|

काभ्रे :  देशभर चुनावी माहोल तातेको छ। ४ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि उम्मेदवारहरू आ-आफ्नो क्षेत्रको घरदैलोमा व्यस्त छन्।

काभ्रे–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका सूर्यमान दोङ (लालध्वज) पनि मतदातामाझ दिन बिताइरहेका भेटिन्छन्। दोङसँग प्रतिस्पर्धामा नेकपा एमालेका उम्मेदवार रेशम लामा छन्। उनी पनि चुनावी घरदैलोमा व्यस्त छन्। दुवै उम्मेदवारहरूले आफूले नै जित्ने दाबी गरेका छन्।

गत स्थानीय तहको चुनावमा पाएको मत हेर्दा उम्मेदवार दोङको मत यो क्षेत्रमा एमालेका उम्मेदवार लामाको भन्दा करिब ३३ हजारले बढी छ। उनी पहिलो भएको कांग्रेस समेतको समर्थनमा चुनाव लड्दै छन्।

उनै उम्मेदवार दोङसँग निर्वाचन केन्द्रित रहेर थाहाखबरको लागि काभ्रेका संवाददाता इकमान लामाले गरेको कुराकानीको सम्पादित अंश :

कस्तो भइरहेको छ चुनावी घरदैलो अभियान, मतदाताहरु के भनिरहेका छन्?

हामी अहिले घरदैलोको क्रममा छौँ। अहिले ग्रामीण र सहरी क्षेत्रका बस्तीहरुमा घरदैलो गरेको छ। घरदैलोको क्रममा जुन ठाउँमा पुग्यौँ, त्यो ठाउँमा हामीलाई मतदाताले अपार माया गर्नुभएको छ। जनताले अहिले हामीमाथि भरोसा गरेका छन् भन्ने देखिन्छ। म सहितको गठबन्धनको टिमको जित सुनिश्चित छ।

निर्वाचनप्रति मतदाताको खासै उत्साह छैन भन्ने सुनिन्छ नि?

त्यस्तो होइन। हामीले जनतामा निर्वाचनको अत्यन्तै उत्साह पाएका छौँ। जनता उत्साहित छन्। निर्वाचनको माहौल छ, यो माहौलमा जनतामा उत्साह नहुने भन्ने कुरै छैन। यो बेला बाली भित्र्याउने समय भएकाले सबैलाई भेट्न नसकेको हो। तर उहाँहरुले हाम्रो पक्षमा नै मतदान गर्ने सन्देश पठाउनुभएको छ।

एमालेका लागि विकल्पको रुपमा हामी छौँ भन्ने कुरा हो। मलाई व्यक्तिगत कुरा गर्नु छैन, तर पनि एमालेका जो उम्मेदवार हुनुहुन्छ, उहाँलाई भन्दा मलाई नै मत दिनुहुन्छ भन्ने एमालेका कैयन् साथीहरु पनि हुनुहुन्छ।

गठबन्धन चुनाव जित्नको लागि मात्रै हो कि, अरू पनि केही छ?

निर्वाचन जित्नका लागि मात्रै हामीले गठबन्धन गरेका होइनौँ। जतिबेला माओवादीसहित कांग्रेस, एकीकृत समाजवादी र अन्य पाँच दलको बीचमा गठबन्धन भयो, त्यतिबेला चुनाव जित्ने होइन, यो संविधान जोगाउने र देशलाई प्रतिगमनतिर लैजाने भन्ने लडाई थियो। हामी संविधानलाई जोगाउने, मुलुकमा स्थायीत्व प्रदान गर्ने र विकास र समृद्धिको युग सुरु गर्ने पक्षमा उभियौँ।

तपाईलाई जनताले किन भोट दिने?

हामी जनताको सदैव भलो चाहने, विकास निर्माण र समस्यामा उभिने मान्छे हौँ। जहाँ जनताको समस्या छन्, त्यहाँ उभिने मान्छे हौँ। विगतको कुरा होस् या भविष्यको कुरा होस्, हामी जनतासँगै छौँ, जनताकै बीचमा रहन्छौँ। जनताको आकांक्षा, चाहना र सपना कार्यान्वयन गर्नेबाहेक हामीसँग सपना हुँदैन, रहने छैन। त्यसबाहेक विगतमा जनताको हितमा काम हामीले नै गरेका छौँ, अब गर्ने पनि हामीले नै हौँ।

कांग्रेस सहितका गठबन्धनभित्रका दलले इमानन्दार भएर तपाईलाई मत हाल्लान्? तपाईलाई के लाग्छ?

हामी मुलुकको आवश्यकताका कारणले जनताको हित र विकासको चाहना पूरा गर्नका लागि एक ठाउँमा उभिएका छौँ। यो हामी कसैको व्यक्तिगत चाहना होइन।

कांग्रेससँगको हाम्रो गठबन्धन राम्रो भएन भन्ने पनि होइन। स्थानीय तहको निर्वाचनमा गठबन्धनमा कांग्रेसले कतै बेइमानी गरिए होला। तर त्यो केही प्रतिशतको घटबढ ठूलो कुरा होइन। त्यो कांग्रेस, माओवादी या अरुबाट पनि हुनसक्छ। तर, मुल रुपमा कांग्रेसले विगतमा धोका दिएको छैन।

कांग्रेस एउटा इतिहास बोकेको पार्टी हो, कांग्रेसले अवश्य आफ्नो इमानदारिता प्रस्तुत गर्छन्,गर्नुपर्छ। कांग्रेस, माओवादी या एमालेसमेतमा आस्था राख्ने सबैले संविधानको रक्षा, स्थिरता र विकास चाहने हो भने मलाई मतदान गर्नुहुन्छ भन्ने मेरो विश्वास हो। कांग्रेसप्रति मेरो पूर्ण विश्वास नै छ।

कांग्रेसबाट मत क्रस हुन्छ कि भन्ने डर छैन?

कांग्रेसबाट मत क्रस हुन्छ भन्नेमा मलाई विश्वास छैन। कांग्रेसबाट मत क्रस हुन्छ भन्ने कुरा एउटा भ्रमबाहेक अरू केही होइन। मेरो हकमा कुरा गर्ने हो भने कांग्रेसको कुरा छाडौँ, एमालेले नै मलाई मत हाल्छन् भन्ने मेरो विश्वास हो। किनभने प्रतिगमन रोक्ने कि प्रतिगमन रोज्ने भन्नेमा मतदाता प्रष्ट हुनुहुन्छ।

एमालेले तपाईलाई मत हाल्छन् भन्ने लाग्छ? यो विश्वास चाहिँ कसरी पैदा भयो ?

एमालेका लागि विकल्पको रुपमा हामी छौँ भन्ने कुरा हो। मलाई व्यक्तिगत कुरा गर्नु छैन, तर पनि एमालेका जो उम्मेदवार हुनुहुन्छ, उहाँलाई भन्दा मलाई नै मत दिनुहुन्छ भन्ने एमालेका कैयन् साथीहरु पनि हुनुहुन्छ।

अर्को कुरा चाहिँ, हालै मात्र एमालेका कतिपय जिम्मेवार साथीहरु हाम्रो पार्टीमा प्रवेश गर्नुभएको छ। अन्य केही जिम्मेवार साथीहरु प्रवेश तयरीमा छन्। अहिले प्रवेश भएका साथीहरुले प्रष्ट रुपमा गठबन्धनका उम्मेदवारसँग एमालेका उम्मेदवारको तुलना हुँदैन भनिरहनुभएको छ।मुख्यताः काभ्रेको विकास, जनताको समस्या र त्यसको समाधान अब अरुबाट हुँदैन, त्यो केवल हामीबाट मात्रै सम्भव छ भन्ने कुरा जनताले राम्रोसँग बुझिसकेका छन्।

तपाईसँग काभ्रेको विकास र समृद्धिको लागि कस्ता एजेण्डा छन्?

मूल रुपमा हामीले अहिले ‘समुन्नत र विकसित काभ्रे निर्माण’को महाअभियान थालेका छौँ। यो महाअभियानभित्र काभ्रेको विकास र समुन्नतीका योजनाहरु समेटिएर हामीले जनताको समस्या र आकांक्षा समाधान गर्छौ।

काभ्रेको विकास र समृद्धिकै सन्दर्भमा कुरा गर्ने हो भने सुनकोशी तेश्रो जलविद्युत आयोजनाको काम सम्पन्न गर्ने हाम्रो मुख्य एजेण्डा हो। यो आयोजना हाम्रो क्षेत्रको मुटुमा पर्दछ। यो बागमती प्रदेशकै एउटा गौरवको आयोजना हो। यो काभ्रेको विकास, पर्यटन र समुन्नतीमा लागि अत्न्यत महत्वपूर्ण इँटा थप्छ भन्ने हाम्रो विश्वास हो।

खानेपानी, स्वास्थ्य, कृषि, सञ्चार, शिक्षा लगायतको क्षेत्रमा के छ नि?

निर्वाचन क्षेत्रका जुन जुन क्षेत्रमा खानेपानीको समस्या छ, त्यहाँ शुद्ध खानेपानीसहित एक घर एक धाराको व्यवस्थापन हामी गर्छौ। क्षेत्रभरीका सबै पालिकामा विद्युतीकरणको काम सम्पन्न गर्छौ। डाँडापारिको महाभारत र खानीखोलाका दुवै क्षेत्र केही समयभित्र नै हामी झलमल्ल बनाउँछौँ।

स्वास्थ्यको कुरा गर्दा सबै पालिकाहरुमा सुविधायुक्त अस्पताल निर्माण गर्छौ। क्षेत्रभरीका सबै ठाउँमा फोरजी सेवासहितको टेलिफोन नेटवर्कको विस्तार गर्छौ। विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि गुणस्तर एवं सिपमुलक शिक्षाका लागि आवश्यक सामग्रीको व्यवस्थापन र जनशक्तिको परिपूर्ति गर्छौ।

तपाईले धेरै योजना सुनाउुन भयो, यो चुनावको लागि मात्रै होकी ?मतदातामा त चुनाव जितेपछि नेता गाउँ फर्केर आउँदैनन्, भन्ने गुनासो सुनिन्छ ?

यो गुनासो म आफैँले पनि सुनेको छु। चुनाव जितेपछि नेता गाउँ नै फर्किंदैनन् भन्ने धेरै छन्। व्यक्तिगत रुपमा म सधैँ जनताको बीचमा, जनताको पहुँचमा हुने मान्छे हुँ। मैले भनेको छु, पहुँचको हिसाबले म सधैँ सडकमा हुन्छ, हुने मान्छे हुँ। अर्को कुरा, म तपाईको लोकप्रिय सञ्चारमाध्यममार्फत के भन्ने चाहन्छु भने निर्वाचन जितेको भोलिपल्टदेखि नै हामी सबै ठाउँमा पुगेर विकासको खाका बनाउँछौँ। हाम्रो पहिलो प्राथमिकता के हो ? हामीले नगरी नहुने काम केके हुन् ? भन्नेजस्ता विषयमा हामी सर्वदलीय छलफल गर्छौ। सम्बन्धित गाउँ ठाउँका राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी लगायतसँग छलफल गर्छौ र हामी कार्यान्वयनमा जान्छौँ। यसको अध्यास तपाईहरुले छिट्टै देख्न पाउनु हुनेछ। हामी मात्रै मंसिर ४ को प्रतिक्षामा छौँ।

०६४ काभ्रेका जनताले जिताएर पठाएसँगै राज्यमन्त्रीसमेत हुनुभयो, तपाईंले काभ्रेली जनताको लागि के गर्नुभयो?

धेरै काम भएको। त्यसैको परिवर्तन हो आजको काभ्रे। हामीले काभ्रेका रणनीतिक र दीर्घकालीन महत्वका योजनाहरु नै थालेका हौँ। अर्को कुरा ०६४ मा मलाई मत दिएर जिताउनुभएकोमा म धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरुले जुन विश्वास दिएर मलाई जिताउनुभयो त्यसका लागि आभारी छु। दाबीका साथ भन्छु, काभ्रेमा विकास निर्माणका महत्वपूर्ण कामहरु मेरै पालामा सुरु भएको हो।

केही महत्वपूर्ण आयोजना सुरु भएका छन्, केही मैले सिकेको पनि छु। सुरु भएको र सिकेका कुराहरुलाई पूर्णता दिनका लागि पनि यसपटक मेरो उम्मेदवारी हो। जनताले मलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास छ।

 

तपाईलाई केवल सांसद हुनका लागि फेरि जनताले जिताउनुपर्ने हो र?

मैले भन्दै आएको छु, म केवल सांसद हुनका लागि मात्रै अहिले निर्वाचन लडेको होइन। म अन्तरिम व्यवस्थापिकाको सदस्य भए। ०६४ मा संविधानसभाको सदस्य भए। प्रदेश (क) का उम्मेदवार रत्न ढकाल ०७४ मा पनि जित्नुभयो, (ख) का उम्मेदवार तीर्थ लामा पनि ०७० सालमा संविधानसभाको सदस्य हुनुभएकै व्यक्ति हुनुहुन्छ।

हामी तीनैजनालाई केवल सांसद हुनु छैन। हाम्रो प्रष्ट कुरा छ सांसद हुनका लागि मात्रै हामी आएका होइनौँ। बरु सांसद हुने बेलाको अनुभवसहित विकसित र समुन्नत काभ्रे बनाउने सपना बोकेर हामी आएका छौँ। जनताको समस्या र आकांक्षा पूरा गर्ने लक्ष्य लिएर हामी आएका छौँ। हाम्रो मुल कुरा भनेकै अहिले काभ्रेको विकास र समृद्धि नै हो, केवल सांसद हुने होइन।

चुनावपछि पनि गठबन्धन कायमै रहन्छ?

अवश्य रहन्छ। यो गठबन्धन चुनावको लागि मात्रै होइन। यो प्रतिगमनको खतरा रहेसम्म निरन्तर रहन्छ। त्यस्तैअहिले स्थानीय तहमा गबठन्धनकै सरकार छ। निर्वाचनपछि संघ, प्रदेशमा पनि हुनेछ। यो गठबन्धनको तीन तहको सरकारबाट नै देशको कायपलट हुनेछ। केपी ओलीको सरकारबाट जस्तो जनताको मतको अपमान हुने काम यो गठबन्धनबाट हुँदैन। ढुक्का हुनोस्, ५ वर्ष तीनै तहको सरकार गठबन्धनकै हुन्छ।

अन्त्यमा केही भन्नुहुन्छ ?

सबै मतदाताज्युहरुलाई मंसिर ०४ को निर्वाचनमा गठबन्धनका सबै उम्मेदवारहरुलाई मतदान गर्नुभई निर्वाचित गराउनु हुन म अपिल गर्न चाहन्छु।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.