामीलाई जिताउने छ।

यस्तो छ स्थानीय तहको अंकगणित

स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ। गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ। महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो।

त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए। ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले चुनाव जितेको छ।

वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेसको १८ हजार ५४५ मत,  एमालेको १७ हजार ७६९ मत, नेकपा माओवादी केन्द्रको ६ हजार ९५४, नेकपा एकीकृत समाजवादीको ६ हजार १०७ र राप्रपाको ४ हजार ७४२ मत छ। एमालेभन्दा कांग्रेस ७७६ मतले अघि देखिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.