|

काठमाडौं : मानव जातिले आफ्नो अभिव्यक्तिको माध्यमको रूपमा गीतलाई कहिलेदेखि अँगाले ठ्याक्कै भन्न सकिँदैन तर रेकर्ड गरेर एउटै गीत मन लागेको स्थान र समयमा सुन्न सकिने सुविधा आएको भने धेरै भएको छैन।

अहिलेको अवस्थामा मान्छेले दुःख, पीडा, खुशी आदिको अभिव्यक्तिसँगै धेरै मानिसलाई जोड्ने विभिन्न पर्व तथा उत्सवका गीतहरू त गाउँछन् नै साथै आफ्नै प्रचार प्रसारका लागि पनि गीत प्रयोग हुने गर्छ। चुनाव लक्षित गीत त्यसका उदाहरण हुन्। 

पछिल्लो एक महिनामा मात्रै चुनाव लक्षित पचासभन्दा बढी गीत सार्वजनिक भइसकेका छन्। चुनावका प्रचार सामग्रीको रूपमा गीत प्रयोग हुनु नौलो कुुरा होइन। पछिल्लो डेढ दशकमा २०६४ को पहिलो संविधानसभा सदस्यको निर्वाचन, ७० को दोस्रो संविधानसभा सदस्यको निर्वाचन, ७४ को स्थानीय र प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनदेखि ७९ को स्थानीय र प्रदेश तथा प्रतिनिधि सदस्य निर्वाचनसम्म आइपुग्दा चुनावी गीतको संख्याभने उल्लेख्य बढेको छ।

चुनावी गीतलाई परापूर्व कालका स्तुति गानको परिमार्जित रूप पनि भन्न सकिन्छ। जसमा आफ्ना आफ्नो पार्टी र उम्मेदवारको प्रशंसा गरिएको हुन्छ। सामान्यतया चुनावी गीत लोकलयमा गाउँदै आइएको छ  तर यो पटक भने केही पार्टीले आफ्नो प्रचारमा र्‍याप पनि प्रयोग गरेका छन्। 

सन १९७० को दशकमा नयाँ जनराको रूपमा आएको र्‍याप (रिदम एण्ड पोएट्री) १९९० को दशकमा व्यापक रूपमा फैलियो। ९० कै दशकमा नेपाल भित्रिएको र्‍याप पछिल्लो दश वर्षमा नेपालमै पनि लोकप्रिय बन्दै गएको छ।

शुरुवाती चरणमा र्‍यापलाई संगीतको रूपमा समाजले नस्विकारे पनि यसप्रति युवाहरूको मोह भने लगातार बढ्दो थियो जुन पछिल्लो समय उत्कर्षमा छ। अझै पनि ठूलो संख्या र्‍यापलाई संगीत मान्ने पक्षमा छैन तर यो अझै फैलिँदै र झाँगिदै जानेमा दुईमत छैन। 

पाँच वर्षअघि भएका स्थानीय तह र प्रदेश तथा प्रतिनिधि सदस्य निर्वाचनमा कुनै पनि पार्टीले प्रचार प्रसार सामग्रीको रूपमा र्‍यापलाई प्रयोग गरेका थिएनन्। बरु र्‍यापमा प्रयोग भएका शब्द र दृश्यका आधारमा धेरै कलाकार विवादमा तानिए। आफ्नो सिर्जनाकै कारण भिटेनका नामले चिनिने र्‍यापर समीर घिसिङ थुनामा पनि परे। 

शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट पनि वञ्चित समाजमा पिछडिएका वर्गबाट शुरुवात भएका कारण र्‍यापमा सामान्यतया समाजप्रतिको आक्रोश, असन्तुष्टि पोखिने गर्छ। जसमा प्रयोग हुने शब्दहरू समाजमा पच्न गाह्रो हुने खालका हुन्छन्। त्यसकै कारण र्‍यापर र उनीहरूका सिर्जना विवादमा तानिएका घटना धेरै छन् तर पछिल्लो समय आक्रोश र असन्तुष्टिसँगै प्रेम, श्रद्धा, आवेग र करुणाका भाव पनि र्‍यापमार्फत अभिव्यक्त गरिँदै आइएको छ। सोहीअनुसार यसमा प्रयोग हुने शब्द, प्रस्तुति शैलीमा विविधता आएको छ र समाजमा पच्ने र नपच्ने गरी दुई भागमा र्‍याप बाँडिएको छ।

र्‍यापका श्रोता बढ्दै जाँदा राजनीतिक पार्टीले पनि यसलाई प्रचारको उपयोगी माध्यम मानेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी जस्ता ठूला पार्टी र अन्य स्वतन्त्र उम्मेदवार तथा समूहले पनि चुनाव लक्षित र्‍याप गीत सार्वजनिक गरेका छन्।

गत हप्ता राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बा केपी बा नामक र्‍याप सार्वजनिक गरियो। जसमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वयं उपस्थित थिए। यो बाहेक माओवादीको भोट फर प्रचण्ड, कांग्रेसको झ्याप झ्याप रूख चिह्नमा छाप सहित लौरो अभियान र अन्य उम्मेद्वारका पक्षमा पनि र्‍याप गीत सार्वजनिक भएका छन्। 

यसअघि स्थानीय निर्वाचनमा काठमाडौंको मेयर पदमा उम्मेदवारी दिएका र्‍यापर बालेन शाहको बलिदान बोलको गीत निकै चर्चित बनेको थियो। चुनावलाई लक्षित गरेर सार्वजनिक गरेको नभए पनि उक्त गीतले बालेनको प्रचार प्रसारमा महत्त्वपूर्ण भूमिका खेलेको थियो।

दुई वर्षअघि नै सार्वजनिक भएको गीत चुनावको मिति नजिकिँदै गर्दा सामाजिक सञ्जालमा निकै लोकप्रिय बनेको थियो। साथै अर्का र्‍यापर व्योमाले बालेनका लागि अब युवाको पालो बोलको र्‍याप गीत निकालेका थिए। 

यो वर्ष चुनाव नजिकिँदै गर्दा संख्यात्मक रूपमा धेरै वटा र्‍याप गीत सुनिए पनि प्रचारका लागि र्‍याप प्रयोग भएको यो पहिलो पटक भने होइन। यसअघि २०७० सालमा भएको निर्वाचनका लागि र्‍यापर गिरीश खतिवडाले गगन थापाका लागि प्रचार सामग्रीको रुपमा र्‍याप गीत गाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.