|

काठमाडौं : रामेछाप मन्थली थातथलो भएका भएका विनोदप्रसाद घिमिरे बैंकको जागिर छाडेर केही वर्षदेखि ‘गोठालो’ बनेका छन्। १२ वर्ष बैंक म्यानेजरको जिम्मेवारी सम्हालेका घिमिरे अहिले आफ्नै कृषि फर्म (गोठालो फार्म हाउस) मा व्यस्त छन्। 

२०७७ सालमा गोठालो फार्म हाउस सुरु गरी बाख्रापालनबाट व्यवसाय सुरु गरेका उनले हाल व्यवसाय विस्तार गरेका छन्। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ मा २३ रोपनी जग्गा भाडामा लिएका छन्,जसको मासिक २० हजार रुपैयाँ छ। 

३७ वर्षीय घिमिरेको फार्ममा बाख्रा, भैँसी, हाँस, कुखुरा, कालिजलगायत पशुपक्षी छन्। उनको फाममा १० वटा भैँसी,१०० हाराहारीमा बाख्रा, स्थानीय कुखुरा,कालिज र हाँस छन्। भैँसीबाट राम्रो आम्दानी भइरहेको छ भने बाख्राले भर्खर प्रतिफल दिन थालेको छ। बिहान उठेर भैँसीको दूध घरघरमा पुर्‍याउनेदेखि स्याहारसुसार गर्नेसम्म कामका लागि उनले ११ कर्मचारी राखेका छन्। उनीहरूलाई बिहान उठेदेखि घाम नअस्ताएसम्म काम गर्न भ्याइ–नभ्याइ हुन्छ।  

एकातिर रोजगारीको खोजीमा भएकालाई काम दिन सकिएको छ भने अर्कातिर व्यवसायले सोचे अनुसार प्रतिफल दिइरहेको छ। कुन स्थानमा कस्तो व्यवसाय फस्टाउँछ भन्ने अध्ययन गर्दा फार्म हाउस गर्दा प्रभावकारी हुने देखेर सुरु गरेको उनले बताए। दुई करोड ३५ लाख लगानीमा सुरु गरेको व्यवसायबाट अहिले मासिक १६ लाख आम्दानी भइरहेको छ। तर  पैसाभन्दा पनि व्यवसाय नै प्यारो लाग्ने उनी बताउँछन्।

व्यवसाय विस्तार गर्ने क्रममा आफैले उत्पादन गरेको दूध,मासु आफैँले चखाउन रेष्टुरेण्टसमेत सुरु गरेका छन्। फार्ममा उत्पादित अर्गानिक खानाको स्वाद दिन ६ महिनाअघि रेष्टुरेण्ट सञ्चालन गरेको उनले सुनाए। उनले भने,‘यहाँ आउने ग्राहकलाई अर्गानिक खानाको स्वाद दिनका लागि रेष्टुरेण्ट सञ्चालन गरेको छु।’  यहाँ आफैँले उत्पादन गरेको (कुखुरा,कालिज खसी) को मासु, दही,दूध, मोही र तरकारी खुवाउने गरेको बताए।

कालिजको रेष्टुरेण्ट उपत्यकामा पहिलो भएको उनले दाबी गरे। उपत्यकाको पहिलो कालिज रेष्टुरेण्ट भएकाले  फर्म भ्रमण तथा कालिज खानाको लागि ग्राहकको चहलपहल बढेको छ।  यहाँ आउनेको संख्या बढेकाले खाने बस्ने ठाउँ विस्तार गरिरहेको उनले सुनाए। राति बस्नका लागि ६ वटा कोठा निर्माण गरिएको छ। 

रामेछापमा जन्मे हुर्केका घिमिरलाई सानै उमेरदेखि कृषिक्षेत्रमा नै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो। त्यतिवेला व्यवसाय गर्ने आँट थिएन। ‘सानो वेलामा गाउँमा उत्पादन भएको अन्न, वस्तुभाउ नै मरो प्रेरणाको स्रोत हो,’ उनले भने,‘मेरो पुर्खाले गर्दै आएको पेसालाई व्यवसाय बनाएको  हुँ।’​बैंकमा काम गर्दा कमाएको पैसाले घरखर्च पुर्‍याउन धौ–धौ हुन्थ्यो। आफ्नै व्यवसायका कारण अहिले त्यस्तो छैन। कृषि क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सोचका साथ सुरु गरेको थिए। त्यसैले जागिर छोडेर व्यवसायमा लागेकोमा कुनै पछुतो नभएको उनले सुनाए। ‘थोरै आँट, मेहनत र धैर्य गरे नेपाली माटोमा हिरा नै फल्छ। कर्म त गर्नु नै पर्छ’, उनले भने,‘यसका लागि सबै आ–आफ्नो ठाउँबाट प्रयास  गर्नुपर्छ। हामीले आफ्नो ठाउँमा सम्भावना खोजेका छौँ।’

राजनीतिक दलले  चुनावको घोषणापत्रमा वैदेशिक रोजगारीमा रहेका युवालाई  स्वदेश फर्काइ कृषि क्षेत्रमा लगाउने घोषणा गरिरहेका छन्। तर यता स्वदेशमा नै काम गर्न चाहने युवालाई उद्यमी बनाउन सरकारको सहयोग भने प्रभावकारी नभएको उनको बुझाइ छ। ‘योजना मात्र ल्याएर हुँदैन। युवालाई कृषिमा ल्याउन आकर्षण समेत बढाउनुपर्छ’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.