|

काठमाडौं :  विराटनगर घर भएका  विनय दुलाल बिहीबार राति ८ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगे। रोजगारीका लागि दुबई जान लागेका दुलालले राति ११ बजेको टिकट काटेका  थिए। 

नेपाल एयरलाइन्सको टिकट काटेका दुलाललाई प्लेन चढ्ने समयमा विमानस्थलबाट फर्काइयो। कतारको दोहा जान लागेका यात्रुहरूलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै फर्काइएको उनले बताए। रोजी रोटीको जोहो गर्न  घरबाट टीका माला लगाएर हिँडेका थिए।  दुबईबाट १ महिनाको बिदामा आएका दुलाललाई दुबई पुग्ने चिन्ता छ। उनले भने, ‘बिदा लिएर नेपाल आएको थिएँ। कम्पनीले तोकेको समयमा नपुग्दा रोजगारी नै गुम्ने चिन्ता छ।’

सामान्यतया सार्वजनिक बसले त सिट क्षमताभन्दा बढी टिकट काट्न पाउँदैन। उनले थपे, ‘हामी त अन्तरराष्ट्रिय उडान गर्दै थियौँ। सिट फुल भयो भन्दै यात्रुलाई अन्तिम अवस्थामा विमानस्थलबाट फर्काउनु विमानस्थलको कुन तहको लापर्वाही हो?’ विमानस्थलबाट फर्काएर सुन्धाराको होटलमा राखिएको उनले बताए।

नेपाल एयरलाइन्सले शनिबार राति पठाउने भन्दै आश्वासन दिएको उनले सुनाए। उनीसँगै झापाबाट रोजगारीका लागि दुबई जान हिँडेका अनिल थापा पनि अलपत्र परे। एयरलाइन्सले आफूखुसी बिनाजानकारी यात्रुलाई अलपत्र पारेकाले समस्या भएको उनले बताए। एकातिर देशमा रोजगारी नपाएर रोजगारीको खोज्न पेट पाल्नका लागि विदेश जान्छु भन्दा पनि सरकारले नहेरेको उनले गुनासो गरे। उनले भने‚ ‘देशमा रोजगारी छैन। हामीले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र धानेको छ अनि फेरि हामीले आफ्नै खर्चमा काम गर्न विदेश जान्छु भन्दा पनि किन समस्यामा पारिन्छ?’   

गत राति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरूलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरू शुक्रवार बिहान विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन्। विमानस्थलबाट फर्काइएका झापाका किरण शिवाकोटी प्राधिकरणमा ध्यानाकर्षण गराउन पुगे। एयरलाइन्सले आफूलाई सहज बनाउने आशा सहित उनी कार्यालय पुगेका हुन्।

एयरलाइन्सको ३ दिन काठमाडौंमा अलपत्र पर्दा आफूलाई समस्या हुने उनले सुनाए। उनले भने, ‘छोरो विदेश जाने भयो भनेर घरबाट टीका माला लगाएर बिदा गर्नुभएको थियो। सकुशल विदेश पुगेको खबर आउने आशामा बसेका परिवार काठमाडौंमा नै अलपत्र पर्‍याे भन्दा के होला?’ 

‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरूको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो’‚ आफूसहित करिब ६० जना यात्रुलाई फर्काइएको शिवाकोटी बताउँछन्। उनका अनुसार गत राति ११ बजेको उडानका लागि राति ८ बजे नै एयरपोर्ट पुग्दा नेपाल एयरलाइन्सको काउण्टर क्लोज भइसकेको थियो। त्यहाँका कर्मचारीहरूले सिट फूल भइसकेको भन्दै यात्रुलाई होटलमा लगेका उनले बताए। एयरलाइन्सको विरोधका लागि प्राधिकरण पुगेका थिए।  उनीहरूले पत्र सहित उजुरी गरेका छन्।

प्राधिकरणमा उजुरी आएकाले एयरलाइन्सलाई पत्राचार गरी स्पष्टीकरण सोध्ने तयारी गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। हामीले तत्काल गर्नसक्ने भनेको स्पष्टीकरण मात्र हो। उनले भने, ‘एयरलाइन्सको जवाफ आएपछि मात्र के गर्ने भन्ने प्रक्रिया अगाडि बढाइनेछ।’  

यता एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले भने केही दिनअगाडि ठूलो जहाजमा भएका यात्रुहरूलाई सानो जहाजमा सार्नु परेकाले रोकिएका यात्रुलाई पहिला उडाएको बताइन्। एयरलाइन्सको अलपत्र पार्ने नियत होइन कारणवश रोकिएकाले शुक्रवार रातिको करिब ६० जना यात्रु रोकिएका हुन्। शुक्रवार रोकिएका यात्रुलाई अर्काे फ्लाइटमा पठाउने तयारी गरेको उनले बताइन्। 

यसअघि गत सोमबार बिहान कुवेत जाने तयारीमा विमानस्थल पुगेका २ सय यात्रुलाई कुवेत एयरलाइन्सले टिकट काटेर अलपत्र पारेको थियो। एयरलाइन्सले नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृत नलिई टिकट काटेको भन्दै प्राधिकरण पछि हट्यो। यसरी पटक पटक एयरलाइन्सले यात्रुलाई अलपत्र पार्दा पनि सरकार भने मौन छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.