नेपालमा वर्षेनि एक अर्ब डलर बराबरको एन्टीबायोटिक आयात

|

काठमाडौं : धेरैजसो व्यक्ति रुघाखोकी वा सामान्य ज्वरो आएका वेला पनि आफूखुशी औषधि पसलमा पुगेर एन्टीबायोटिक प्रयोग गर्ने गर्छन्। कोभिड संक्रमणको समयमा मात्रै होइन‚ डेंगु संक्रमणका वेला पनि मानिसले आफूखुशी एन्टीबायोटिक किनेर खाने गरेको चिकित्सकले बताएका छन्।

पछिल्लो समय विभिन्न प्रकारका समस्या लिएर अस्पताल पुग्ने बालबालिका‚ युवा तथा वृद्धवृद्धा विरामीहरूलाई समेत चिकित्सकले सिफारिस गर्नेमध्येको साझा औषधि हो एन्टीबायोटिक।

विरामीले आफूखुशी किनेर होस् वा चिकित्सकहरूले अनावश्यक रूपमा सिफारिस गरेर होस्‚ पछिल्लो समय एन्टीबायोटिकको प्रयोग बढ्दो छ। यसरी जथाभावी एन्टीबायोटिकको प्रयोग बढ्दै जाँदा  विविध रोगका लागि सेवन गरिने औषधिले काम नगर्ने अवस्था आउन सक्ने चिकित्सकले चेतावनी दिएका छन्।

एन्टीबायोटिक ३ वा ५ दिनदेखि ७ दिनसम्म खानुपर्ने भए पनि विरामीले एकदुई दिनमै खान छोड्ने, छिटो सन्चो हुने विश्वासले आवश्यकभन्दा बढी खाँदा केही समयपछि असर देखिने गरेको छ। यस्ता व्यक्ति झाडापखाला, ग्यास्ट्रिक जस्ता समस्या लिएर अस्पताल आउने गरेको अन्नपूर्ण न्यूरो अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. प्रतीक पौडेलको भनाइ छ।

डा. पौडेलले भने‚ ‘डेंगु तथा कोभिडको समयमा होस् वा सामान्य रुघाखोकी लागेका वेला होस्‚ विरामीले आफूखुशी एन्टीबायोटिक प्रयोग गरेको पाइन्छ, ग्यास्ट्रिक बढ्यो, डायरिया भयो भनेर आएका विरामीलाई केही औषधि खानुभएको थियो भनेर सोध्दा केही समयअघि रुघा तथा ज्वरो आएको थियो‚ एन्टीबायोटिक खाएको थिएँ भन्नुहुन्छ।’

उनले यसरी आफूखुशी एन्टीबायोटिक प्रयोग गर्दा भविष्यमा औषधिले काम नगर्ने अवस्था आउने उनले बताए।

चिकित्सकको सल्लाहबिनै आफूखुशी एन्टीबायोटिक खाने प्रचलन भइरहेको बताउँछन्‚ फर्माकोलोजिस्ट डा. सतीशदेव।  उनले भने,  ‘विरामीले आफूखुशी किनेर खाने मात्रै होइन‚ सानो  संक्रमणमा पनि चिकित्सकले  नै एन्टीबायोटिक सिफारिस गर्ने हुँदा यसको दुरुपयोग बढेको देखिन्छ।’

विरामीको शरीरमा भएको ब्याक्टेरिया मार्न वा शरीरमा थप संक्रमण फैलिनबाट रोक्न प्रयोग गरिने औषधिलाई एन्टीबायोटिक भनिन्छ। जुन शरीरमा विभिन्न प्रकारको संक्रमण हुँदा चिकित्सकको सल्लाहमा प्रयोग गर्ने गरिन्छ।

भाइरसले गर्दा हुने संक्रमण रुघाखोकी, घाँटी खसखसाउने जस्ता भाइरसजन्य संक्रमणमा एन्टीबायोटिक प्रयोग गर्न नहुने भए पनि आजभोलि यस्ता समस्यामा पनि एन्टीबायोटिकको प्रयोग निकै बढेको डा. पौडेलको भनाइ छ। ‘सामान्यतया रुघाखोकी घाँकीको समस्या, टन्सिल जस्ता समस्यामा एन्टीबायोटिकको प्रयोग नगरेको राम्रो हुन्छ तर पछिल्लो समय यस्ता समस्यामा पनि एन्टीबायोटिकको प्रयोग धेरै छ’‚ डा. पौडेलले भने।

पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधि एन्टीबायोटिकको पत्ता लाग्न सकेको छैन। हाल उपलब्ध एन्टीबायोटिक्स लगायतका एन्टीमाइक्रोबियल औषधिको  प्रभावकारिता  कम हुँदै गएको छ।

मानिस, पशुपक्षी तथा वनस्पतिका संक्रामक तथा सरुवा रोगहरूका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधिको समुचित प्रयोग नहुनाले प्रतिरोध विकास भई संक्रामक रोगहरूको उपचारमा बाधा उत्पन्न भएको छ।

यसको कारण वर्षेनि करिब सात लाख मानिसको मृत्यु हुने र  यसको नियन्त्रणका लागि ठोस कदम नचाल्ने हो भने यो संख्या बढेर सन् २०५० सम्म वर्षेनि एक करोड पुग्ने विश्व स्वास्थ्य संगठनले अनुमान गरेको छ।

मानवीय क्षतिका साथै विश्वभर करिब एक नील अमेरिकी डलर बराबरको आर्थिक क्षति हुन सक्ने  र यसको प्रत्यक्ष असर नेपालजस्तो विकासोन्मुख देशमा पर्ने  विश्व स्वास्थ्य संगठनले चेतावनी समेत दिएको छ।

नेपालमा वर्षेनि एक अर्ब अमेरिकी डलर बराबरको एन्टीबायोटि आयात हुन्छ‚ जुन कुल औषधि आयातको ३० प्रतिशत हो। नेपाली बजारमा करिब ३६५ ब्राण्डका एन्टीबायोटिक औषधि उपलब्ध छन्। देशभित्रै लगभग ५० कम्पनीले एन्टीबायोटिक औषधि उत्पादन गर्छन्।

गाईवस्तु, सुँगुर र कुखुराको वृद्धि र उत्पादन घाटा कम गर्ने उद्देश्यले एन्टीबायोटिकको चरम दुरुपयोग हुने गरेको छ। यसरी प्रयोग गरिने खुराकले प्रतिरोधी जीवाणु सिर्जना गर्ने सम्भावना हुन्छ‚ जुन मानिसमा समेत सर्न सक्छ।

अझै पनि दुग्ध विकास फार्महरूमा एन्टीबायोटिकको सुरक्षित र न्यायोचित प्रयोग हुन सकेको छैन । यसले गर्दा यस्ता मासु र दुग्धजन्य पदार्थको उपभोगले जनस्वास्थ्य जोखिम उच्च रहेको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.