|

म्याग्दी : ‘हाइड्रो हब’ का उपनाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १८ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्।

म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणको छ।

जिल्लाका २ विद्युत आयोजना निर्माण भैसकेका छन्। प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा २ मेगावाट क्षमताको तातोपानी साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ।

घलेम्दी हाइड्रो लिमिटेडद्वारा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ। नारच्याङको मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजना निर्माण सकिएर परीक्षणको अन्तिम चरणमा पुगेको छ। निर्माण भइसकेका यी ३ जलविद्युत आयोजनाबाट ४९ मेगावाट विद्युत उत्पादन हुनेछ।

यी ३ आयोजनाबाहेक अन्य १५ वटा जलविद्युत आयोजनामध्ये केही निर्माणाधीन छन् भने केही आयोजना निर्माणको चरणमा प्रवेश गरेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले बताए।

समिति प्रमुख थापाका अनुसार कालीगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीबाट समेत विद्युत् उत्पादनका लागि १५ वटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन्।

उनका अनुसार निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेगावाटको निलगिरि जलविद्युत् आयोजना, ७१ मेगावाटको निलगिरि-२, हाइड्रो सर्पोट प्रालिले दानामा साढे ५३ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेगावाटको आयोजना, हिम कन्सल्टले नारच्याङमा ६ मेगावाटको रेले खोला जलविद्युत् आयोजना, कालीगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट ग्रुपले ४ मेगावाटको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन्।

पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना, ४० मेगावाटको राहुघाट जलविद्युत आयोजना, तुदी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले, तुदी पावर कम्पनीले नै ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माण प्रक्रिया शुरु गरेका छन्।

म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले साढे ५३ मेगावाटको अपर म्याग्दीखोला-१ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन्।

जिल्लामा उत्पादन हुने विद्युत राष्ट्रिय ग्रिडमा जोड्न दाना–खुर्कोट २२० केभी क्षमताको कालीगण्डकी करिडोर प्रशारण लाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सब-स्टेसन र प्रशारण लाइन निर्माणको चरणमा रहेको छ।

अर्बौको लगानीमा निर्माण हुने यी जलविद्युत आयोजनाका कारण जिल्लामा सयौं व्यक्तिले रोजगारीसमेत पाएका छन् भने सामुदायिक विकासको लहरसमेत चलेको जनप्रतिनिधिहरूले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.